कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

क्रिकेटमा जम्दै सप्तरी

६ महिनाभरि प्रतियोगितै–प्रतियोगिता
अवधेशकुमार झा

राजविराज — कुनै बेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्त्वपूर्ण खेलाडीहरू सप्तरीका हुन्थे । पछिल्लो केही वर्ष त्यो क्रम न्यून भयो । फेरि एकपटक सप्तरी जिल्लामा क्रिकेट प्रतियोगिताहरूका कारण नयाँ खेलाडी उत्पादनको आस बढेको छ ।

क्रिकेटमा जम्दै सप्तरी

पछिल्लो ६ महिनामा क्रिकेट संघसँगको समन्वयमा मात्र विभिन्न स्तरीय प्रतियोगिताहरू भएका छन् । स्थानीय क्लब र संघसंस्थाको आयोजनामा अन्य धेरै प्रतियोगिताहरू भएका छन् ।


महबुब आलमजस्ता कीर्तिमानी खेलाडीसहित दीपेन्द्र चौधरी, सन्दीप श्रेष्ठ लगायतका एक समय राष्ट्रिय टोलीका महत्त्वपूर्ण हिस्सा सप्तरीकै हुन् । सप्तरीबाटै शैलेन्द्र खडका, पवन दास, राजन खडगी, रोहन विक, प्रशान्त सिंह, अमित यादव लगायतका थुप्रै खेलाडी राष्ट्रियस्तरमा आफ्नो कौशल देखाइसकेका छन् ।


क्रिकेटको उर्वर भूमि मानिएको सप्तरीमा पछिल्लो १० वर्ष निक्कै कमजोर रह्यो । लगानीको अभावमा स्तरीय प्रतियोगिता हुन नसक्नुका कारण सप्तरीबाट खेलाडी उत्पादनको क्रम रोकिन नै पुग्यो । यसका साथै स्तरीय खेलमैदानको अभाव पनि क्रिकेट खेलाडीहरूका लागि प्रतिकूल स्थिति बन्नुको कारण बन्यो ।


पछिल्लो समय स्थानीय सरकारले क्रिकेटको विकासमा लगानी गर्न सुरु गरेपछि जिल्लामा फेरि एक पटक क्रिकेटप्रतिको जागरण सुरु भएको छ । राजविराज नगरपालिका तथा अन्य विभिन्न स्थानीय तहको सहयोगमा सोमबारदेखि सप्तरीको राजविराजस्थित पविमाविको मैदानमा दोसो मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट सुरु भएको छ । महबुब, मन्जित श्रेष्ठ लगायतका कयौं राष्ट्रिय र अन्तर्राष्ट्रिय एवं जिल्ला स्तरीय क्रिकेट खेलाडीहरू अक्सनबाट छनोट भई विभिन्न स्थानीय टोलीबाट मैदानमा उत्रिएका छन् । प्रतियोगिताको राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले उद्घाटन गरे ।


पविमाविकै खेल मैदानमा शनिबार मात्र अन्तरविद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगिताको उपाधि राजविराजस्थित दुर्गा सेकेन्ड्री स्कुलले हात पारेको थियो । पुसमा तिलाठी कोइलाडी गाउँपालिकाका हरेक वडामा वडास्तरीय क्रिकेट प्रतियोगिताहरू भएको थियो भने माघमा तिलाडी कोइलाडी गाउँपालिकाको सहयोगमा गजेन्द्रनारायण सिंह स्मृति जिल्लास्तरीय क्रिकेट प्रतियोगिता भएको थियो ।


यसका अतिरिक्त प्रदेश नम्बर २ स्तरीय छनोट प्रतियोगिता पनि राजविराजमा केही दिनअघि सम्पन्न भएको थियो । जसमा प्रदेशका आठवटै जिल्लाले सहभागिता जनाएको थियो । यस्तै राजविराजमै पनि वडा नम्बर ५ को आयोजनामा वडा स्तरीय र डाकनेश्वरी नगरपालिकामा नगरस्तरीय क्रिकेट प्रतियोगिताहरू सम्पन्न भएका छन् । यसका अतिरिक्त विभिन्न संघसंस्था र क्लबहरूको आयोजनामा पनि जिल्लाका विभिन्न स्थानमा क्रिकेट प्रतियोगिताहरू पछिल्लो ६ महिनामा भएका छन् ।


क्रिकेटमा सप्तरीको गौरवपूर्ण इतिहास र आसलाग्दो वर्तमानसँगै उज्ज्वल भविष्य भए पनि मैदानको अभावमा जिल्लामा खेल फस्टाउन नसकेको जिल्ला क्रिकेट संघ सप्तरीका सचिव चन्दनकुमार यादवको भनाइ छ । संघका सप्तरी अध्यक्ष आयुष श्रेष्ठले केही समययता निराशाझैं भएको सप्तरीमा पछिल्लो समय स्थानीय सरकारहरूले लगानी गर्न थालेपछि क्रिकेट खेलका गतिविधि बढ्नुका साथै नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पुगेको बताए ।


उनले पनि खेल मैदानको अभावमा समस्या भइरहेको दुखेसो पोखे । राजविराजमा रहेको राजरंगशाला खेल्नका लागि उपयुक्त अवस्थामा नरहेको तथा अन्य खेल मैदानहरूको अवस्था पनि उस्तै रहेकाले स्तरीय प्रतियोगिता र खेलाडीहरूलाई नियमित अभ्यासका लागि समस्या हुने गरेको अध्यक्ष श्रेष्ठले बताए ।


तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले क्रिकेट सँगै अन्य खेलको विकासका लागि गाउँपालिकाबाट आवश्यक बजेट विनियोजन गरिरहेको बताए । ‘मानव जीवनमा खेलकुदको पनि महत्त्वपूर्ण स्थान छ,’ अध्यक्ष सिंहले भने, ‘कुलतमा लागेका युवाहरूलाई पनि खेलका माध्यमबाट सामान्य जीवनमा फर्काउन सक्ने भएकाले खेलकुद क्षेत्रको विकासलाई हामीले उच्च प्राथमिकतामा राखेका छौं ।’


अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्ने

राजविराज नगरपालिकाले राजविराजस्थित पविमाविको खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदानका रूपमा निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन सुरु गरेको छ ।


‘खेलमैदानको चौतर्फी अतिक्रमित जग्गालाई फुकाएर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका बारेमा हामीले सम्भाव्यता अध्ययन गरिरहेका छौं,’ राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले भने, ‘जग्गाको व्यवस्थापन मिलाइसकेपछि डीपीआर निर्माण गरेर प्रदेश र केन्द्र सरकार तथा विभिन्न संघ संस्थाको सहयोगमा अन्तर्राष्ट्रिय खेलमैदान निर्माणको कार्यलाई अगाडि बढाउन प्रतिबद्ध छौं ।’

प्रकाशित : असार ३, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?