मुख्यमन्त्री प्रदेश लिग विवादमा

पहिलो चरणमा म्याच फिक्सिङको आरोप
विनोद भण्डारी

विराटनगर — बजेट सिध्याउन मध्य असारमा भएको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता ‘म्याच फिक्सिङ’ को आशंका र लिग नियमावलीको अंक र स्थान निर्धारणअन्तर्गत नभएको भन्दै उजुरी परेपछि विवादमा तानिएको छ ।

मुख्यमन्त्री प्रदेश लिग विवादमा

समूह चरणमा धनकुटा र संखुवासभा तथा सुनसरी र भोजपुरबीचको खेलमा म्याच फिक्सिङ भएको, लिग नियमावली अंक र स्थान निर्धारणअनुसार आफू सुपर लिगमा पुग्नुपर्ने दाबी गर्दै तेह्रथुमले आयोजक समिति, अखिल नेपाल फुटबल संघ र प्रदेशको सामाजिक विकास मन्त्रालयमा उजुरी दिएपछि प्रतियोगिता विवादमा तानिएको हो ।


तेह्रथुमले धनकुटा र सुनसरीसँगको खेलमा २–२ गोलको बराबरी खेल्दै भोजपुर र संखुवासभालाई पराजित गरेर ८ अंक बटुलेर सुपर लिगको बाटो सुरक्षित गरेको थियो । तर सुनसरीले अन्तिम लिगमा भोजपुरलाई अप्रत्यासित ९–१ र धनकुटाले संखुवासभालाई ७–२ गोलले पराजित गर्दै तेह्रथुमसँग समान ८ अंक बनाएपछि आयोजकले तेह्रथुमलाई पन्छाउँदै धनकुटा र सुनसरीलाई सुपर लिगमा छनोट गरेको थियो ।


लिग नियमावलीको अंक र स्थान निर्धारणअन्तर्गत ५ को ‘ङ’ मा यदि दुई वा त्यसभन्दा बढी टीमबीच अंक बराबरी भएको खण्डमा बराबरी भएको टिमबीच बढी गोल गर्ने टोलीले अर्को चरणमा प्रवेश पाउने उल्लेख छ । यसअन्तर्गत तेह्रथुम, सुनसरी र धनकुटाबीच समान ८ अंक भए पनि तीन टिममध्ये तेह्रथुमले ४ गोल गर्दै ४ गोल खाएको भने धनकुटा र सुनसरीले समान ३ गोल गरेर ३ गोल खाएका छन् ।


यसकै आधारमा तेह्रथुम सुपर लिगमा पुग्नुपर्ने थियो । तर त्यो भएन । एन्फाका एक पदाधिकारीले भने जारी प्रतियोगिता एन्फाकै नियमावली मातहतमा रहेर तयारी गरिएको हो । प्रदेश लिग कमिटी अलग्गै भएका कारण नियमावली फरक बनाउन सकिने भए पनि यो प्रतियोगिता एन्फाकै नियमावलीभित्र छ ।


समूह चरण खेलमा तेह्रथुमले धनकुटा र सुनसरीसँग समान २–२ गोलको बराबरी खेल्दा सुनसरी र धनकुटाले १–१ को बराबरीमा खेल टुंग्याएका थिए । समूह चरणको यो विवादपछि आयोजक समितिले लिग नियमावलीको अंक र स्थान निर्धारणअन्तर्गत ५ को ‘ङ’ को प्रावधान नै परिवर्तन गरेर आफनो बचाउ गरेको स्रोतको दाबी छ ।


समूह चरणका ४ लिग खेलमा तेह्रथुमले १२ गोल गरेर ६ गोल बेहोरेको छ । धनकुटाले १४ गोल गरेर ६ गोल र सुनसरीले १५ गोल गरेर ४ गोल बेहोरेको छ । आयोजकले समूह चरणका लिग म्याच उदयपुर, धरान र इलाममा गरेका थिए । धनकुटामा गर्ने भनिएको लिग धरानमा गराइएको थियो । धरानमा सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभाबीच प्रतिस्पर्धा भएको थियो ।


समूह चरणमा धनकुटा र संखुवासभा तथा सुनसरी र भोजपुरबीचको खेलमा म्याच फिक्सिङ भएको आशंका छ । त्यसको छानबिन गरिनुपर्ने र समान ८ अंक भएको तेह्रथुमलाई म्याच फिक्सिङ गरेर सुपर लिगबाट हटाइएको भन्दै जिल्ला खेलकुद विकास समिति तेह्रथुमले एन्फा, आयोजक समिति र प्रदेशको सामाजिक विकास मन्त्रालयमा बिहीवार उजुरी दिएको समितिका अध्यक्ष केशव भट्टराईले बताए ।


उनले भने लिगमा तीन टिमको समान अंक भए पनि आफ्नो टिम गोलअन्तरले दुई टिमभन्दा अगाडि भएकाले लिग नियमावलीअनुसार दोस्रो चरणमा पुग्नुपर्ने स्पष्ट हुँदाहुँदै पनि तेह्रथुमलाई हटाउनु आश्चर्यजनक भएको बताए । तेह्रथुम एन्फाको सदस्य टोली होइन ।


बुधबारसम्म कसैले पनि दाबी विरोध नगरेपछि टेक्निकल समितिले गरेको निर्णयका आधारमा शुक्रबारदेखि सुपर लिग गर्ने तयारी भएको छ । आयोजक समितिका अध्यक्ष तथा एन्फाका प्रवक्ता किरण राईले भने अब परेका दाबी र विरोधले सुपर लिग सुरु गर्नबाट आयोजक पछाडि हट्ने स्थिति नरहेको बताए । उनले तेह्रथुमले आफूलाई बिहीबार दाबी विरोधको उजुरी दिएको स्विकारे ।


आयोजकले सुपर लिगका म्याच विराटनगरमा गराउने तयारी गरेको थियो । तर विराटनगरको सहिद मैदानमा पानी जमेका कारण धरानमा सारेर शुक्रबारदेखि लिग गर्ने तयारी गरेको छ ।


यो प्रतियोगिताका लागि प्रदेश सरकारले १ करोड र एन्फाले ३३ लाख रुपैयाँ आयोजकलाई विनियोजन गरेको छ । आयोजकले यो रकम असार मसान्तपछि फ्रिज हुने भन्दा मध्यअसारमा भए पनि प्रतियोगिता आयोजना गरेको बताएको छ ।

प्रकाशित : असार २७, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?