कोउटिन्होले बिर्साए नेयमारलाई

एएफपी

साओ पाओलो — फिलिप कोउटिन्होको दुई गोल मदतले ब्राजिलले कोपा अमेरिकामा शुक्रबार विजयी सुरुआत लिएको छ । नेयमरको अनुपस्थिति बिर्साएको खेलमा ब्राजिल बोलिभियामाथि ३–० ले विजयी रह्यो ।

कोउटिन्होले बिर्साए नेयमारलाई

बार्सिलोनाका कोउटिन्होले पेनाल्टीबाट दोस्रो हाफको सुरुमा गोलको खाता खोलेलगत्तै तीन मिनेटको अन्तरमा हेडिङबाट नजिकको दूरीबाट दोस्रो गोल गरे । वैकल्पिक एभर्टनले खेल सकिन पाँच मिनेट अगाडि सनसनीपूर्ण रूपले तेस्रो गोल गरे ।


समूह ‘ए’ मा उपाधिका लागि बलियो दाबेदार रहेको टिटेको ब्राजिलले अपेक्षित विजयी सुरुआत लिएको हो । प्रतियोगितामा ब्राजिलका तयारी पनि राम्रो रहन सकेन र नेयमरसँग जोडिएको खराब समाचारले प्रमुख स्थान लिएको थियो । सुरुमा नेयमरमाथि ब्राजिली मोडललाई बलात्कार गरेको आरोप लाग्यो भने पछि उनी चोटग्रस्ट हुँदै प्रतियोगितामै खेल्न नसक्ने समाचार आयो । यस्तोमा नेयमरको अनुपस्थितिले ब्राजिलको लय नमिल्ने विश्वास गरिएको थियो ।


पहिलो हाफमा सम्भवतः ब्राजिलले पीएसजी खेलाडीको अनुपस्थिति अनुभव गरे पनि त्यो पछि कायम रहेन । कोउटिन्होले दोस्रो हाफमा ब्राजिलका आलोचकको मुख बन्द गर्न सफल रहे । ‘आलोचना र समर्थन दुवै एउटै खेलका दुई भाग हुन्,’ कोउटिन्होले भने, ‘हाम्रा प्रशंसक चाहन्छन्, ब्राजिलले जितोस् र राम्रो पनि खेलोस् । हामीलाई समर्थकको यस्तो अपेक्षा चाहिन्छ । आज हाम्रो उद्देश्य जित्नु नै थियो र त्यसलाई प्राप्त गर्न सफल पनि रह्यौं ।’


ब्राजिलले खेलमा आफ्नो आधिपत्य कायम राख्दै राम्रो सुरुआत लिए पनि आश्चर्यजनक रूपमा बोलिभिया बलियो चुनौती पेस गर्न सफल रह्यो । खेलपछि बोलिभियाली प्रशिक्षक एडवार्डो भिलेगासले भने, ‘हामी आजको खेलको नतिजाप्रति इमान्दार हुनैपर्छ । हामीलाई ब्राजिलले एकपक्षीय ढंगले नै पराजित गर्‍यो ।’


ब्राजिल आफ्नो परमपरागत पहेलो जर्सी छाडेर सेतो जर्सीमा उत्रेको थियो र पहिलो हाफको अधिकांश समय दबाबमा रहन बाध्य रह्यो । यसका लागि बोलिभियाले १० खेलाडीलाई बल पछ्याउन खटाएको थियो र यस्तो रणनीति अगाडि ब्राजिल फिक्का रह्यो । त्यसैले पहिलो हाफ सकिँदा ६७ हजार घरेलु समर्थक दर्शकले टिमको खिल्ली नै उडाए ।


कोउटिन्होले ५० औं मिनेटमा पेनाल्टीबाट गोल गरेपछि भने ब्राजिली समर्थक फेरि टिमको पक्षमा देखिए । ‘बोलिभियाले दोस्रो चरणमा प्रवेशका लागि प्रयास गर्ने हो भने टिम अझ केही आक्रामक हुनैपर्छ,’ भिलगासले माने । ब्राजिलको समूहमा भेनेजुएला र पेरु पनि छन् । अब ब्राजिलले आफ्नो दोस्रो खेलमा भेनेजुएलाको सामना गर्नेछ ।

प्रकाशित : असार १, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?