२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड विश्वकपको फाइनलमा

काठमाडौँ — भारतलाई १८ रनले पराजित गरी न्यूजिल्यान्ड एकदिवशीय विश्वकपको फाइनलमा प्रवेश गरेको । उपाधिका लागि न्यूजिल्यान्डले इंग्ल्यान्ड र अस्ट्रेलियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार खेल्नेछ ।

भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड विश्वकपको फाइनलमा

दुईपटकको च्याम्पियन भारतले लिग चरणमा एक खेलमात्र हारेको थियो । अंक तालिकाको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको भारतको सशक्त ब्याटिङ पंक्ति यसरी ध्वस्त हुन्छ भन्ने कमैले सोचेका थिए ।

यो हारसँगै विश्वकपकै मुख्य दावेदारमध्येको एक भारतको यात्रा सेमिफाइनलमै समाप्त भएको छ । अघिल्लो संस्करणमा पनि भारत फाइनल पुग्न असफल भएको थियो । न्यूजिल्यान्ड भने फाइनलमा चीर प्रतिद्वन्द्वी अस्ट्रेलियासँग पराजित भएको थियो ।

म्यान्चेस्टरको ओल्ड ट्राफोड मैदानमा २ सय ४० रनको लक्ष्य पछ्याएको भारतको शीर्ष क्रम ध्वस्त हुँदा इनिङ्सको ३ बल बाँकी छँदै २ सय २१ रनमा अलआउट भयो । पछिल्लो खेलमा सतक प्रहार गरेका भारतीय ओपनरहरु लोकेस राहुल र रोहित शर्मा समान १ रनमै आउट भएका थिए । कप्तान विराट कोहलीले पनि १ रनमात्र बनाउन सके । दिनेश कार्तिक ६ रन बनाएर आउट हुँदा १० ओभरमा भारत २४–४ को स्थितिमा पुगिसकेको थियो ।

ऋषभ पन्त र हार्दीक पन्ड्याले ४७ रनको साझेदारी गरी इनिङ्स उकास्ने प्रयास गरे पनि २२.५ ओभरमा पन्त र ३०.३ ओभरमा पन्ड्या समान ३२ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि भारत ९२–६ को दयनीय अवस्थामा पुगेको थियो ।

सातौं विकेटका लागि पूर्व कप्तान महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले १ सय १६ रनको साझेदारी गरी भारतलाई जितको आशा देखाएका थिए । भारतलाई जितका लागि ३२ रन आवश्यक हुँदा ७७ रन बनाएर खेलिरहेका जडेजा ट्रेन्ट बोल्टको बलमा लङ अफ क्षेत्रमा कप्तान केन विलियमसनको हातबाट क्याचआउट भए ।

जडेजाले ४ चौका र ४ छक्का प्रहार गरे । अर्को ओभरमा धोनी पनि रनआउटको शिकार बनेपछि भारतको आशा समाप्त भयो । लोकी फर्गुसनको बलमा २ रन लिने प्रयासमा रहेका धोनीलाई मार्टिन गुप्टिलले रनआउट गरेका थिए ।

अन्तिम क्रमका ३ ब्याट्सम्यान सस्तैमा आउट भए । न्यूजिल्यान्डका म्याट हेनरीले शीर्ष क्रमका ३ ब्याट्सम्यानलाई आउट गरेपछि भारत मध्यम लक्ष्य पछ्याउन असमर्थ रहेको हो । ट्रेन्ट बोल्ड र मिचेल सान्टनरले पनि २/२ विकेट लिए ।

वर्षाका कारण २ दिन लगाएर खेलिएको खेलमा टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले मंगलबार ४६.१ ओभरमा २ सय ११ रन बनाएको थियो । म्यान्चेस्टरमा वर्षा नरोकिएपछि बुधबार बाँकी खेल खेलाइएको हो । न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३९ रनको योगफल खडा गरेको थियो ।

न्यूजिल्यान्डका मध्यक्रमका ब्याट्सम्यान कप्तान केन विलियमसन ६७ र रस टेलरले ७४ रन बनाएका थिए । भारतका भूवनेश्वर कुमारले ३ विकेट लिए ।


सच्याइएको : भारत १८ रनले पराजित हुनुपर्नेमा भुलवश अन्यथा हुन गएको सच्याएको छ । यसबाट पाठकमा पर्न गएको भ्रम प्रति हामी क्षमापार्थी छौं ।

प्रकाशित : असार २५, २०७६ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?