कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

६ खेल, ४ हार, प्रदर्शन 'सन्तुष्ट’

मनाङ २–३ चेन्नइन एफसी

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङदी एसियाली क्लब फुटबलमा च्याम्पियन्स लिगपछिको महत्त्वपूर्ण मानिएको प्रतियोगिता एएफसी कपमा जितविहीन रहँदै समूह चरणबाट बाहिरियो । 

६ खेल, ४ हार, प्रदर्शन 'सन्तुष्ट’

एक खेल बाँकी छँदै प्ले–अफमा नपुग्ने पक्का भइसकेको मनाङले एन्फा कम्प्लेक्समा बुधबार चेन्नइन एफसीविरुद्ध ३–२ को हारसँगै एएफसी कप २०१९ को यात्रा टुंग्यायो । चार हार र दुई बराबरी खेल्दै समूहको अन्तिम स्थानमा रहे पनि आफ्नो टिमको प्रदर्शनप्रति प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले सन्तुष्टि व्यक्त गरे ।

‘धेरै खेलाडी राष्ट्रिय टिममा हुँदा राम्रो तयारी गर्न पाइएको थिएन,’ प्रशिक्षक गुरुङले भने, ‘गोल र खेललाई मात्र नहेरौं, अरु टिम हाम्रोभन्दा धेरै माथि छन् । हाम्रा खेलाडीले जति खेले, राम्रो खेले । त्यसप्रति सन्तुष्ट छु ।’ उनले थपे, ‘व्यवस्थापनमा हामी धेरै कमजोर छौं । प्राविधिक पक्षमा पनि अरु टिममा ७–८ जना छन्, हाम्रोमा त्यस्तो छैन । विदेशी खेलाडी र सुविधाका हिसाबले पनि हामी धेरै पछाडि छौं ।’

‘होम एन्ड अवे’ का आधारमा आयोजित एएफसी कपमा दक्षिण एसियाली क्षेत्रको प्रतिस्पर्धामा मनाङले एन्फा कम्प्लेक्समा अबहानी लिमिटेड ढाकालाई नतिजा १–० ले सुम्पिँदै अप्रिल ३ मा यात्रा सुरु गरेको थियो । अहमदबादमा चेन्नइनविरुद्ध २–० ले हारेपछि मनाङले मिनर्वा पन्जाबविरुद्ध भुवनेश्वरमा २–२ र फर्केर सातदोबाटोमा त्यही टिमविरुद्ध १–१ खेल्दै अंक जोडेको थियो ।

मनाङ दुई साताअघि ढाकामा अबहानीविरुद्ध निरीह बनेको थियो र त्यसमा ५–० को हार बेहोर्‍यो । इन्डियन सुपर लिग २०१७–१८ को च्याम्पियन चेन्नइनविरुद्ध सातदोबाटोमा बुधबार ३–२ को हारसँगै मनाङले यो सिजन एफसी कपबाट औपचारिक बिदाइ लियो ।


ओलावालेको दुई गोल

नाइजेरियाली फरवार्ड आफिज ओलावाले ओलाडिपोले चेन्नइनविरुद्ध ९० सेकेन्डभित्रै मनाङलाई अग्रता दिलाउने अवसर पाएका थिए । विशाल राईको पासमा उनले गोलकिपरमात्र रहेको अवस्थामा बल सिधै पोस्टबाहिर हानेपछि मनाङ अग्रता लिन चुक्यो ।

गोलकिपरसँगको वान भर्सेस वानमा ३५ औं मिनेटमा ओलावालेको प्रहार पनि फितलो रह्यो ।

पाहुना टिमका फरवार्ड मोहम्मद रफीको ‘फ्रि–हेडर’मा बल ३७ औं मिनेटमा पोस्टमाथिबाट बाहिरिँदा चेन्नइनले अघि बढ्ने अवसर गुमायो । घरेलु टिमको डिफेन्सको गल्तीमा पाएको बललाई जेरी लालरिन्जुआलाले ४१ औं मिनेटमा फस्ट बार च्याप्दै प्रहार गरेको बल क्लियर गर्दै गोलकिपर विशाल श्रेष्ठले मनाङको संकट टारेका थिए ।

