१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

आर्मीको रोमाञ्चक जित

काठमाडौँ — त्रिभुवन आर्मीले टाइम्स इन्टरनेसनल क्लबको सनसनीपूर्ण पुनरागमनलाई आइतबार त्रिपुरेश्वरस्थित कभर्डहलमा प्रतिस्पर्धामा ७९–६५ ले रोक्दै नेपाल बास्केटबल लिगका तीन खेलको क्वालिफायरमा १–० को अग्रता लिएको छ ।

आर्मीको रोमाञ्चक जित

गत वर्षको उपविजेता टिम आर्मीका लागि आयुष सिंहले सर्वाधिक २४ स्कोर गरे । यसअघि पुलिसले डिफेन्डिङ च्याम्पियन गोल्डेन गेटलाई इलिमिनेटरको पहिलो खेलमा ७८–७२ ले पराजित गर्‍यो । पहिलो रोजाइका पाँच खेलाडीमा ६ फिट दुई इन्चभन्दा बढीका तीन खेलाडी समावेश टाइम्सलाई आर्मीविरुद्ध बलियो मानिएको थियो ।


घरेलु प्रतिभाले भरिएको आर्मीले सुरुका दुई क्वाटरमा प्रभावशाली प्रदर्शन गर्‍यो । उसले पहिलो क्वाटरमा २६–१३ को अग्रता लियो । त्यसमा रामकृष्ण घोतानेले सात अंक जोडेका थिए ।


आयुष सिंहको दुई ‘थ्री–प्वाइन्टर’ को सहयोगमा आर्मीले दोस्रो क्वाटरमा २२ अंक बटुल्दै समग्रमा १४ अंकको अग्रता लियो । दोस्रो क्वाटरमा टाइम्सले २० अंक बनाएको थियो । आयुषको उत्कृष्ट प्रदर्शनसँगै तेस्रो क्वाटरमा आर्मीले ५४–३३ को अग्रता लिएको थियो । त्यसपछि संघर्ष गर्दै टाइम्सले आर्मीको अग्रता ५७–५० मा झारेको थियो ।


तेस्रो क्वाटर निकै रोमाञ्चक रह्यो । विजय बुर्जाले अंक जोडदै एक मिनेट ३४ सेकेन्ड बाँकी छँदा टाइम्सलाई चार अंकनजिक पुर्‍याएर आर्मीको अग्रता ६९–६५ मा छोट्याए । दुवैतर्फ ‘फ्ल्याग अन’ भइसकेको थियो । आर्मीले पाएको १५ मध्ये आठ ‘फ्रि–सट’ उपयोग गर्‍यो ।


अन्तिम क्वाटरमा आर्मीले १७ अंक जोड्यो भने टाइम्सले १५ । आर्मीको जितमा घोताने पनि १५ अंकको योगदान गरे । टाइम्सका कप्तान सदीश प्रधान र विजय बुर्जाले १४–१४ अंक जोडे । तीन खेलको क्वालिफायरको दोस्रो खेल सोमबार हुनेछ ।


लगातार दोस्रो खेल जित्न सके आर्मी सिधै फाइनलमा पुग्नेछ भने टाइम्सले दोस्रो खेलमा सफलता हात पार्न सके क्वालिफायर विजेताको टुङ्गो तेस्रो खेलबाट लाग्नेछ । क्वालिफायरमा पराजित हुने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेताविरुद्ध खेल्नेछ ।

प्रकाशित : असार २, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?