पल्सर स्पोर्टस अवार्ड : पाराग्लाइडिङको ह्याट्रिक

कुशल तिमल्सिना

काठमाडौँ — ‘पाराग्लाइडिङलाई सबैले व्यवसायको रूपमा चिनिरहेको अवस्थामा खेलमा स्थापित गर्न प्रयासरत हामीहरूका लागि यस खेल एसियाली खेलकुदमा समावेश हुनु नै गर्वको क्षण थियो । हामीले जापानसँग झिनो अन्तरमा पराजित हुँदै रजत पदक जित्यौं, अहिले यस अवार्डले यस खेलको प्रतिष्ठा र प्रचार दुवै बढेको छ ।’

पल्सर स्पोर्टस अवार्ड : पाराग्लाइडिङको ह्याट्रिक

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार राजधानीमा आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा उत्कृष्ट प्रशिक्षक चुनिएपछि प्रशिक्षक योगेश भट्टराईले दिएको अभिव्यक्तिजस्तै पाराग्लाइडिङ व्यवसायबाट खेलको दुनियाँमा प्रवेश गरेको एक वर्षमात्र भएको छ । २०७५ साल भदौमा इन्डोनेसियाको जाकार्तामा भएको १८ औं एसियाली खेलकुदमा समावेश गरिएपछि १५ वर्षअघिदेखि नै यसलाई खेलको रूपमा स्थापित गराउन प्रयासरत खेलाडीले आफूलाई प्रमाणित गर्ने उपयुक्त अवसरको रूपमा लिए ।


नभन्दै, एसियाली खेलकुदमा नेपाललाई पदकविहीन हुनबाट जोगाउँदै ५ खेलाडीसम्मिलित पाराग्लाइडिङ टिमले पुरुष क्रसकन्ट्रीमा नेपाललाई रजत पदक दिलायो । नेपाली खेलाडीले एसियाली खेलकुदमा रजत पदक जितेको इतिहासमै दोस्रोपल्ट थियो त्यो । त्यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ बैंकक एसियाडमा रजत जितेकी थिइन् ।


नेपाललाई उच्च अन्तर्राष्ट्रिय सफलता दिलाएका तिनै पाराग्लाइडिङले पल्सर स्पोर्टस अवार्डमा तीन विधामा बाजी मार्‍यो । टिम अफ दी इयरसहित जाकार्तामा उत्कृष्ट प्रदर्शन गरेका १६ वर्षे खेलाडी युकेश गुरुङले वर्षका उत्कृष्ट पुरुष खेलाडी र योगेशले वर्ष प्रशिक्षकको अवार्ड हात पारे ।


‘एसियाली खेलकुदमा हामी स्वर्णको दाबेदार हुँदाहुँदै चुकेका थियौं । नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित अवार्डले हामी उत्साहित छौं र आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो प्रदर्शन गर्न उत्साही छौं,’ टिम अफ द इयरको अवार्ड ग्रहण गरेपछि एसियाली खेलकुदमा नेपाली टिमका म्यानेजरसमेत रहेका शैलेन्द्र रावतले भने ।


योगेशले वर्ष प्रशिक्षकको प्रतिस्पर्धामा मनोनयनमा परेका क्रिकेटका जगत टमाटा, फुटबलका हरि खडा, एथलेटिक्सका धनीराम चौधरी र भलिबलका ज्ञानेन्द्र विष्टलाई पछि पारेका हुन् । वर्ष २०७५ भर अन्तर्राष्ट्रिय/राष्ट्रियस्तरमा भएको टिमको प्रदर्शनका आधारमा उत्कृष्ट छनोट गरिएको हो ।


युकेश गुरुङले क्रिकेटका राष्ट्रिय कप्तान पारस खडा र सोमपाल कामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका शुक्रबहादुर राईलाई पछि पार्दै अवार्ड जिते । ‘नेपाली खेलकुदकै सबैभन्दा ठूलो अवार्डले सुशोभित हुन पाउँदा भविष्यमा अझै राम्रो प्रदर्शन गर्न हौसला मिलेको छ,’ अवार्ड थापेपछि युकेशले भने ।


सावित्रा उत्कृष्ट, रेश्मा चर्चित

नेपालको महिला फुटबलमा सुपरस्टार खेलाडीको रूपमा उदाएकी सावित्रा भण्डारी (साम्बा) पिपल्स च्वाइस अवार्डमा पनि मनोनीत थिइन् । त्यस अवार्डमा सर्वाधिक मत ल्याउन नसकेकी उनलाई उत्कृष्ट हुनबाट कसैले रोक्न सकेन । कारण उनको लोभलाग्दो प्रदर्शन थियो । गएको वर्षभर राष्ट्रिय महिला फुटबलको प्रदर्शन उनीवरपर घुमिरह्यो ।


