३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सिलवाल सदस्यसचिव बन्दै

कुशल तिमल्सिना

काठमाडौँ — सबै यथावत् रहेमा, सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवको जिम्मेवारी नेपाल क्रिकेट संघको विवादित तदर्थ समितिका पूर्वअध्यक्ष रमेश सिलवालले पाउँदै छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रीस्तरीय निर्णयबाट उनलाई आगामी चार वर्षका लागि खेलकुदको बागडोर सम्हाल्ने जिम्मेवारी दिने तयारी भएको छ । 

सिलवाल सदस्यसचिव बन्दै

खेलकुद ऐनअनुसार राखेप सदस्यसचिवका लागि पहिले बोर्ड सदस्य हुनुपर्छ । कुनै पनि खेल संघमा नरहेका सिलवाल भलिबल संघको प्रतिनिधिको हैसियतमा सदस्यसचिवका लागि योग्य बन्दै छन् । भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले सिलवाललाई संघको प्रतिनिधिका रूपमा राखेप बोर्ड सदस्यका लागि आइतबार सिफारिस गरिएको जानकारी दिए । खेल संघको प्रतिनिधिका रूपमा राखेप बोर्ड सदस्य बनेका पेन्टाथोलन संघका राजेन्द्र श्रेष्ठको कार्यकाल सकिएपछि रिक्त स्थानमा सिलवालको नियुक्ति हुन लागेको हो ।


सामान्यतः सदस्यसचिवको नियुक्ति राखेप अध्यक्षसमेत रहेका खेलकुदमन्त्रीको मन्त्रालयस्तरीय निर्णयबाट हुन्छ । खेलकुद मन्त्रालयले भने उनको नियुक्तिको तयारीबारे पुष्टि गरेको छैन । ‘सदस्यसचिवका लागि कुनै अमूक नाम आइसकेको छैन । तर भोलि (सोमबार) सम्ममा सदस्यसचिव नियुक्ति हुनेछ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘सञ्चारमाध्यममा आएजस्तो सदस्यसचिवको नियुक्ति मन्त्रिपरिषद् बैठकबाट हुनुपर्दैन । यो मन्त्रालयले गर्ने निर्णय मन्त्रिपरिषद्मै लैजाने भए पनि अहिलेसम्म त्यो फाइल तयार गरिएको छैन । आर्थिक वर्षको अन्त्य हुन लागेको र राखेपमा धेरै फाइलहरू अड्केका कारण सोमबार नै सदस्य सचिव नियुक्ति हुन्छ ।’


केशवकुमार विष्टको चारवर्षे कार्यकाल असार ९ गते समाप्त भएपछि नयाँ सदस्यसचिवका लागि स्वयं केशवकुमार विष्ट, नेपाल भलिबल संघका पूर्वअध्यक्ष दानबहादुर तामाङ, सत्तारूढ नेकपा निकट नेपाल खेलकुद महासंघका उपसंयोजक शिव कोइरालालगायत आकांक्षीलाई पछि पार्दै प्रधानमन्त्री केपी ओलीनिकट मानिएका सिलवालले जिम्मेवारी पाउन लागेका हुन् ।


राजधानीको गोल्डेनगेट इन्टरनेसनल कलेजका सञ्चालन सिलवालले नेपाल क्रिकेट संघ क्यानबाट खेलकुदमा प्रवेश गरेका हुन् । २०६३ सालमा विनयराज पाण्डेको अध्यक्षतामा रहेको क्यान कार्यसमितिमा उनी सदस्य थिए । त्यतिबेला उनले क्षेत्र नम्बर २ वीरगन्जको संयोजकको जिम्मेवारी पनि सम्हालेका थिए ।


