२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

मेसीलाई हारको चोट

एएफपी

साल्भाडोर — लियोनल मेसीले स्विकारेका छन्, कोपा अमेरिकामा कोलम्बियाको हातबाट बेहोरेको २–० हारको चोट तीतो रह्यो । दोस्रो हाफमा अर्जेन्टिना नै हाबी रहे पनि खेल भने उसको पक्षमा रहेन ।

मेसीलाई हारको चोट

रोगर मार्टिनेज र डुभान जापाटाले अन्तिम २० मिनेटमा गोल गरेपछि कोलम्बियाले अर्जेन्टिनामाथि २० वर्षयता पहिलो जित निकाल्यो । चार फाइनलपछि पनि ठूलो उपाधि जित्ने सपना अधुरै रहेका मेसी र टिमका लागि यो हार अझ ठूलो धक्काका रूपमा आएको छ ।


‘हामी निकै नरमाइलो महसुस गर्दै छौं,’ मेसीले समूह ‘बी’ को खेलपछि भने, ‘दोस्रो हाफमा हामीले मौका सिर्जना गरेका थियौं, त्यो निर्णायक रहेन ।’ अर्जेन्टिनाले सिर्जना गरेका ती मौकामध्ये एक ३१ वर्षीय बार्सिलोना स्टारको नाममा पनि रह्यो, तर कोलम्बियाली गोलरक्षक डेबिड ओसपिनाले त्यसमा बचाउ गरे । अर्जेन्टिनाले खेलमा आफ्नो आधिपत्य कायम गरेपछि ओसपिनाविरुद्ध गम्भीर चुनौती भने पेस गर्न सकेन र नतिजा हार रह्यो ।


‘पक्कै पनि हामी प्रतियोगिताको सुरुआत यसरी गर्न चाहन्न थियौं, अब हामीले लिगका बाँकी खेलमा राम्रो गर्नुपर्छ,’ पाँचपल्ट बेलन डे’अर जितेका खेलाडीले भने । मेसीले आक्रमणमा म्यानचेस्टर सिटीका सर्जियो अगुरो र पेरिस सेन्ट जर्मेनका एन्जेल डी मारियासँग जोडी बनाए पनि त्यसको परिणाम देखिएन । ‘प्रत्येक हार पीडादायी नै हुन्छ । अब हाम्रो एक मात्र सोच पाराग्वेविरुद्धको खेलमा केन्द्रित हुनुपर्छ,’ कप्तानी भूमिकामा रहेका मेसीले थपे ।


अर्जेन्टिनाले पाराग्वे र पाहुना टिम कतारविरुद्ध आफूअनुकूल नतिजा निकाल्ने हो भने अझै पनि नकआउट चरणको यात्रा सम्भव देखिन्छ । दोस्रो हाफको प्रदर्शन भने टिमका लागि उत्साहबर्द्धक हुन सक्ने अर्का अर्जेन्टिनी खेलाडी लियन्ड्रो परेडेसले भने । उनको स्पष्टीकरण थियो, ‘कोलम्बियाले त्यही बेला गोल गर्‍यो, जति बेला हामी पनि आक्रमण बुनिरहेका थियौं ।’ गोलरहित पहिलो हाफमा भने कोलम्बियाले नै प्रभावशाली देखिएको थियो ।


दोस्रो गोल गर्ने जापाटा भने खेलपछि स्वाभाविक रूपमा खुसी देखिए । उनले भने, ‘म यहाँ टिमलाई जिताउन आएको हुँ । हामीले खेलमा सक्दो प्रदर्शन गर्‍यौं । समग्रमा हामीले राम्रो खेल्यौं र जित्यौं पनि ।’ उनकै महत्त्वपूर्ण योगदानका कारण उनको सिरी ए क्लब एटलान्टा यसै सिजन पहिलोपल्ट युरोपेली च्याम्पियन्स लिगको इतिहासमै पहिलोपल्ट छनोट भएको थियो । इरान छाडेर कोलम्बियाली टिमको जिम्मा लिएका पोर्चुगाली प्रशिक्षक कार्लोस क्वरेजले जितको श्रेय टिम भावनालाई दिए ।


उनले एसिया कपयता इरानी टिमको जिम्मेवारी छाडेका हुन् । उनले भने, ‘कोलम्बिया एउटा टिमका रूपमा निकै राम्रो खेल्छ । हाम्रो खेल निकै अनुशासित थियो र सबै खेलाडी पूर्णतः खेलमै केन्द्रित थिया । हामीसँग जेम्स रोड्रिगुएज र फाल्को राडमलजस्ता अब्बल दर्जाका खेलाडी छन् । उनीहरूको उपस्थितिले पनि टिमलाई फाइदा पुग्छ ।’ उनले आफ्ना खेलाडीले मेसीको प्रभावलाई नियन्त्रण गर्न सफल रहेकोमा पनि बधाई दिए ।


उनका अर्जेन्टिनी समकक्षी लियोनल स्कालोनीले दुवै टिमले मौका सिर्जना गरे पनि कोलम्बिया निर्णायक मोडमा सफल रहेको माने । यसअघि समूह ‘ए’ मा भेनेजुएला र पेरुबीचको खेल भने गोलरहित बराबरीमा टुंगियो । यस समूहको उद्घाटन खेलमा ब्राजिलले बोलिभियालाई हराएर विजयी सुरुआत लिएको थियो ।

प्रकाशित : असार २, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?