नेपाललाई पहिलोपल्ट ओलम्पिक छनोटको दोस्रो चरणमा पुर्‍याउने, भारतमा भएको हिरो गोल्डकप र नेपालमै आयोजना भएको साफ च्याम्पियनसिपमा राष्ट्रिय टोलीलाई फाइनलमा पुर्‍याउन सावित्राले अग्रपंक्तिमा प्रमुख भूमिका निभाइन् । घरेलु फुटबलमा विभागीय टोली एपीएफकी सबैभन्दा महत्त्वपूर्ण खेलाडी साम्बाले पछिल्लो चार वर्षमा सानदार प्रदर्शन गरिरहेकी छन् ।


वर्ष २०७५ मा एपीएफले महिला फुटबल लिगको उपाधि जित्दा उनले सर्वाधिक गोलसहित सर्वोत्कृष्ट खेलाडी बनेकी थिइन् । साफ च्याम्पियनसिपमा पनि उनी सर्वाधिक गोलकर्ता थिइन् । हिरो गोल्डकपमा नेपालले भारतविरुद्ध ऐतिहासिक जित निकाल्दा उनकै प्रदर्शन उच्च थियो ।


स्पोर्टस अवार्डमा सावित्राले वर्षको उत्कृष्ट महिला खेलाडीको पुरस्कार पाइन् । उनले भलिबलकी सरस्वती चौधरी, तेक्वान्दोकी नीमा गुरुङ, जुडोकी मनिता श्रेष्ठ प्रधान र क्रिकेटकी सीता रानामगरलाई पछि पार्दै यो अवार्ड जितेकी हुन् ।

‘म सावित्रा भण्डारीको रूपमा अहिले जति चिनिएको छु, त्यो मेरो विभाग एपीएफ र तपाई खेल पत्रकारकै कारणले हो, तपाईहरूले नै मलाई सर्वोत्कृष्ट बनाइदिनुभएकोमा थप जिम्मेवारीबोध गरेकी छु । नेपाललाई साफको उपाधि दिलाउने मेरो सपना पनि छिट्टै पूरा हुनेछ भन्ने कामना गर्छु,’ सर्वोत्कृष्ट सावित्राले भनिन् ।


वर्ष २०७५ मा महिला भलिबलको अन्तर्राष्ट्रिय सहभागिता रहेन । तर घरेलु प्रतियोगितामा भने विभागीय टोली एपीएफको दबदबा कसैले तोड्न सकेन । वर्षभर प्रदर्शन र चर्चाका आधारमा पिपल्स च्वाइसको मनोनयनमा परेकी रेश्मा भण्डारी अवार्ड जित्न सफल भइन् । एसएमएस, फेसबुक लाइक, राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यको मतका आधारमा चयन गरिने यस अवार्डमा रेश्माले ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा, शारीरिक सुगठनका महेश्वर महर्जन र क्रिकेटका सन्दीप लामिछानेलाई पछि पारेकी हुन् ।


घरेलु भलिबलमा उच्च लयमा रहेको एपीएफकी महत्त्वपूर्ण सदस्य ओपन स्पाइकर रेश्माले ३२ प्रतिशत मत पाइन् । सावित्राले २९, महेश्वरले १५, प्रिन्सले १३ र सन्दीपले ८ प्रतिशत मत पाए । न्यु डायमण्ड एकेडेमीकी उत्पादन रेश्माको भलिबल करिअर एपीएफमा अनुबन्ध भएपछि चम्किएको हो । उनले अवार्डले थप जिम्मेवारीबोध भएको प्रतिक्रिया दिइन् ।


यसपल्ट विदेशतर्फ व्यावसायिक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेमध्येबाट एकलाई स्पेसल अवार्ड प्रदान गरिएको थियो । त्यसमा फुटबलका रोहित चन्दलाई चयन गरियो । इन्डोनेसियाको पर्सिजा जाकार्ता टिमलाई लिग वान उपाधि दिलाएका रोहित उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यसबाहेक पर्सिजाले नटआउट प्रतियोगिता इन्डोनेसिया कपको उपाधि जित्दा र एएफसी कपको नकआउट चरणको यात्रा तय गर्दा मिडफिल्डबाट उनको प्रदर्शन सानदार थियो ।