अध्यक्ष सिलवालको कलेजले टवान्टी–२० क्रिकेटको फ्रेन्चाइज टिममा लगानी गरिरहेको छ । धनगढी प्रिमियर लिग (डीपीएल) मा काठमाडौं गोल्डेन्सको नामको टिममा उनकै लगानी छ । राष्ट्रिय क्रिकेटरहरूलाई गोल्डेनगेट कलेजले छात्रवृत्तिको व्यवस्था पनि गरेको छ । नेपाल क्रिकेट संघको साधारणसभामार्फत चयन गरिएको चतुरबहादुर चन्द नेतृत्वको कार्यसमितिलाई मान्यता नदिएर २०७२ सालमा राखेपले क्यानको तदर्थ समिथि गठन गर्दा सिलवाललाई संयोजकको जिम्मेवारी दिइएको थियो । चन्द नेतृत्वको क्यानले सर्वोच्चमा मुद्दा दायर गरेपछि त्यो तदर्थ समितिले कुनै काम गर्न पाएन । अहिलेसम्म समिति भंग गरिएको पनि छैन । शैक्षिक क्षेत्रको स्थापित नाम भए पनि सिलवाल खेलकुदसँग पनि लामो समयदेखि नजिक छन् । माध्यमिक विद्यालय एसोसिएसनका अध्यक्ष सिलवालले अनौपचारिक कुराकानीहरूमा खेलकुदमा रहेको भ्रष्टाचार अन्त्य हुनुपर्ने बताउँदै आएका थिए । अहिले उनी आफ्नो सोच कार्यान्वयन गर्ने तहमा पुग्न लागेका छन् ।


त्योभन्दा पहिले परिषद्को सदस्यसचिवका रूपमा सिलवालको मुख्य चुनौती १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सफल आयोजना नै हो । मंसिर १५ देखि २७ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुने तय भएको साग खेलकुद यसअघि २ पल्ट सरिसकेको छ । दक्षिण एसियाली खेलकुदको महामेलाको मिति नजिकिँदै जाँदा यसका लागि ठोष रूपमा कुनै काम सम्पन्न भएका छैनन् ।


प्रतियोगिताको मुख्य खेल स्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र पोखरा रंगशालाको पुनर्निर्माणको काम सम्पन्न भइसकेको छैन । दशरथ रंगशाला साउन अन्तिमसम्ममा तयार हुने भनिए पनि पोखरा रंगशालामा धेरै काम हुन बाँकी छ । सातदोबाटोको पौडी पोखरी, च्यासल रंगशालालगायत अन्य पूर्वाधारहरू निर्माणका क्रममा छन् र ती सबै मंसिरसम्ममा सम्पन्न भइसक्नेमा शंका गर्ने ठाउँ प्रशस्त छ ।


पूर्वाधारबाहेक तयारीका रूपमा अहिलेसम्म १४ खेलको मात्र बन्द प्रशिक्षण सुरु भएको छ । अरू खेलका साथै वैदेशिक प्रशिक्षणको तयारी पनि नयाँ सदस्यसचिवको आगमनमा दुई साता ढिला भएका कारण रोकिएको छ । ‘२०५५ सालमा नेपालमै भएको आठौं साग खेलकुदमा हामीले ९ महिना बन्द प्रशिक्षणको तयारी पाएका थियौं, त्यसैले राम्रो नतिजा आएको थियो । अहिले प्रतियोगिताको ४ महिना बाँकी हुँदासमेत सबै खेलका खेलाडीले बन्द प्रशिक्षणको सुविधा पाएका छैनन्,’ आठौं सागमा कराँतेबाट स्वर्ण जितेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले भने, ‘तयारीमा ध्यान नदिने हो भने नतिजामात्र खोजेर हुँदैन ।’


त्यसबाहेक साग खेलकुद मूल समारोह समितिको बैठक नियमित बस्न सकिरहेको छैन । नेपालको सार्वजनिक खरिदको झन्झटिलो प्रणालीका कारण खेलकुदका लागि आवश्यक सामग्री खरिदमा लफडा हुने निश्चित छ । ५ अर्ब २५ करोडको बजेट अनुमान गरिए पनि विनियोजन र निकाशा भएको छैन । प्रतियोगिताको कार्यविधि नै अहिलेसम्म बनिसकेको छैन । यी सबै तयारी चार महिनामा सम्पन्न गरी १३ औं साग सम्पन्न गर्नु सिलवालको पहिलो चुनौती हो ।

प्रकाशित : असार २३, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?