दोस्रो गुरिल्ला अल्ट्रा दौडको उपाधि बुढालाई 

हरि गौतम

रुकुम पूर्व — गुरिल्ला अल्ट्रा दौडको उपाधि दुर्गाराज बुढाले जितेका छन् । भूमे गाउँपालिकाले आयोजना गरेको दोस्रो गुरिल्ला अल्ट्रा दौडको उपाधि रुकुम पश्चिमका बुढाले जितेका हुन् । ५२ किलोमिटर लामो दुरी उनले ६ घण्टा १५ मिनेट १५ सेकेण्डमा पार गरे । जितसँगै बुढाले ५० हजार रुपैयाँ सहित ट्रफि र मेडल पाए । 

६ घण्टा २८ मिनेट २८ सेकेण्डमा दुरी पार गरेका सोलुखुम्बुका सुमन कुलुङ दोस्रो भए । उनले ३५ हजार नगद पुरस्कार सहित मेडल हात पारे । कुलुङ भन्दा २१ मिनेटपछि परेका रुकुम पूर्वका मोहन केसी तेस्रो भए । दौडमा पुरुषतर्फ विभिन्न जिल्लाका ३४ जनाले सहभागिता जनाएका थिए ।

महिलातर्फको दौडमा प्युठानकी हुमी बुढा मगर प्रथम बनिन् । ७ घण्टा १८ मिनेट ३५ सेकेण्डमा ५२ किलोमिटर दुरी पार गरेकी उनले पनि ५० हजार नगद पुरस्कारको साथमा ट्रफि र मेडल प्राप्त गरिन् । उनलाई पछ्याएकी धादिङकी रसिला तामाङ दोस्रो बनिन् । रसिलाले ७ घण्टा २० मिनेट ३८ सेकेण्डमा उक्त दुरी पार गरेकी थिइन् । भोजपुरकी आनि राई तेस्रो भइन् ।

सशस्त्र युद्धका क्रममा तत्कालीन माओवादीका लडाकुहरु हिँडेको बाटैबाटो धावकलाई दौडाएर युद्ध पर्यटनको विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए । अघिल्लो वर्षदेखि थालिएको यो प्रतियोगिता निरन्तर चल्ने उनको भनाई छ ।

भूमे गाउँपालिका–६ को महतबाट सुरु भएको दौड रोल्पाको थवाङबाट जलजला पुगेर पुनः थवाङबाट रुकुम पूर्व भूमेको मारिङ लेक, लकुम, काँक्री हुँदै खाबाङ बगरस्थित भूमे गाउँपालिकामा आएर समापन भएको थियो ।

नेपाल ट्रेल सिरिज अन्तर्गत दोस्रो गुरिल्ला ट्रेल दौड आयोजना गरिएको प्रतियोगिताका संयोजक सुनिल रोका मगरले बताए । स्थानीय स्तरमा धावक उत्पादन गर्ने र जिल्ला बाहिरको साथै विदेशबाट समेत धावक ल्याएर पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको रोकाले बताए ।

प्रकाशित : असार २, २०७६ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्

युनिलिभरमा धर्ना दिने पक्राउ 

सुवास विडारी

मकवानपुर — बहुराष्ट्रिय कम्पनी युनिलिभरमा रोजगारी माग गर्दै धर्ना  बसेका मजदुरलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहानबाट हेटौंडा-३ स्थित युनिलिभरको मूल गेटमा धर्नामा बसेका उनीहरूलाई कार्यालय समय सुरु भएपछि उद्योगको आवागमनमा अवरोध गरेको भन्दै प्रहरीले  पक्राउ गरेको हो । 

धर्नामा बसेका तीन दर्जन मजदुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । युनिलिभिरको सामग्री उत्पादन गर्ने तेस्रो पक्षीय उद्योग गंगा सोपको सम्झौता युनिलिभरले तोड्दा आफूहरू बेरोजगार भएको भन्दै उनीहरूले धर्ना दिएका हुन् । आफूहरूलाई रोजगारी वा उचित राहत प्याकेज दिनुपर्ने मजदुरहरूको माग छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार नियन्त्रणमा लिएका सबैलाई छाडिएको छ । ‘हामीले धर्ना नदिने सर्तमा छाडेका छौँ ।’, उनले भने ।

प्रकाशित : असार २, २०७६ १५:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्