मलेसियामाथि नेपालको क्लिन स्विप, दोस्रो खेल ६ रनले जित्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले मलेसियाविरुद्धको दुई टी-२० को सिरिजमा क्लिन स्विप गरेको छ । नेपालले आइतबार दोस्रो खेलमा ६ रनको जित निकाल्यो । यससँगै नेपालले सिरिजमा २–० को अग्रता लियो ।

यसअघि नेपालले शनिबारको पहिलो खेलमा ७ विकटको जित हात पारेको थियो। किनारा ओभल क्रिकेट मैदानमा जितका लागि १ सय ७४ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले १ सय ६७ रन मात्र बनाउन सक्यो।


हारमा पनि मलेसियाले नेपालसामु बलियो चुनौती पेस गरेको थियो। मलेसियाले २० ओभर उपयोग गरेर ७ विकेट गुमाएको थियो। त्यसमा सोमपाल कामीले दुई र सन्दीप लामिछानेले दुई विकेट लिए।


यसअघि नेपालले पहिले ब्याटिङ गर्दै १ सय ७३ रन बनाएको थियो र यो नेपाला लागि ट्वान्टी ट्वान्टी क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर हो। त्यसमा विनोद भण्डारीले विनोद भण्डारीले ५१ रन बनाए।


उनी यसक्रममा नेपालका लागि सर्वाधिक छिटो अर्धशतक पूरा खेलाडी खेलाडी पनि बने। उनले २५ बलको मात्र सामना गरे। त्यसमा उनले ३ चौका र ५ छक्का प्रहार गरे। यस्तै शरद भेषावकरले ४० रनको योगदान दिए।


प्रकाशित : असार २९, २०७६ ११:०८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कौशीमा ‘तीनकुने’

सुशीला तामा‌ङ

काठमाडौँ — दिवंगत कथाकार रमेश विकलले निम्न वर्गीय महिलाको चरित्र चित्रण गर्दै लेखेका थिए, ‘एउटी अवकाशप्राप्त वेश्याको आत्महत्या’ । पुरातन समाजमा महिलालाई हेर्ने विभेदकारी दृष्टिकोण र पुरुषवादी मनोविज्ञान समेटिएको कथामा युवा रंगकर्मी सुलक्षण भारतीले पोषण पाण्डेको ‘भिनाजुको स्वेटर’ र बीएस राईको ‘चम्पा’ मिसाएर नाटकीय संरचनामा ढाले ।

फरक समाज, समय र परिस्थिति भए पनि उस्तै कथाव्यथा र लैंगिक मनोविज्ञान पाइने यी तीन कथा संयोजन ‘तीनकुने’ यतिबेला राजधानीको टेकुस्थित कौशी थिएटरमा मञ्चन भइरहेको छ ।

नाटकमा सबैका आआफ्नै कथा छन् । पुरातन समाज र चिन्तनसित जोडिएका दुःखका पृष्ठभूमि छन् । तिनलाई भुल्नकै लागि सबैले विभिन्न बाटो रोज्छन् । अप्ठ्यारो परिस्थितिसँग जुधेर आत्मसम्मानको खोजी गर्छन् । त्यस क्रममा मानिस कसरी हार्नुपर्ने अवस्था पैदा हुन्छ र यसमा समाज कति जिम्मेवार हुन्छ भन्ने प्रश्न पनि उठाएको छ नाटकले । समाजको चेपुवा पारेका मानिसका कथा भन्दै नाटकले अनेकौं सामाजिक यथार्थलाई प्रस्तुत गर्दै जान्छ ।

मानिसभित्र प्रवेश गरेर उसको मनोवैज्ञानिक पक्षलाई समेत सूक्ष्म रूपमा केलाउने प्रयास गरेको छ नाटकले । महिला पात्रहरू चम्पा (रेनु योगी) र रिता (सृजना अधिकारी) लाई केन्द्रमा राखेर नाटकले नारीमाथि समाजले राख्ने विभेदकारी दृष्टिकोण, उनीहरूको कामको पुरातन विश्लेषणजस्ता सन्दर्भमार्फत नाटकले महिलाको आत्मसम्मानको सवाललाई बलियोसित उजागर गरेको छ । समान गल्तीमा पनि फरकफरक दण्डको व्यवस्था अहिले पनि समाजमा छँदै छ ।

