कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाललाई शृंखला

काठमाडौँ — मलेसियासँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला क्लिन स्वीप गरेपछि नेपालले जुलाई २० देखि २८ सम्म सिंगापुरमा हुने आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटका लागि मनोबल उच्च पारेको छ । 

नेपाललाई शृंखला

नेपाल र मलेसिया दुवै सिंगापुरमा हुने प्रतियोगिता तयारीमा छन् । यीबाहेक कुवेत, सिंगापुर र कतार प्रतिस्पर्धी छन् । पहिलो खेलमा ७ विकेटको जित पाएको नेपालले आइतबार दोस्रो खेलमा ६ रनको रोमाञ्चक जित निकाल्यो । शृंखला क्लिन स्वीप गर्ने क्रममा नेपालले ट्वान्टी–२० क्रिकेटमा आफ्नो सर्वाधिक योगफल रक्षा गरेको हो ।


१ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले सुरुआती १० ओभर नेपालमाथि दबाब दियो । पहिलो विकेटमा विरनदीप सिंह र सइद अजिजले ७५ रनको साझेदारी गरेका थिए । ९.४ ओभरमा अविनाश बोहराले २३ रन बनाएर खेलिरहेका सिंहलाई विनोद भण्डारीको हातबाट क्याचआउट गरेपछि मलेसियाको गति सुस्ताएको हो । अर्को ओभरको पहिलो बलमै सोमपाल कामीले अजिजलाई ५० रनको स्कोरमा आउट गरे ।


मलेसियाका सकिफ सरिफ १० र अनवार अरुद्दिन ७ रन बनाएर पेभेलियन फर्किए । १५.५ ओभरमा कप्तान अहमद फाइजलाई सन्दीप लामिछानेले १७ रनको स्कोरमा आउट गरेपछि मलेसिया ११५–५ को स्थितिमा पुगेको थियो । छैटौं नम्बरमा आएका अनिमुल राम्लीले ११ बलमा ३ छक्कासहित २४ रन प्रहार गरेपछि नेपाल खतरामा परेको थियो । कप्तान पारस खड्काले उनलाई सोमपाल कामीको हातबाट क्याचआउट गराए । त्यसअघि राम्लीले पारसको त्यो ओभरमा तीन छक्का प्रहार गरिसकेका थिए ।


मलेसियालाई अन्तिम ओभरमा १४ रन आवश्यक थियो । अविनाशको पहिलो बलमा फित्री सामले लेगबाइ रन लिए । दोस्रो बलमा मोहम्मद सियादातले २ रन लिए पनि त्यसपछि ३ बलमा रन दिएनन् । अन्तिम बलमा उनले चौका प्रहार गर्दै ११ बलमा २१ रन जोडे पनि मलेसियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रनमात्र जोड्न सक्यो । बलिङमा सोमपाल कामी र सन्दीपले २–२ तथा पारस, अविनाश र करण केसीले १–१ विकेट लिए ।


‘मलेसियाविरुद्ध हाम्रा लागि यो खेल कठिन भयो । समग्रमा हामीले शतप्रतिशत नतिजा निकाल्न सक्यौं, खुसी छौं । शरद र विनोदले ब्याटिङमा निकै राम्रो गरे । बलिङमा अविनाशको प्रदर्शन उत्कृष्ट रह्यो । हामीले उसलाई जुन जिम्मेवारीका लागि

तयार गरिरहेका छौं, त्यस्तै प्रदर्शन गरेको छ,’ नेपालले ऐतिहासिक रूपमा शृंखला क्लिन स्वीप गरेपछि कप्तान पारसले भने, ‘सिंगापुरको प्रतियोगिताका लागि राम्रो तयारी भइरहेको छ । हामीले एकरुपको प्रदर्शनलाई प्रयास गरिरहेका छौं ।’

नेपाली टोली अझै एक साता मलेसियामै रहेर तयारी गर्नेछ । ‘ब्याटिङमा अझै राम्रो गर्नुपर्छ । बलिङ र फिल्डिङमा पनि सुधार गर्ने ठाउँ छन् । मलेसियाको आजको प्रदर्शन हेर्दा हामीले विपक्षीलाई कमजोर मान्नुहुँदैन भन्ने सन्देश पनि दिएको छ,’ पारसले थपे ।


किन्रारा ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले १ सय ७३ रनको योगफल खडा गर्दा मध्यक्रमका विनोद भण्डारीले इनिङ्स अन्त्यतिर विष्फोटक ब्याटिङ गरे । २५ बल खेलेका विनोदले इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गरी अर्धशतक पूरा गरे । उनले ४ चौका र ५ छक्काको सहयोगमा अविजित ५१ रनको महत्त्वपूर्ण योगदान गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालबाट तीव्र गतिमा अर्धशतक प्रहार गर्ने कीर्तिमान राखेका विनोदको यो पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय अर्धशतक पनि हो ।


छैटौं नम्बरमा ब्याटिङमा आएका उनले शरद भेषावकर (४०) सँग २९, करण केसी (१६) सँग ३३ र सोमपाल कामीसँग २३ रनको अविजित साझेदारी गरे । यसअघि पारस र पवन सर्राफले पहिलो विकेटमा ३४ रनको साझेदारी गरे । पाँचौं ओभरमा पवन १० रनको स्कोरमा रनआउट भएपछि आएका उपकप्तान ज्ञानेन्द्र मल्ल पनि लामो समय क्रिजमा टिक्न सकेनन् ।


मलेसियाका फित्री सामले छैटौं ओभरको दोस्रो र तेस्रो बलमा क्रमशः ज्ञानेन्द्र ७ र कप्तान पारस २३ रनमा आउट गरेपछि नेपाल ४२–३ को कमजोर स्थितिमा पुगेको थियो । तर यू–१९ कप्तान रोहितकुमार पौडेल र भेट्रान शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरेपछि नेपालको इनिङ्स उकासिएको हो । रोहितले १९ र शरदले २८ बलमा ४ चौका र २ छक्कासहित ४० रनको योगदान गरे ।

प्रकाशित : असार ३०, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?