२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

नयाँ विजेताको पर्खाइ

(एएफपी)

लन्डन — इंग्ल्यान्डले विश्वकपको लर्ड्समा हुने फाइनलमा आइतबार न्युजिल्यान्डको सामना गर्नेछ । यसक्रममा टिमको वर्षौंको योजना एक दिनको खेल परीक्षाबाट गुज्रिने छ । बंगलादेशसँग पराजित हुँदै इंग्ल्यान्ड सन् २०१५ को विश्वकपबाट बाहिरिएपछि कमैले सोचेका थिए, चार वर्षको अन्तरमा यही टिम फाइनल पुग्नेछ ।

नयाँ विजेताको पर्खाइ

कप्तान इयान मोर्गनले ठीकै भनेका छन्, ‘कसैले सन् २०१५ को विश्वकपपछि फाइनल खेल्ने प्रस्ताव राखेको भए, म आफैं पनि हाँस्थें ।’


त्यति बेला हाँस्न नखोज्ने एक जना हुन्थे । ती थिए एन्ड्र्यु स्ट्रस । उनी हुन् इंग्ल्यान्डका पूर्व क्रिकेट निर्देशक । पूर्व कप्तान पनि । उनले इंग्लिस क्रिकेटमा पूर्णतः परिवर्तन गर्न खोजे । सेतो बलको क्रिकेटलाई उत्तिकै महत्त्व दिन खोजे । प्रशिक्षकको जिम्मेवारी पनि सुम्पे अस्ट्रेलियाली ट्रेभर बेलिसको काँधमा । अहिले यसकै नतिजा देखिएको छ मोर्गनको टिममा । एकदिवसीय वरीयताको शीर्षस्थानमा रहेको इंग्ल्यान्डले फाइनल पुग्न एजबास्टनमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई सजिलै हरायो ।


प्रतियोगिताअगाडि इंग्ल्यान्डलाई उपाधिको सबैभन्दा बलियो प्रत्याशी किन भनिएको थियो भनेर त्यो प्रस्ट बर्मिङघममा देखिएको थियो । पेसम्यान जोफ्रा आर्चर र क्रिस वोक्सले अस्ट्रेलियालाई एकसमय ३ विकेटमा १४ रनभित्र खुम्च्याइसकेको थियो । पछि बीचतिर लेग स्पिनर आदिल रसिद घातक रहे । जवाफी इनिङ्समा जेसन रोय र जोनी बेरिस्टोले आक्रामक शतकीय साझेदारी गरे । अहिले एकदिवसीय क्रिकेटमा यी दुई सबैभन्दा सटिक प्रारम्भिक ब्याट्सम्यान जोडी भएका छन् ।

इंग्ल्यान्डले अहिले पस्किरहेको क्रिकेटलाई भयरहित भन्न सुरु भएको छ । सन् २०१५ यता पहिलोपल्ट फाइनल खेल निःशुल्क पूरा इंग्ल्यान्ड टेलिभिजनमा देखाइने भएको छ ।


यसको एउटै उद्देश्य छ, नयाँ पुस्तालाई क्रिकेटप्रति आकर्षित गर्ने । मोर्गनले पनि भनेका छन्, ‘आइतबारको फाइनलबाट हामी भाग्ने छैनौं । यो त अगाडि बढ्ने अवसरमात्र हो ।’ उनको टिमले पछिल्लो समय एकदिवसीय क्रिकेटका विशेषज्ञ टिमका रूपमा पनि आफूलाई स्थापित गरेको छ । आइतबारको फाइनल किन पनि विशेष हुनेछ भने न त इंग्ल्यान्डले यसअघि विश्वकप जितेको छ न न्युजिल्यान्डले नै ।


त्यसैले यसपल्ट नयाँ विजेता अगाडि आउँदै छ । चार वर्षअगाडि सन् २०१५ को संस्करणमा न्युजिल्यान्डले वेलिङ्टनमा भएको खेलमा इंग्ल्यान्डलाई कसरी एकदिवसीय क्रिकेट खेल्नुपर्छ, त्यो देखाएको थियो । त्यस खेलमा इंग्ल्यान्डलाई सुरुमा १ सय २३ रनमा अलआउट पारेको थियो । त्यसयता उसले १२.२ ओभरमा लक्ष्य पछ्याएको थियो ।


‘त्यति बेला हामी निराशाको अन्तिम विन्दूमा पुगेका थियौं,’ मोर्गनले सम्झन्छन्, ‘हाम्रा लागि त्यो वास्तवमै लाजमर्दो हार थियो ।’ त्यसको केही मात्रामा बदला यसपल्ट इंग्ल्यान्डले लिइसकेको छ लिग चरणको खेलमा १ सय १९ रनले पराजित गर्दै । यी सबै खेलको इतिहासले आइतबार हुने फाइनलमा कुनै अर्थ राख्ने छैन । निकै लामो प्रतियोगितामा न्युजिल्यान्डले चाहिएको बेला लय समात्न सक्छ अनि उसको बलिङ आक्रमण पनि सटिक छ ट्रेन्ट बोल्टको नेतृत्वमा ।


ब्याटिङ भने कप्तान केन विलियम्सन र अनुभवी खेलाडी रस टेलरमा निर्भर हुनेछ । भलाद्मी न्युजिल्यान्ड टिममा लुकी फर्गसनजस्ता खेलाडी पनि छन्, जसले सेमिफाइनलमा भारतमाथि १८ रनको जित निकाल्न ठोस सहयोग गरे । बोल्ट र म्याट हेनरीको आक्रमणसामु विश्व क्रिकेटको सबैभन्दा बलियो ब्याटिङ टिम मानिने भारतले ५ रन बनाउने बेलासम्म ३ विकेट गुमाइसकेको थियो । त्यसलाई सुहाउने गरेर न्युजिल्यान्डको फिल्डिङ पनि गतिलो रह्यो ।


त्यस अगाडि बलरलाई मदत गरिरहेको पिचमा विलियम्सन र टेलरले खुबै संघर्ष गर्दै रन बटुले । न्युजिल्यान्डसँग चार वर्षअगाडि सन् २०१५ मै मेलबर्नमा फाइनल खेलेको अनुभव छ । तर इंग्ल्यान्डले सन् १९९२ मा अन्तिमपल्ट फाइनल खेल्दा अहिलेको टिमका अधिकांस खेलाडी जन्मेकै थिएनन् । ‘हामी क्रिकेटका घरमा फाइनल खेल्दै छौ । हामीमात्र होइन, इंग्ल्यान्ड पनि दबाबमा रहनेछ । हाम्रो उद्देश्य फाइनलमा राम्रो खेल्ने र मज्जा लिनेमा केन्द्रित हुनेछ ।’


प्रकाशित : असार २९, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?