३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

परम्परागत प्रतिद्वन्द्वी भिड्दै

(एएफपी)

म्यानचेस्टर — लगातार चार वर्षको योजना र कठिन मिहिनेतको वास्तविक परीक्षा हुने बेला भएको छ, जति बेला इंग्ल्यान्डले विश्वकपको दोस्रो सेमिफाइनलमा बिहीबार अस्ट्रेलियाको सामना गर्नेछ ।

परम्परागत प्रतिद्वन्द्वी भिड्दै

सन् २०१५ को विश्वकपमा इंग्ल्यान्डको खराब प्रदर्शनपछि टिमको एकदिवसीय क्रिकेटप्रतिको सोचमै पुनर्विचार गरिएको थियो र त्यसैअनुसार काम पनि भयो । त्यस क्रममा इंग्ल्यान्डले एकदिवसीयलाई पनि टेस्ट क्रिकेटजत्तिकै महत्त्व दिएको थियो ।


अस्ट्रेलियाली प्रशिक्षक ट्रेभर बेयलिसले इंग्ल्यान्डलाई एकदिवसीय विश्वकपको उपाधि दिन सबैखाले योजना बुनेका हुन् । त्यसको नतिजा आखिरमा राम्रो पनि रह्यो, इंग्ल्यान्ड नम्बर एक टिम बन्यो नै । इयान मोर्गनको नेतृत्वलाई सबैले प्रशंसा पनि गरे । इंग्ल्यान्डको यो उत्थानका प्रमुख विशेषता रहेको छ, आक्रामक रूपमा रन बटुल्ने । इंग्ल्यान्डका लागि अहिले प्रारम्भिक ब्याट्सम्यान जोडी जोनी बेरिस्टो र जेसन रोयले यस्तै प्रदर्शन गरिरहेका छन् ।


इंग्ल्यान्डले आफ्नो सबैभन्दा पुरानो प्रतिद्वन्द्वीलाई हराउने हो भने त्यो जितमै मात्र पनि सीमित हुने छैन, त्यसको धेरै फरक अर्थ हुनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण अधिकार पाएको स्काईले इंग्ल्यान्ड फाइनलमा पुग्छ भने त्यसको प्रसारण बेलायतमा निःशुल्क गर्ने घोषणा गरेको छ ।


क्रिकेटको जन्मथलो इंग्ल्यान्डमै पैसा तिरेर क्रिकेट हेर्नेको संख्या घटेपछि स्काईले यस्तो प्रस्ताव राखेको हो । तय छ इंग्ल्यान्ड फाइनल पुग्यो भने जित इंग्लिस क्रिकेटकै हुनेछ । तर यो काम सजिलो भने हुने छैन । अस्ट्रेलियालाई लिएर एउटा तथ्य के भने यो टिम जति पटक सेमिफाइनल पुगेको छ, सबै अवसरमा विजयी रहेको छ, त्यसो भनेको सात पल्ट ।


त्यसमध्ये एक अवसरमा भने अस्ट्रेलियाले २० वर्षअगाडि एजबास्टनमै भएको खेलमा दक्षिण अफ्रिकासँग टाइ खेलेको थियो । त्यति बेला राम्रो नेट रनरेटका कारण अस्ट्रेलिया फाइनल पुगेको थियो । यसपल्ट समूह चरणमै पनि अस्ट्रेलियाले इंग्ल्यान्डलाई लर्डसमा गत महिना ४६ रनले हराएको थियो ।


त्यस खेलमा जेसन बिहरेन्डफ र माइकल स्टार्कले मिलेर एकापसमा ९ विकेट लिए । कप्तान आरोन फिन्चले शतकीय इनिङ्स खेले अनि इंग्ल्यान्डका बलर अस्ट्रेलियाली ब्याटिङ आक्रमणसामु फिक्का देखिए । त्यस खेलमा खेल्न नपाएका रोय भने संयोगले फेरि इंग्ल्यान्ड टिममा फर्केका छन् । उनले भारत र न्युजिल्यान्डविरुद्ध राम्रो पनि गरेका छन् । अस्ट्रेलियाविरुद्ध एउटा तथ्य खराब पनि छ । यो हो एजबास्टन मैदानमा सन् २००१ यता अस्ट्रेलियाले केही पनि जितेको छैन । टेस्टदेखि ट्वान्टी–२० क्रिकेटसम्म नै ।


यही मैदानमा अस्ट्रेलिया पछिल्लोपल्ट दक्षिण अफ्रिकासँग पनि लिग चरणको खेलमा १० रनले पराजित रहेको थियो । इंग्ल्यान्डलाई एकातर्फ बलिङमा स्टार्कलाई रोक्नुपर्नेछ भने अर्कोतर्फ अस्ट्रेलियाको माथिल्लो क्रमका आक्रामक ब्याटिङ क्रम पनि निस्तेज पार्ने चुनौती हुनेछ । इंग्लिस पेसम्यान लिएम प्लुन्केट भन्छन्, आफ्नो टिम सेमिफाइनल जस्तो ठूलो अवसरमा आफूलाई सिद्ध गर्न तयार छ । उनी दाबी गर्छन्, ‘हामी पहिले इंग्लिस टिम जस्तो होइनौं, हामी वास्तवमै फरक छौं ।’


प्रकाशित : असार २६, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?