हङकङमा भएको एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिपमा ३ हजार मिटरमा कीर्तिमानी स्वर्ण जितेका अजितकुमार यादवले युवा वर्ष खेलाडीको अवार्ड जिते । उनले कराँतेका विजय श्रेष्ठ, फुटबलकी मन्जलीकुमारी योन्जन, क्रिकेटका ललितनारायण राजवंशी र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पारेका हुन् । पिनाकल कलेजमा अध्ययनरत अजितले २३ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान सुधार गरेका थिए ।


दृष्टिविहीन क्रिकेटकी मनकेसी चौधरीले पारा एथलिट अवार्ड जितिन् । पाकिस्तानमा भएको विश्वकै पहिलो नेत्रहीन क्रिकेट ट्वान्टी–२० शृंखलामा नेपाललाई जिताउन मनले उत्कृष्ट प्रदर्शन गरी दुई अर्धशतकसहित १ सय ८८ रन जोडेकी थिइन् । घरेलु क्रिकेटमा पनि आफू सहभागी भएका सबै प्रतियोगितामा उनको प्रदर्शन सानदार थियो ।


एथलेटिक्सका कीर्तिमानी खेलाडी हरिबहादुर रोकायले लाइफटाइम एचिभमेन्ट अवार्ड पाए । ५३ वर्षीय हरिले खेलाडी र प्रशिक्षकको भूमिकामा आफ्नो योगदानको सम्मान भएकोमा खुसी व्यक्त गरे ।

अन्तर्राष्ट्रिय एसियन खेलपत्रकार अवार्डबाट एआईपीएस एसियाका महासचिव तथा पाकिस्तान खेलकुद राइटर्स एसोसियसनका अध्यक्ष अम्जद अजिज मलिक सम्मानित भए ।


वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार अवार्ड विधाका विजेताले पल्सर मोटरसाइकलसहित विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार पाएका छन् । अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर तथा मनोनीतले गिफ्ट ह्याम्परहरू पाएका थिए ।


रोकायलाई लाइफटाइम

सानैदेखि चन्चले स्वभावका थिए । जुम्लाको भरेडाँडाको वनमा काम गरिरहेका बुवालाई सामल पुर्‍याउन उनी दौडेरै आउजाउ गर्थे । तर प्रतियोगितामै दौडने सोचेका थिएनन् । स्कुलमा भर्ना भए । राजाको जन्मोत्सवमा दौडिँदा पहिलो नै भए । वीरेन्द्र सिल्डमा दौडिए, यसमा पनि पहिलो भए ।


उनको पाइला झनै छिटो चल्न थाले । दाङमा ०४१ सालमा भएको राष्ट्रिय एथलेटिम्स च्याम्पियनसिपमा खाली खुट्टै दौडिएर दुई कांस्यपदक जिते, जुन कर्णाली अञ्चलका लागि ऐतिहासिक सफलता बन्यो । २०४३ सालमा वीरगन्जमा भएको तेस्रो बृहत् राष्ट्रिय खेलकुदमा कर्णालीका १७२ खेलाडी सहभागी थिए । त्यसमध्ये पदक जित्ने एक्लो खेलाडी उनै बने ।


दुईपल्ट ओलम्पिक (सोल १९८८ र बार्सिलोना १९९२) मा देशको प्रतिनित्धि गरे । ५ हजार मिटर दौडा डिप्लोमा प्रमाणपत्र हात पारे भने म्याराथनमा ११० धावकमध्ये ७० औं स्थानमा रहे । एसियन गेम्स (सोल १९८६ र बेइजिङ १९९०) र एसियन एथलेटिक्स च्याम्पियनसिप सिंगापुर र जकार्ता) मा दुईपल्टै दौडिए । ३ हजार, ५ हजार र १० हजार मिटरमा राष्ट्रिय कीर्तिमान बनाए । दक्षिण एसियाली महासंघीय खेलकुद (सार्क गेम्स १९८७ कोलकाता) मा ५ हजार मिटरमा कांस्य जितेका उनले राष्ट्रिय प्रतियोगितामा ११ स्वर्ण जिते । २०४४–४५ मा उत्कृष्ट खेलाडीको सुनको मेडल पनि थापे ।


जुम्ला बाहिर दौडन थालेदेखि निरन्तर कर्णालीको अघोषित दूत रहेका यी लामो दूरीका धावक करिअरको अन्त्यतिर उकाली–ओरालीको साहसिक दौडतिर लागे । समुद्री सतहबाट ५,३०० मिटरको उचाइबाट सुरु हुने एभरेस्ट म्याराथन तीनपल्ट जिते । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाए ।


