कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बजेट सक्न बर्खामा मुख्यमन्त्री कप

सहिद मैदान जलमग्न भएपछि धरान सारियो
विनोद भण्डारी

(विराटनगर) — बजेट सक्न मुलुकभर असारे विकासका काम धमाधम भइरहँदा आलोचना बढिरहेको छ । प्रदेश १ मा पनि बजेट सिध्याउनकै लागि असारे विकास मात्र नभएर खेलकुदमा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता भइरहेको छ । 

बजेट सक्न बर्खामा मुख्यमन्त्री कप

प्रतियोगिताको लागि प्रदेश सरकारले १ करोड र अखिल नेपाल फुटवल संघ (एन्फा) ले ३३ लाख रुपैयाँ आयोजक समितिलाई दिएको छ । आयोजक समितिले यो बजेट असार मसान्तसम्म सिध्याउनै पर्नेछ ।

बजेट सिध्याउनै आयोजकले असार १६ देखि प्रदेशका १४ जिल्लाका १४ क्लबबीच पहिलो चरणको लिग आयोजना गर्‍यो । गाईघाटमा असार १६, धरानमा असार १७ र इलाममा असार १८ देखि पहिलो चरणको लिग सकेर दोस्रो चरणको लिगका लागि ६ टिम छनोट गरेको छ ।

दोस्रो चरणका लागि छनोट भएका धरान फुटबल क्लब सुनसरी, बौद्धिक विकास समाज समिति धनकुटा, बेलबारी फुटबल क्लब मोरङ, सैनिक युथ क्लव झापा, बाक्सिला फुटबल क्लव खोटाङ र रेडहर्स फुटबल क्लब इलामबीचको सुपर सिक्स बिहीबारदेखि विराटनगरस्थित सहिद रंगशालामा गर्ने आयोजकको तयारी थियो ।

तर मंगलबार रातिको भारी वर्षाले सहिद रंगशालामा बुधबार एक फिटभन्दा बढी पानी जमेपछि शुक्रबारदेखि धरानमा खेलाइने निर्णय आयोजकले गरेको छ । सहिद मैदानमा खेल सञ्चालन गर्न आयोजकले करिब डेढ लाख रुपैयाँ मैदान मर्मतमा खर्च गरेको थियो ।

प्रदेश सरकारले कार्यविधि ढिलो तयार गर्दा प्रतियोगिता मध्य असारमा गर्नुपरेको आयोजक समितिका अध्यक्ष एवं एन्फाका प्रवक्ता किरण राईको भनाइ छ ।

‘प्रतियोगिता नगर्दा बजेट नै फ्रिज हुने भयो,’ प्रवक्ता राईले कान्तिपुरसँग भने, ‘त्यसैले बजेट फ्रिज हुन नदिन प्रतिकूल मौसममा पनि प्रतियोगिता गर्नैपर्‍यो ।’ मौसमले प्रतियोगितालाई खासै प्रभाव नपारेको राईको दाबी छ ।

‘बर्खा हो पानी पर्छ नै,’ उनले भने, ‘पहिलो चरणको लिगबाट छनोट ६ टिमबीचको लिग विराटनगरमा गर्ने तयारी थियो । तर मैदानमा पानी जमेकाले धरानमा गर्ने निर्णय गरिएको हो ।’ उनले यो प्रतियोगितालाई असारे विकाससँग दाँज्न नमिल्ने बताउँदै प्रतिकूल मौसममा पनि प्रतियोगिता गर्नु खेलकुदमा गौरव विषय भएको बताए ।

उनका अनुसार आगामी वर्षदेखि प्रतियोगिता अनुकूल मौसममा आयोजना गरिने छ । प्रतिकूल मौसमकै कारण यस वर्ष आयोजना गर्ने भनिएको मुख्यमन्त्री अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता भदौ–असोजमा सारिएको छ । राईले भने, ‘पैसा सक्न प्रतियोगिता गरिएको भए मुख्यमन्त्री अन्तर्राष्ट्रिय नकआउट फुटबल पनि अहिले नै हुन्थ्यो त ।’

प्रतियोगिताका लागि प्रदेश सरकारको १ करोड र एन्फाको ३३ लाख बजेटबाट १४ टिमलाई खानबस्न र यातायातका लागि ३३ लाख, टिम तयारी खर्च ७ लाख, १४ टिमलाई १५ थानका दरले बल उपलब्ध गराउँदा ५ लाख, चार स्थानको खेलस्थल मर्मतका लागि १२ लाख, प्रचारप्रसार, स्वयंसेवक परिचालन, आकस्मिक स्वास्थ्य र मसलन्द खर्चमा ५ लाख, पुरस्कारतर्फ २० लाख, रेफ्री र अन्य प्राविधिक परिचालनमा १० लाख, पदाधिकारी यातायात र परिचालनमा ५ लाख र अतिथि सत्कारमा ३ लाख रुपैयाँ विनियोजन गरिएको अध्यक्ष राईले बताए ।

पहिलो चरणको लिग म्याचमा गाईघाटमा मोरङ, खोटाङ, उदयपुर, ओखलढुङगा र सोलुखुम्बु, धरानमा सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा तथा इलाममा झापा, इलाम, पाँचथर र ताप्लेजुङले प्रतिस्पर्धा गरेका थिए ।

पहिलो चरणबाट छनोट ६ टिमबीचको सुपर सिक्सको पहिलो र दोस्रो स्थानमा रहने टिमबीच असार ३१ मा फाइनल गरिने खेलतालिका छ । प्रतियोगितामा सबै विधामा गरी २० लाख रुपैयाँ पुरस्कार वितरण गरिने छ । उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट डिफेन्स, फरवार्ड, गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लिग विजेताले ५ लाख र ४ किलो चाँदीको रनिङ कप जित्ने छन् ।

प्रकाशित : असार २६, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?