कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विक्रम बेलायतमा बिन्दास

नवीन पोखरेल

(लन्डन) — विदेशका दर्जनौं मुलुक घुमे पनि फुटबलर विक्रम लामालाई बेलायत बेग्लै अनुभूति भएको छ । ‘अरु बेला टिमसँग खेल खेल्न गएको हुन्थें । प्रशिक्षक र अफिसियलका अगाडि स्वतन्त्र हुन मिल्दैनथ्यो’, बुधबार साँझ व्यक्तिगत भ्रमणका लागि लन्डन उत्रिएका विक्रमले कान्तिपुरसँग भने, ‘अनुशासनभन्दा यसपल्ट बिन्दास छ । जता घुमे पनि, भेटे पनि कसैको रोकतोक हुने छैन ।’ 

विक्रम बेलायतमा बिन्दास

यो होइन एक्लै भएर उनले बाटो बिराउने छन् । सोहोतिर टहलिने छन् । बरु फुर्सदिलो समय विभिन्न इंग्लिस क्लब र पदाधिकारी भेट्ने, नेपाली समुदायसँग साक्षात्कार गर्ने र लन्डनका केही ऐतिहासिक धरोहर अवलोकन उनको योजना छ ।


नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायत च्याप्टरका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीको पहलमा पहिलोपल्ट बेलायत आएका थ्रीस्टार क्लबका कप्तान विक्रम फिजियोथेरापी र खेल अभ्यास गर्ने योजनामा पनि छन् । नेपाली फुटबलमा उत्कृष्ट मिडफिल्डर मानिने उनी खुट्टाको चोटका कारण केही समय थलिएका थिए । २०७४ को फागुनमा धरानको बुढासुब्बा गोल्डकपमा खेल्दा घाइते हुँदा उनी झन्डै १ वर्ष थलिएका थिए ।


तीन महिनाअघि कुवेतमा कुवेतसँगको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलबाट उनले पुनरागमन गरेका हुन् । ‘राम्रो ठाउँ आएका बेला खुट्टाको फलोअप पनि गर्ने सोचेको छु’, उनले सुनाए, ‘फुटबलको जननी देशमा आउँदा यहाँका क्लब अवलोकन र अभ्यासका लागि कुरा भइरहेको छ । बेलायतको तीन साता बसाइ रचनात्मक काममा खर्चने छु ।’


आउँदो वर्ष ३० मे, २०२० का दिन इंग्ल्यान्ड सी टिम र नेपालको राष्ट्रिय फुटबल टिमबीच अल्डरसट टाउन फुटबल क्लबमा मैत्रीपूर्ण खेल हुने घोषणा स्वागतयोग्य भएको उनले बताए ।


खेलाडी संघ बेलायत र एनआरएनए यूकेले विक्रमसँग साक्षात्कार कार्यक्रम तय गरिसकेको अध्यक्ष क्षेत्रीले जनाए । विक्रम २०१२ देखि राष्ट्रिय फुटबल टोलीसँग निरन्तर आबद्ध छन् । नेपालले २०१६ मा १२ औं दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण जित्दा उनी महत्त्वपूर्ण खेलाडी थिए । उपकप्तानको जिम्मेवारी निभाउँदै उनले नेपाललाई फुटबलमा २३ वर्षपछि स्वर्ण जिताउन योगदान गरेका थिए । २०१६ मै बंगलादेशमा भएको बंगबन्धु गोल्डकप र मलेसियामा आयोजित सोलिडारिटी कप विजेता नेपाली टोलीमा पनि विक्रम उपकप्तान थिए ।

प्रकाशित : असार २०, २०७६ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?