कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बुटवलमा कभर्डहल निर्माण सुरु

बुटवल — ३ करोड रुपैयाँको लागतमा बुटवल उपमहानगरपालिकाले आधुनिक कभर्डहल निर्माण थालेको छ । ब्याडमिन्टन, टेबलटेनिस र तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्ने गरी बुटवल–१ को भैरवटोलमा शनिबार कभर्डहल निर्माणको शिलान्यास गरिएको हो ।

इन्डोर खेलप्रतिको आकर्षण बढदै गएकाले खेल अभ्यास र प्रतियोगिताको सहजताका लागि कभर्डहल निर्माण थालिएको नगरप्रमुख शिवराज सुवेदीले बताए । ‘खेल अनुशासन हो । युवालाई दुर्व्यसनबाट बचाउने माध्यम पनि हो,’ उनले भने, ‘त्यसैले खेल गतिविधि बढाउने, नयाँ खेलाडी उत्पादन गर्ने र युवालाई खेलप्रति आकर्षित गर्ने उद्देश्यसहित कभर्डहल निर्माण थालेका हौं ।’


कभर्डहल निर्माणमा प्रदेश सरकारले समेत १ करोड लगानी गर्नेछ । स्थानीयबाट समेत लागत साझेदारी जुटाइनेछ । चालु आर्थिक वर्षका लागि भने बुटवल उपमहानगरपालिकाले ४८ लाख रुपैयाँ विनियोजन गरेको छ । यसबाट तल्लो तलाको संरचना निर्माण गरिने नगरप्रमुख सुवेदीले बताए । आउँदो वर्ष अर्को तला र भित्री संरचना निर्माण हुनेछन् । २ तले कभर्डहलमा इन्डोर हलसँगै कार्यालय र स्थायी प्यारापिटसमेत निर्माण गरिनेछ ।


श्री ३ महारानीको तबेला राखिएको जग्गा भन्दै १६ घरपरिवारले कब्जा गरेको भैरवटोलको २ कठ्ठा ८ धुर जग्गा खाली गरेर कभर्डहल निर्माण थालिएको हो । अघिल्लो महिना जितगढी क्षेत्रमा अभ्यास खेलका लागि निर्माण गरिएको तेक्वान्दो डोजाङ उपमहानगरपालिकाले भत्काएको थियो ।


तेक्वान्दो प्रशिक्षक रामु वरुणले डोजाङ भत्काएपछि उपमहानगरले त्यसको सट्टामा आधुनिक कभर्डहल निर्माण गरिदिन लागेको बताए । ‘संरचना अभावले खेलाडीले अभ्यास गर्न र राष्ट्रिय प्रतियोगिता गर्न नपाएका बेला कभर्डहल निकै सहयोगी हुनेछ,’ उनले भने ।

प्रकाशित : असार २, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?