उरुग्वेको सजिलो जित

एएफपी

बेलो होरिजोन्टे — लुइस स्वारेज र एडिसन कभानीले गोल गरेपछि उरुग्वेले कोपा अमेरिकाको समूह ‘सी’ को पहिलो खेलमा आइतबार १० खेलाडीमा सीमित इक्वेडरलाई सजिलै ४–० ले हराएको छ । निकोलस लोडेइरोले छैटौं मिनेटमा गोलको खाता खोले । त्यसैक्रममा जेसो क्वन्टेरो कार्ड खाँदै मैदान छाड्न बाध्य रहे । एक खेलाडी बढी भएको फाइदा लिँदै उरुग्वेले खेलमा पूर्णतः हाबी रह्यो । 

पहिलो हाफ अगाडि नै कभानी र स्वारेजले गोल थपे । खेल सकिन १२ मिनेट अगाडि आरटुरो मिनाले आत्मघाती गोल गरे । ‘पहिलो हाफमा हामीले केही राम्रा मौका सिर्जना गर्न सक्यौं र त्यसको फाइदा पनि लियौं ।

यसै कारणले खेल पनि हाम्रो नियन्त्रणमा रह्यो । प्रतियोगितामा हाम्रा लागि यो सुखद सुरुआत हो,’ कभानीले भने । चौथो कोपा अमेरिकामा सहभागी भइरहेका कभानीको यो प्रतियोगितामै पहिलो गोल हो । उनले इक्वेडर निकै कडा प्रतिद्वन्द्वी रहेको र उसमाथि प्राप्त जितले टिमलाई धेरै आत्मविश्वास दिएको दाबी गरे ।

यो जितले डिफेन्डिङ च्याम्पियन चिली सम्मिलित समूहमा उरुग्वेलाई धेरै राहत पनि प्राप्त भएको छ । इक्वडेरका कोलम्बियाली प्रशिक्षक हर्ननन डारियो गोमेजले आफ्नो टिम अभाग्यशाली रहेको आशय पोखे । उनले भने, ‘स्कोर हाम्रो पक्षमा नरहे पनि हाम्रो टिम त्यति धेरै खराब पनि होइन । पहिलो हाफमा हामीले राम्रो खेल्न सकेनौं र त्यसकैनतिजा हामी पराजित पनि रह्यौं ।’ दोस्रो हाफमा इक्वेडरले शारीरिक बलले खेलिने खेलमा बढी जोड दिएको थियो ।

कतारको बराबरी
बोउलेमा खोउखीले खेल सकिन १३ मिनेट अगाडि गरेको गोलको मदतले एसियाली च्याम्पियन कतारले कोपा अमेरिकामा आइतबार दुई गोलले पछाडि रहेको स्थिति उल्टाएर पाराग्वेलाई २–२ को बराबरीमा रोकेको छ । रियो डे जेनेरियोमा भएको खेलमा पाराग्वेले सुरुमा ओस्कार कारडोजोले पेनाल्टीबाट गरेको गोल मदतले अग्रता लिएको थियो । त्यसयता डरलिस जोन्लाजेले सुन्दर गोल गर्दै आफ्नो टिमलाई दुई गोलको अग्रता दिलाए ।

समूह बीमा प्राप्त एक अंकमा खुसी हुँदै कतारका स्पेनी प्रशिक्षक फेलिक्स सान्चेजले भने, ‘हाम्रा लागि यो सम्मानजनक स्कोर हो ।’ उनले आआफ्ना खेलाडीको प्रशंसा गर्दै उनीहरू टिममा रहेको मजबुतता देखाएको दाबी गरे । यस समूहको दोस्रो खेलपछि कोलम्बिया तीन अंकमा शीर्ष स्थानमा छ भने त्यसयता पाहुना टिम कतार र पाराग्वे छन् । एक चरणको खेल समाप्तिमा लियोनल मेसीको अर्जेन्टिना चार टिममध्ये पुछारमा रहेको छ ।

प्रकाशित : असार ३, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्

साम्बाको चर्चा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली महिला फुटबलले पाएको अब्बल दर्जाकी खेलाडी हुन् सावित्रा भण्डारी । ब्राजिली फुटबलको प्रशंसक भएकाले उनले आफूलाई ‘साम्बा’ भन्न रुचाउँछिन् । साम्बा चर्चित खेलाडीमात्रै होइनन्, सफल र क्षमतावान खेलाडी हुन् भन्ने प्रमाण उनले पछिल्ला प्रदर्शनहरूबाट प्रस्ट्याइसकेकी छन् ।

घरेलु फुटबलमा एपीएफबाट खेल्दा होस अथवा नेपालको राष्ट्रिय टिमबाटै, खेलाडीको एक हुलबाट उनी ठ्याक्कै फरक देखिन्छिन्, अरूभन्दा तीव्र, चुस्त र स्तरीय । यसैमा टिकेर उनी वर्ष २०७५ मा लगातार चर्चामा पनि रहिन् । चर्चा त कतिसम्म भने उनको जत्तिको लोकप्रियता त अहिलेको पुरुष खेलाडीले पनि विरलै मात्र पाएका छन् होला ।

यस्तोमा उनी पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी छन् । मतका आधारमा छिनोफानो हुने यो विधामा उनीसँगै पाँच प्रत्याशी छन् । सामाजिक सञ्जाल फेसबुक र एसएमएसको मार्फत आएको मतसँगै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले विजेताको निर्णय हुनेछ ।

यो अवार्डका लागि निकै बलिया प्रत्याशी हुन् उनी । लगभग पाँच वर्ष अगाडिसम्म उनी गुमनाम जस्तै थिइन् । लमजुङको पाच्चोक स्कुलको मैदानमै सीमित उनको प्रतिभा त्यति बेला फल्ने र फुल्ने अवसर पायो, जति बेला उनी नेपाल एपीएफ क्लबसँग आबद्ध भइन् । लमजुङ छँदाका दिन सम्झना अहिले त्यो सबै कथाजस्तो हुन सक्छ, अरू महिला खेलाडी नै नभएको, पुरुष खेलाडीसँग खेल्न बाध्य, आदि आदि ।

वर्ष २०७५ मा सावित्राकै गतिलो योगदानका कारण नेपाल भारतमा भएको हिरो गोल्डकपको फाइनलसम्म पुग्यो । त्यसै क्रममा नेपालले पहिलोपल्ट भारतलाई हरायो । विराटनगरमा भएको वुमेन्स साफ च्याम्पियनसिपमा नेपाल फेरि एकपल्ट फाइनलमा भारतसँग पराजित रह्यो, तर उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्ष स्थानमै छिन् ।

एपीएफले नै वर्ष २०७५ मा लिग जित्दा उनी सर्वाधिक गोलकर्ता मात्र भइनन्, उत्कृष्ट खेलाडी पनि रहिन् । नेपालले पहिलोपल्ट ओलम्पिक छनोटको दोस्रो चरण तय गर्दा पनि सावित्राको भूमिका कम थिएन ।

प्रकाशित : असार ३, २०७६ ०८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्