दोस्रो हाफको सुरुमै विशाल राईले लामो दूरीबाट प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो । अनिरुद्ध थापाले पोस्ट नजिकबाट ५३ औं मिनेटमा प्रहार गरेको बल पनि विशालले नियन्त्रण गरे । लगत्तै कर्नरमा उपलब्ध बललाई अनिरुद्धले क्रस गरे र त्यसलाई ‘सिक्स यार्ड बक्स’ मा अनमार्क रहेका मोहम्मद रफीले गोल गर्दै पाहुना टिमलाई १–० को अग्रता दिलाए । ब्राजिली डिफेन्डर इली सावियाले एक्लै अघि बढाउँदै पेनाल्टी क्षेत्र नजिक रफीसँग वान टु खेल्दै गोलकिपर विशाललाई उछिन्दै बललाई पोस्टको दिशा दिएर ६५ औं मिनेटमा चेन्नइनको अग्रता दोब्बर बनाए ।

समूहमा शीर्षस्थान हात पार्दै अन्तर क्षेत्री प्ले–अफको सेमिफाइनल पुग्ने योजनामा रहेको चेन्नइन थप गोल गर्न अग्रसर देखिएको थियो । तर हेमन गुरुङको चलाखीपूर्ण पासमा ओलावालेले ब्राजिली डिफेन्डर इलीलाई छक्याउँदै ७१ औं मिनेटमा बल जालीको सम्पर्कमा पुर्‍याए ।

सुजल श्रेष्ठले करिब २८ यार्डबाट प्रहार गरेको बल चेन्नइनका गोलकिपर कारन्जित सिंहले डाइभ गर्दै बाहिर फाले । डिफेन्डर सहिद अजिजलाई चोट लागेपछि ७० औं मिनेटमा मैदानमा प्रवेश गरेका सुरज विश्वकर्माको पासमा मैदानको मध्यभाग अघिबाट एक्लै बल बढाउँदै गोल गरेर मनाङलाई ७९ औं मिनेटमा २–२ को अवस्थामा पुर्‍याएका थिए ।

मनाङ ८६ औं मिनेटमा अग्रता नजिक पुगेको थियो । तर ओलावालेको पासमा पेनाल्टी क्षेत्रभित्र विमल रानाले पाएको बललाई गोलकिपरमात्र रहेको अवस्थामा बाहिर प्रहार गरेपछि मनाङ पहिलो जित हात पार्ने सम्भवानाबाट टाढिएको थियो । आइज्याक भन्मलसावमाको फ्रि–किकमा कप्तान माइसन भेरियाटोले प्रहार गरेको बल ८८ औं मिनेटमा पोलमा लागेर फर्कियो । त्यही रिबाउन्डमा रफीले सहजै निर्णायक गोलमा परिणत गरेका थिए ।

चेन्नइनले जित हात पारे पनि गुवाहाटीमा पन्जाबमाथि १–० को जित रच्दै बंगलादेशको अबहानी लिमिटेडले समूह ‘ई’ को शीर्षस्थान कब्जा गर्‍यो । यससँगै अबहानी अन्तर क्षेत्रीय प्ले–अफको सेमिफाइनलमा छनोट भएको छ । ‘मनाङ राम्रो टिम हो । यहाँ आएर खेल्नु गाह्रो हुन्छ । मेरो विचारमा हामी जितका लागि योग्य थियौं । तर दुर्भाग्यवश प्ले–अफमा छनोट भएनौं,’ चेन्नइनका बेलायती प्रशिक्षक जोन गेग्रोरीले भने ।

प्रकाशित : असार १२, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?