कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

टाइम्स र पुलिस च्याम्पियन

कुशल तिमल्सिना

काठमाडौँ — करिब दुई महिना चलेको नेपाल बास्केटबल लिगको उपाधि टाइम्स क्लब र नेपाल पुलिस क्लबले जितेका छन् । शनिबार पुरुषतर्फ फाइनलमा टाइम्सले त्रिभुवन आर्मी क्लबलाई ८८–७१ स्कोरले पराजित गर्दा कप्तान सदीश प्रधान र श्रीलंकाली स्टार प्रनीत उदुमालागालाले ६० स्कोर गरे ।

टाइम्स र पुलिस च्याम्पियन

अनुषा मल्लको प्रभावशाली भूमिकामा पुलिसले महिला फाइनलमा समृद्धि गोरिल्लाजलाई ६५–५२ ले हरायो ।


टाइम्सले पहिलो क्वालिफायरमा आर्मीसँग २–१ को पराजय बेहोरेको थियो । उपाधि भिन्डतको पहिलो क्वाटरमै १९–१२ को अग्रतासाथ टाइम्सले लय समातेको थियो । त्यसमा प्रनीत एक्लैले ९ स्कोर गरे । लगातार २ अंक जोडेर विनोद महर्जनले पहिलो क्वाटरको ४ मिनेट बाँकी छँदा आर्मीलाई १२–१० को अग्रता दिलाए । प्रनीतले लगातार ३ अंक र विजय बुर्जाले २ अंक जोडेपछि ५३ सेकेन्डको समय बाँकी छँदा टाइम्सले ७ अंकको अग्रता बनाइसकेको थियो ।


प्रनीतले दोस्रो क्वाटरमा पनि ११ अंक थपे । उनले २ अंक र फ्री थ्रोका साथ टाइम्सलाई १३ अंकको अग्रता दिलाए । त्यसपछि सदीशले २ फ्री थ्रो प्रहार गरे । आर्मीका विनोदले एक फ्री थ्रो सदुपयोग गर्न सकेनन् । अनिश दिवाकरले २ अंक जोडेपछि टाइम्सले दोस्रो क्वाटरमा १६ अंकको अग्रता बनाउँदै ४०–२४ मा पुर्‍यायो ।


तेस्रो क्वाटरको सुरुआतमा कप्तान सदीशले एक थ्री प्वाइन्टरसाथ अग्रता २१ अंकमा पुर्‍याए । त्यसयता आर्मीले खेलमा फर्कन कठिन संघर्ष गरेको थियो । खेलभर १५ स्कोर गरेका आर्मीका अजय कुशवाहाले दुई फ्री थ्रो सदुपयोग गरे । तीन मिनेट बाँकी हुँदा आर्मीले ५१–३९ सहित अन्तर कम गर्ने प्रयास गरेको थियो ।


खेलभर टाइम्सले कुनै समयमा पनि दबाब सामना गर्नुपरेन । तेस्रो क्वाटरमा आर्मीले २६ र टाइम्सले २७ स्कोर गरेका थिए । १७ स्कोरको अग्रतासाथ अन्तिम क्वाटर सुरु गरेका दुवैले थप २१–२१ स्कोर गरे । अन्तिम क्वाटरमा टाइम्सका कप्तान सदीशले तीन थ्री प्वाइन्टरसाथ ११ स्कोर जोडेका थिए ।


प्रतियोगिताको लगातार दोस्रो संस्करणमा मोस्ट भ्यालुएबल प्लेयर भएका सदीशले टिमको जित स्वाभाविक भएको बताए । ‘हामी विश्वस्त थियौं किनभने हामीसँग एउटा उत्कृष्ट टिम थियो । सबैले भन्ने भन्ने गर्छन्, प्रनीतले हाम्रो टिमलाई निकै बलियो बनाए तर उनलाई समायोजन गर्न हामीले धेरै मिहिनेत र त्याग गरेका छौं ।


उनले धेरै राम्रो प्रदर्शन गरे र जितमा निर्णायक भूमिका निभाए,’ फाइनलमा ७ थ्री प्वाइन्टर प्रहार गरेका राष्ट्रिय टोलीका कप्तान रहेका सदीशले भने, ‘उनलाई समायोजन गर्न धेरै क्षमतावान खेलाडीले वलिदान दिनुपरेको छ । हामीसँग यस्ता थुप्रै उत्कृष्ट खेलाडी थिए, जसले अधिकांश समय बेन्चमा बिताउनुपर्‍यो । ६–८ महिनादेखि सँगै खेलिरहे पनि उनीहरूले धेरै अवसर पाएनन् । मलाई लाग्दैन उनीहरूको योगदानबिना यो सम्भव भएको हो ।’


महिलातर्फ पहिलो क्वाटर समृद्धि गोरिल्लाजले १२–८ स्कोरको अग्रता बनायो, जहाँ एलिना गुरुङले ६ स्कोर गरिन् । मुना महर्जनको थ्री प्वाइन्टर प्रहारमा फाउल गरेपछि थप तीन फ्री थ्रोका साथ दोस्रो क्वाटरको सुरुमै १७–८ को अग्रता बनायो । सिर्जना गिरीले ३ स्कोर जोडेपछि दोस्रो क्वाटरको १ मिनेट ४० मा गोरिल्लाजले अग्रता २०–८ पुर्‍यायो ।


त्यसपछि प्रीति तुलाचन र कप्तान अनुषा मल्लको थ्री प्वाइन्टर सहयोगमा पुलिस खेलमा फर्कियो । दोस्रो क्वाटरमा पनि २९–२२ को स्कोर पुर्‍याएर गोरिल्लाजले ७ अंकको अग्रता लियो । पुलिस तेस्रो क्वाटरमा फर्कियो । २२–१३ स्कोरसाथ पुलिसले अन्तिम क्वाटरअघि २ अंकको अग्रता बनायो । अन्तिम क्वाटर १६–१० ले टुंग्याउँदै उपाधि जित्यो ।


विजेता टाइम्सले २ लाख र आर्मीले १ लाख रुपैयाँ पुरस्कार पाए । महिला विजेता पुलिसले ५० हजार र उपविजेता समृद्धि गोरिल्लाजले २५ हजार जिते ।

प्रकाशित : असार ८, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?