कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सेरेना उपाधितर्फ केन्द्रित

विम्बल्डन ओपन
(एएफपी)

लन्डन — सेरेना विलियम्स बिनापीडा राम्रो अवस्थामा रहेकाले विम्बल्डन ओपनको उपाधि जित्न शतप्रतिशत केन्द्रित रहेको उनका प्रशिक्षक प्याट्रिक मोउरातोग्लोउले बुधबार बताएका छन् । बच्चा जन्माएपछि ३७ वर्षीया सेरेना कडा मिहिनेत गर्दै पुनरागमन गरिरहेकी छन् ।

सेरेना उपाधितर्फ केन्द्रित

थुप्रै चोटको समस्याबाट गुज्रिएकी उनी प्रशिक्षकका अनुसार मार्गरेट कोर्टको कीर्तिमान २४ ग्रान्डस्लाम उपाधि बराबरी गर्ने लक्ष्यमा रहेकी छन् । अमेरिकी खेलाडीको ‘ट्रेडमार्क’ शैलीको खेल चाखलाग्दो रूपमा अर्को तहमा फर्किएको छ । उनले फेरि पनि आफ्नो लय समातेको प्रशिक्षकले बताए ।


११ औं वरीयताकी सेरेनाले सेमिफाइनलमा बिहीबार ५४ औं विश्व वरीयताकी चेक गणतन्त्रकी बारबोरा स्ट्रेकोभाको सामना गर्नेछिन् । ‘यो क्षणमा उनी राम्रो अवस्थामा छिन् । उनी खुसी छन्,’ प्याट्रिकले भने, ‘उनका पति यहाँ छन् । उनका छोरी यहाँ छिन् । उनी अहिले तीन साताका लागि पीडारहित अवस्थामा छिन् ।’


‘हरेक दिन पीडामा केन्द्रित हुँदा प्रतियोगितामा तयारी गर्नका लागि धेरै कठिन हुन्छ,’ प्रशिक्षक प्याट्रिकले भने, ‘पीडासहित प्रतिस्पर्धा गरेको अवस्थामा खेलमा केन्द्रित हुन गाह्रो हुन्छ किनभने पीडित भएको अवस्थामा हुन्छ । अब अवस्थामा फरक छ । जब उनले खेलिरहेकी हुन्छिन्, त्यस बेला उनी खेल र जितप्रति शतप्रतिशत केन्द्रित भइरहेकी हुन्छिन् । उनले आफ्नो स्तर आवश्यक भएको बेला उकासेकी छन् । त्यो उनको ट्रेडमार्क हो । उनी फर्किएकी छिन् । त्यसैले सबथोक सकारात्मक छ ।’


४९ वर्षीय यी ग्रिक–फ्रेन्च प्रशिक्षकले सेरेनासँग सन् २०१२ यता निरन्तर सहकार्य गरिरहेका छन् । यो सहकार्यले अमेरिकी खेलाडीको ग्रान्डस्लामको सिंगल्समा २३ उपाधिमध्ये १० वटा हात पारेको छ । अस्ट्रेलियाली महान् खेलाडी कोर्टले सन् १९६० देखि १९७३ सम्मको अवधिमा २४ ग्रान्डस्लाम जितेकी थिइन् ।


प्याट्रिकले सेरेना सुरुबाटै बिम्बल्डन जित्दै कोर्टको सफलतालाई उछिन्नेमा केन्द्रित भएकी बताएका छन् । ‘त्यसैका लागि उनी बच्चा जन्माएर स्वास्थ्यमा थुप्रै समस्या बाबजुद पनि टेनिस खेल्न फर्किएकी हुन् । उनी जसरी ऊर्जा लगाएकी छन्, यस्तो मैले कहिल्यै देखेको थिएन । त्यो स्तरमा फर्किन उनले गरेको कठिन मिहिनेतबारे तपाईलाई कुनै आइडिया छैन । उनी त्यसैका लागि फर्किएकी हुन् । यो उनका लागि सम्भवत् धेरै हुनेछ, जब सफलता पाउने छिन् ।’


सातपल्टकी बिम्बल्डन च्याम्पियन सेरेनाले घुँडाको समस्याको कारण फ्रेन्च ओपन गुमाएकी थिइन् । त्यसका लागि उनले पेरिसका चिकित्सकसँग निश्चित गरेकी थिइन् । प्रशिक्षकले उनलाई खेलको अभ्यास कम भएर पनि बिम्बल्डनका लागि तयार गरेको हुनसक्छ ।


‘उनी राम्रो तयारीमै रहेकी भए पनि उनले पहिलो खेलमा राम्रो टेनिस खेलेकी छैनन् । उनी धेरै समय लय समात्नै संघर्षरत थिइन्,’ प्रतिद्वन्द्वीहरू बाहिरिइरहेकोबारे उनले भने, ‘हरेक खेलपछि मलाई त्यो थाह छ । उनी राम्रोमाथि राम्रो भइरहेकी छन् ।’


बिहीबारै अर्को सेमिफाइनलमा सातौं वरीयताकी सिमोना हालेपले आठौं स्थानकी एलिना स्भितोलिनाविरुद्ध प्रतिस्पर्धा गर्दै छिन् ।


प्रकाशित : असार २६, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?