उपाधि जित्दै नेपाल एसीसी यू–१९ एसिया कपमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जितेको छ । मलेसियामा मंगलबार भएको फाइनलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्‍यो । 

नेपालले टस जितेपछि ब्याटिङमा आएको हङकङ क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा ४३.१ ओभरमा ९५ रनमा अलआउट भयो। जवाफमा नेपालले १६.१ ओभरमै लक्ष्य पुरा गर्‍यो।

नेपालले २०१७ को पछिल्लो संस्करण जित्दा पनि मलेसियामै भएको फाइनलमा हङकङलाई ५ विकेटले पराजित गरेको थियो। उपाधिसँगैं नेपालले अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा स्थान पक्का गरेको छ। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएई र कुवेतले प्रतिस्पर्धा गर्नेछन्।

नेपाललाई विजय दिलाउनेक्रममा पवन सर्राफले ३९ रन बनाए। रित गौतम (१३) सँग पहिलो विकेटमा ७ ओभर भित्र ५२ रनको साझेदारी गरेका पवनले ३६ बल खेली ५ चौका र १ छक्का प्रहार गरे। खडकबहादुर बोहरा ८ र कप्तान रोहित पौडेल १२ रनमा आउट भए। भिम सार्की ८ रन बनाई अविजित रहे।

स्पिनर सागर ढकालले ५ विकेट लिएर हङकङलाई धरारायी बनाएका थिए। उनले कुल १० ओभरमा ५ मेडन राख्दै १८ रन खर्चे। अन्तिम ओभरमा उनले ९ रन खर्चेका थिए। सागर खेलको पहिलो ओभर नै बलिङ लिएर आएका थिए। उनले आफ्नो पहिलो दुई ओभरमा ओपनर नसरुल्ला राना र राहुल शर्मालाई आउट गर्दा हङकङले बिना रन दुई विकेट गुमाइसकेको थियो।

सागरसँगैं आएका ओपनिङ बलर कमलसिंह ऐरीले ३ विकेट लिए। तीब्र बलर कमलले सोक्रममा ८ ओभरमा २ मेडन राख्दै २३ रन खर्चे। कुशल मल्ल र तिलकराज भण्डारीले १–१ विकेट लिए।

हङकङबाट कप्तान आदित गोरावाराले २४, ओपनर मार्क चल्लुले १९ र रौनक कपुरले १२ रन बनाउनु बाहेक अन्य कसैले दोहोरो स्कोर बनाउन सकेका थिएनन्। नेपालले अतिरिक्तमा १७ रन दिएको थियो, त्यसमा १६ वाइड थियो।

प्रकाशित : असार २४, २०७६ १२:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संसद स्थगित, १ बजे दोस्रो बैठक बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्लाही घटनालाई लिएर विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद अवरुद्ध गरेका छन् । मंगलबारको बैठकमा सरकारको तर्फबाट कुमार पौडेल र सरोजनारायण यादवको मृत्युलाई लिएर गृहमन्त्रीले  दिएको जवाफ प्रष्ट नभएको भन्दै प्रतिपक्षी सांसदले संसदीय छानविन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गरेका हुन् ।

सर्लाहीमा भएको भनिएको दोहोरो भिडन्तमा नेत्रविक्रम चन्द समूहका नेता कुमार पौडेलको मृत्यु तथा प्रहरीसँग भएको झडपमा सरोजनारायण यादवको मृत्युलाई लिएर दुवै दलले सरकारको जवाफ मागेका थिए।

मंगलबारको बैठकमा संसदमा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ पनि दिए। तर गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको प्रतिपक्षी सांसदको भनाइ थियो। सभामुखले संसदमा भएका दलहरुसँग परामर्श गरेर निर्णय लिने बताएपछि दुवै दलका सांसदहरुले रोष्टम घेराउ गरे। संसद बैठक १५ मिनेटका लागि स्थगित भयो।

प्रकाशित : असार २४, २०७६ १२:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT