२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

भारतले खतरा टार्‍यो

एपी

साउथह्याम्पटन — मोहम्मद सामीले अन्तिम ओभरमा ह्याट्रिक विकेट लिएपछि भारतले विश्वकपमा शनिबार अफगानिस्तानलाई ११ रनले पराजित गरेको छ । विश्वकप इतिहासमै अप्रत्यासित नतिजाको नजिक पुगेर अफगानिस्तान चुक्यो ।

भारतले खतरा टार्‍यो

२ सय २५ रनको मध्यम लक्ष्य पाएको अफगानिस्तान ४९.५ ओभरमा २ सय १३ रनमै अलआउट भयो । विश्वकप इतिहासमा भारतको यो ५० औं जित हो ।


अफगानिस्तानलाई अन्तिम ओभरमा जितनिम्ति १६ रन चाहिन्थ्यो । मोहम्मद नाबीले सामीको पहिलो बलमै चौका प्रहार गरेर खेललाई अझ रोमाञ्चक बनाए । दोस्रोमा कुनै रन बनाउन नसकेका नाबी तेस्रो बलमा क्याच दिन पुगे । चौथो र पाँचो बलमा सामीले अफ्ताब आलम र मुजिब उर रहमानलाई बोल्ड गरे । विश्वकपमा ह्याट्रिक गर्ने सामी भारतका दोस्रो र विश्वका नवौं खेलाडी हुन् ।


सामीले ९.५ ओभरमा १ मेडन राख्दै ४० रन खर्चेर ४ विकेट लिए । म्यान अफ द म्याचमा भने जसप्रित बुमराह चुनिए । उनले १० ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेका थिए । युजभेन्दर चाहल र हार्दिक पाण्ड्येले पनि २–२ विकेट लिए । नाबीले अफगानिस्तानबाट सर्वाधिक ५२ रन बनाए । उनले ५५ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । रहमत शाहले ३६ र गुलबदिन नैबले २७ रन बनाए ।


अफगानिस्तानले चार दिनअघिमात्र इंग्ल्यान्डलाई विश्वकपकै सर्वाधिक ३ सय ९७ रन बनाउन दिएको थियो । त्यही अफगानी बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई शनिबार २२४–८ को स्कोरमा रोके । इंग्ल्यान्डसँग रशिद खानले नचाहेको कीर्तिमानी बलिङ गरे ।


उनले ९ ओभरमा १ सय १० रन खर्चंदै कुनै विकेट लिन सकेका थिएनन् । तिनै रशिदले १० ओभरमा ३८ रनमात्र खर्चेर १ विकेट लिएपछि भारतले खुलेर खेल्न सकेन । अफगानिस्तानका स्पिनरले कुल ५ विकेट लिएपछि कठिन पिचमा लय समात्न नसकेको भारतले ठूलो स्कोर बनाउन सकेन ।


भारतीय कप्तान विराट कोहलीले ६३ बलमा ६७ रन बनाए । त्यसमा ५ चौका समावेश छ । उनले ४४ बलमै अर्धशतक पूरा गरे । यो उनको ५१ औं अर्धशतक हो । कोहलीलाई नाबीले ३१ औं ओभरमा शर्ट थर्डम्यानमा क्याच गराए । मुजिब उरले ओपनर रोहित शर्मालाई पाँचौं ओभरमा १ रनमै आउट गरेपछि भारतको सुरुआत राम्रो हुन सकेन । शर्माले प्रतियोगितामा यसअघि दुई शतक बनाइसकेका थिए ।


लोकेश राहुलले ३० रन बनाउँदै कोहलीसँग दोस्रो विकेटमा ५७ रन जोडे । तर भारतको समस्या तब सुरु भयो, जब राहुल अनावश्यक रिभर्स स्वीप गर्नेक्रममा क्याच हुन पुगे । अफगानका बलरले त्यसपछि नियमित रनमा अंकुश लगाउँदै विकेट लिइरहे । शाहले विजय शंकरलाई २७ औं ओभरमा एलबीडब्लू आउट गरे ।


महेन्द्रसिंह धोनी र केदार जाधबले पाँचौं विकेटमा ५७ रन जोडे । धोनीले ५२ बलमा २८ रन बनाए । उनी सन् २०११ यता पहिलो पटक एकदिवसीयमा स्टम्पआउट भए । जाधबले ६८ बल खेली ३ चौका र १ चौका प्रहार गरी ५२ रन बनाए । मुजिब उरले १० ओभरमा २६ रनमात्र खर्चेका थिए भने नाबीले ९ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।


स्कोर कार्ड

भारत

११ रनले विजयी


भारत

५० ओभर २२४/८

विराट कोहली–६७

केदार जाधव–५२

लोकेश राहुल–३०


मोहम्मद नाबी २/३३

गुलवदिन नैब २/५१


अफगानिस्तान

४९.५ ओभर २१३

मोहम्मद नाबी–५२

रहमत शाह–३६

गुलवदिन नैब–२७


मोहम्मद सामी ४/४०

युजभेन्द्र चाहल २/३६

प्रकाशित : असार ८, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?