१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जम्दै बिच भलिबल

दीपक परियार

लेखनाथ — बालुवामाथि दुई/दुई खेलाडी दुईतिर । कोर्टको आकार र बल पनि भिन्दै । विदेशमा समुद्री किनारमा खेलिने बिच भलिबल नेपालमा भने ताल र नदी किनारमा खेलाइने गरिएको छ । 

जम्दै बिच भलिबल

अमेरिकाको हवाई राज्यको वाइकिकी बिचमा सन् १९१५ बाट बिच भलिबल खेल्न थालिएको हो । नेपालमा यसको प्रवेश कहिले भयो भन्ने यकिन छैन । सन् १९९६ मा ओलम्पिकमा समावेश भएपछि नेपाल भलिबल संघले चासो दिएको पाइन्छ । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा समेत बिच भलिबल समावेश भएको छ ।


पछिल्लो समयमा बिच भलिबलको धेरै गतिविधि हुने स्थानमा पर्छ पोखरा । कास्की जिल्ला भलिबल संघले फेवा किनारमा हरेक वर्ष क्लबस्तरीय प्रतियोगिता आयोजना गर्छ । समय(समयमा पर्यटकबीच पनि बिच भलिबल प्रतियोगिता हुन्छ । मेची, कोसी, कर्णाली, नारायणी, राप्ती नदी, रारा ताल किनारमा प्रतियोगिता हुन थालेका छन् ।


सागका लागि राष्ट्रिय टोली छनोटका रूपमा सातौं पुरुष तथा छैटौं महिला राष्ट्रिय बिच भलिबल असार ५(७ सम्म पोखरामा हुँदै छ । प्रतियोगिताको शीर्ष ३ स्थानमा रहने टिमका खेलाडीलाई १३औं सागका लागि राष्ट्रिय टिमको तयारीमा राखिने छ । साग खेलकुदमा बिच भलिबल समावेश भएपछि यसको राष्ट्रिय प्रतियोगिता आठौं राष्ट्रिय खेलकुदमै आयोजना हुनुपर्थ्यो । त्यति बेला आयोजना नभएकैले छनोट प्रतियोगिता हुन लागेको हो । कास्की भलिबलले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन गरेको छ ।


प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० क्षेत्रबाट पुरुष र महिलाको २(२ टिम समावेश हुनेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिता सम्पन्न गर्न २२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता बेस्ट अफ थ्रीका आधारमा हुनेछ । भलिबल संघले इन्डोर भलिबलको राष्ट्रिय टिममा छनोट भएका खेलाडीले बिच भलिबल खेल्न नपाउने प्रस्ट पारेको छ ।


आठौं खेलकुदको प्रदर्शनका आधारमा संघले २५ नियमित र ५ वैकल्पिक गरी ३०(३० खेलाडीसम्मिलित राष्ट्रिय टोली छनोट गरिसकेको छ । महिला तथा पुरुषतर्फको प्रतियोगिताका विजेता टोलीले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


जिल्ला भलिबल संघ अध्यक्ष भीम पराजुली स्थानीय खेलप्रेमी, व्यवसायीसँग सहयोग संकलन गरेर प्रतियोगिता गर्न लागेको बताउँछन् । गण्डकी प्रदेश सरकारले प्रतियोगितालाई सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले सुनाए । बाराही चोकमा रहेको नेपाल ट्रस्टको मैदानमा भलिबल कोर्ट तयार भइरहेको छ । अन्तर्राष्ट्रिय मापदण्डको कोर्टमा बालुवा हाल्ने काम सकिएको छ ।


‘फेवा किनारमा स्थायी कोर्ट’

राष्ट्रिय खेलकुद परिषदा बोर्ड सदस्य राजेश गुरुङ सागमा बिच भलिबल सम्भवतः पोखरामा हुने बताउँछन् । त्यसका लागि अन्तर्राष्ट्रियस्तरको स्थायी कोर्ट आवश्यक हुने उनले बताए । ‘फेवातालको माथिल्लो क्षेत्र खपौंदी बिच भलिबलका लागि आकर्षक स्थान हुनसक्छ,’ उनी भन्छन्, ‘व्यवस्थित प्यारापिट बनाउने हो भने पर्यटक आकर्षित गर्न सकिन्छ ।’ बिच भलिबलका लागि पोखरा उत्कृष्ट ठाउँ रहेको उनको दाबी छ ।


प्रतियोगिता मात्र नभई मनोरञ्जननिम्ति पनि बिच भलिबललाई स्थापित गर्न सकिने तर्क उनको छ । ‘खेल पर्यटनको अवधारणा बिच भलिबलमा पनि लागू हुन्छ,’ उनी भन्छन्, ‘पूर्वाधार र गतिविधि भने बढाउनुपर्छ ।’ संघ, प्रदेश र स्थानीय सरकारले फेवा किनारलाई प्रयोग गर्ने सम्बन्धमा सोच्नुपर्ने उनी बताउँछन् ।


क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठले प्रतियोगिता बढै जाँदा खेलप्रतिको ‘क्रेज’ बढ्ने बताए । अन्तर्राष्ट्रियस्तरमा बिच भलिबलको लोकप्रियता बढेकाले नेपालमा आफ्नो छुट्टै मौलिकताको आधारमा खेलाइनुपर्ने उनको राय छ । ‘विदेशमा पुरुषले कट्टु र महिलाले विकिनी लगाएर खेल्ने चलन छ,’ उनले भने, ‘हाम्रो संस्कृतिले त्यसलाई अझैं स्विकारिसकेको अवस्था छैन ।’


जिल्ला भलिबल अध्यक्ष पराजुलीले खेलाडीले जर्सी नै लगाउने बताए । भने, ‘देशको परिवेशअनुसार खेलाडीलाई छोटो कपडामा उतार्दैनौं,’ इन्डोर भलिबलका खेलाडीलाई शारीरिक रूपमा तन्दुरुस्त राख्न बिच भलिबलले सहयोग पुर्‍याउने उनी बताउँछन् ।

प्रकाशित : असार १, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?