सरकारबाट कीर्तिमय राष्ट्रदीप र प्रबल जनसेवाश्रीबाट सम्मानित उनले खेलाडी जीवनबाट संन्यास लिएपछि आफूजस्तै धावक उत्पादनका लागि जुम्लामै प्रशिक्षण दिन थाले । विश्वरुपा बुढा, दुर्गा बुढा, सुनमाया बुढा, रेजिना भण्डारी, पूर्णलक्ष्मी नेउपाने, विष्णु बुढाका गुरु उनै हुन् । हरि रोकाय स्पोर्ट्स एकेडेमीमा अहिले पनि नियमित प्रशिक्षण गर्ने २०–२५ खेलाडी छन् । भन्छन्, ‘उनीहरूको पाइला न हिउँले रोकिन्छ न पानीले । सातै दिन सिकाउँछु ।’ पैसाको अभावमा एकेडेमीलाई ट्रेनिङ सेन्टरभन्दा माथि उठाउन भने सकेका छैनन् ।


२०५२ सालदेखि राष्ट्रिय खेलकुद परिषदा प्रशिक्षक रहेका उनी जुम्लामै खेलाडीलाई प्रशिक्षण दिन्छन् । गत वर्ष असारमा उनी १९ दिन राजधानीको अस्पतालमा थिए तर जुम्लामा उनका चेलाहरूको पाइला रोकिएन । उनी मोबाइलबाटै निर्देशन दिन्थे, त्यसैअनुसार चेलाहरू दौडिन्थे ।


जुम्लादेखि रारा आउजाउ गर्न सामान्यत चार दिन लाग्छ । तर उनी एक दिनमै आउजाउ गर्थे । त्यसैले हुनसक्छ उनलाई कर्णालीको चरा उपनाम दिइएको छ । हिउँचितुवा त एभरेस्ट म्याराथनको सफलताले दिएको उपाधि नै हो । गत वर्षको लामो अस्पताल बसाइपछि उनको गोडाको गति सुस्त भएको छ । सामान्य हिँड्डुल मात्रै गर्छन्, आफैं दौडन छाडेका छन् । तर चेलाहरूलाई दौडाउने जोस भने घटेको छैन ।


जिन्दगी दौडमै बिताइरहेका उनले जुम्लामै रहेर पनि एक छोरालाई पाइलट बनाए, अर्कोलाई रेडियोलोजिस्ट । मनग्गे दाम कमाउन नसके पनि उनी दौडमा लागेर ख्याति कमाएकोमा दंग छन् । मोफसल, त्यो पनि दुर्गममा रहेर चार दशकयता खेलकुदमा निरन्तर सक्रिय रहेका उनको एउटै सपना छ, जुम्लामा हाइअल्टिच्युड ट्रेनिङ सेन्टर खोल्ने । भन्छन्, ‘यहाँ हाइअल्टिच्युड ट्रेनिङ गरेमा साफ गेम्समा सजिलै पदक जित्न सक्छौं ।’ यो सपना साकार पार्नको लागि उनले सरकारसँग आशा गरेका छन् ।


चराजस्तै उड्न नसके पनि दौडको पाइलैपिच्छे जमिन छाड्ने प्रयास गर्दै उनी सँधै सपनाको पछि लागिरहेका छन् । यिनै ५३ वर्षीय (खासमा ५८) कर्णालीका चरा हुन्, हरि बहादुर रोकाय ।


रोकाय यसअघि २०६४ सालमा स्पेसल अवार्डबाट सम्मानित भएका थिए । बिमारीबाट फर्किएर प्रशिक्षणमा व्यस्त हुन थालेका हरिले खेलाडी तथा प्रशिक्षकका लागि स्वास्थ्यको ग्यारेन्टी हुनुपर्ने महसुस आफू बिमारी हुँदा गरेको भन्दै कोष बनाएर खेलाडी प्रशिक्षकको संरक्षण गर्नुपर्ने धारणा राखे । ‘हामीले बाँचुन्जेल देशका लागि दिने हो, तर देशले पनि हाम्रो हेरचाह त्यहीअनुसार गर्नुपर्छ भनेको हुँ, सक्नेलाई समस्या हुँदैन, गरिब जनताका खेलाडी छोराछोरीका लागि खर्चको जोहो कसले गरिदिने ? सम्बन्धित निकायको ध्यान जाओस्,’ अवार्ड पाएपछि हरिबहादुरले भावुक हुँदै भने ।





प्रकाशित : असार १७, २०७६ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?