यस्तो परिपाटीप्रति नाटकले व्यंग्य गर्छ । सतिस (सुलक्षण भारती) को घरबाट सुरु भएको नाटकको कथा उनकै घरको पतिपत्नीबीचको ससाना कुराहरूको झगडा, सतिशको व्यस्त लेखकीय जीवन, गर्भवती पत्नी र उनलाई पतिको साथको आशा, दिदीलाई साथ दिन आएकी बहिनी बबिता (रोशनी कार्की) र भिनाजुबीचको घनिष्टताले सतिसकी गर्भवती पत्नीलाई परेको मानसिक प्रभावलाई मनोवैज्ञानिक ढंगमा प्रस्तुत गरिएको छ । गर्भावस्थामा एउटी महिलाको शारीरिक परिवर्तनसँगै मानसिक रूपमा केकस्ता परिवर्तन आउँछन् र त्यस्तो अवस्थामा पतिको साथले कति भूमिका खेल्छ भन्ने पक्षलाई समेत देखाउन खोजेको छ नाटकमा ।

नाटकले चम्पा पात्रमार्फत समाजमा महिला भएर जिउन कति कठिन छ र समाजको अनेकौं लाञ्छना कसरी सहनुपर्छ भन्ने पनि देखाएका छन् । यौनजन्य हिंसामा पुरुषको दोष भए पनि महिला नै कसरी लाञ्छनाको सिकार बन्नुपर्छ भन्ने पाटो पनि नाटक छ । भट्टीमा काम गर्न बस्दा चम्पामाथि साहुनीको पतिले जबरजस्ती गर्दा उनलाई नै दोषी ठहराएर साहुनीले निकालिदिएको दृश्य अर्थपूर्ण लाग्छ । पुरुषलाई शरीर सुम्पेर निःस्वार्थ सेवा गरेको सम्झने कथित वेश्या पात्र रिताको कथा पनि नाटकमा उत्तिकै भावुक लाग्छ । उनी जीवनदेखि असन्तुष्ट रहेको पुरुषलाई आफ्नो शरीर दिएर तृप्त पार्न चाहन्छिन् । उनी भन्छिन्, ‘मेरा पेसामा संकोच किन ? मत सबैलाई शान्ति र सन्तुष्टि दिइरहेको छु ।’ उनी आफ्नो पेसालाई समाजले सम्मान गर्नुपर्ने भन्दै आत्मसम्मानको खोजी क्रममा आफैंलाई अन्त्य गर्छिन् । ‘अहिले पनि समाजमा महिलालाई आत्मसम्मानका साथ जिउन कठिन छ,’ निर्देशक भारतीले भने ।

समाजमा सबैले जस्तोसुकै कर्म गरेर बसे पनि अन्ततः उनीहरू आत्मसम्मानकै खोजीमा हुने कथाकार राईले बताए । उनको कथा ‘चम्पा’ भने ‘हिउँमाझी’ संग्रहबाट लिइएको हो । साउन १२ गतेसम्म नियमित मञ्चन हुने नाटकमा सुलक्षण भारती, सृजना अधिकारी, रेनु योगी, रोशनी कार्की, सविता थापा, सरिता भुजेल, प्रकाश गुरागाईं, निसान खत्री, जयराम ढकाल, सौजन लिम्बू, हीरा हमाल, अरुण पौडेल, प्रकाश बाँस्तोलालगायत कलाकारको अभिनय छ । नाटकमा मञ्च तथा प्रकाश परिकल्पना भारतीले नै गरेका छन् ।

प्रकाशित : असार २९, २०७६ ११:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT