कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

१३ औं सागको गन्थन

कुशल तिमल्सिना

काठमाडौँ — नेपालले नै परिकल्पना गरेको दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण साढे चार महिनापछि नेपालमै आयोजना हुँदै छ । पूर्वाधार र तयारीको सवालमा ठोस सफलता हासिल नभएको अवस्थामा तेस्रोपल्ट सारिएको प्रतियोगिता नयाँ निर्धारित मितिमै आयोजना हुनेमा शंका गर्नेहरू धेरै छन् ।

१३ औं सागको गन्थन

तर सागमा समावेश गरिएका २७ खेल संघका पदाधिकारी र मुख्य प्रशिक्षकले राष्ट्रको प्रतिष्ठासँग जोडिएको भन्दै साग आयोजना तोकिएकै मितिमा हुनुपर्ने र त्यसका लागि आफूहरूले आवश्यक सहयोग रहने प्रतिज्ञा गरेका छन् ।


रमेश सिलवालले गत साता राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा नियुक्ति पाएपछि उनैको सक्रियतामा सोमबार खेल संघका पदाधिकारी र प्रशिक्षकसम्मिलित अन्तरक्रिया आयोजना गरियो । कार्यक्रममा सबै खेल संघका प्रतिनिधिलाई आफ्नो संघको तयारी र सागलक्षित गतिविधिबारे बोल्न दिइएको थियो । अधिकांशले सागलक्षित प्रशिक्षणमा विलम्ब भएको धारणा राखे ।


संघका प्रतिनिधिले खेलाडी छनोटका लागि राखेपको मापदण्ड सच्याउनुपर्ने समेत बताए । आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकालाई मात्र सागलक्षित प्रशिक्षणमा सहभागी गराउने निर्णय राखेपको थियो । त्यसले बन्द प्रशिक्षणमा आवश्यक खेलाडीको कोटा नपुगेको प्रशिक्षकहरू बताउँछन् । यसबाहेक प्रशिक्षणस्थलको समस्या पनि त्यत्तिकै छ ।


‘हाम्रो खेलको ९ इभेन्टमा २७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्, प्रशिक्षणस्थलको अभाव छ । सबै खेलाडीले प्रशिक्षण गर्न पाएका छैनन् । खेल सामग्री पुराना छन् । नयाँ किन्न धेरै खर्च लाग्छ, विदेशबाट मगाउँदा हतियार ल्याउन त्यस्तै झन्झट छ,’ सुटिङका महासचिव प्रदीप खातीले दुखेसो पोखे ।


प्रशिक्षणस्थल र सागको खेलस्थलबारे धेरै संघहरू अन्योलमा थिए । भलिबल संघका महासचिव जितेन्द्र चन्दले आर्मीको कभर्डहलमा प्रशिक्षण सुरुआत गरिए पनि आर्मीको नियमभित्र बसेर तयारी गर्नुपर्दा खेलाडी खुसी नभएको सुनाए । राखेप कभर्डहल अहिले पुनर्निर्माणको चरणमा छ ।


धेरै राष्ट्रिय संघका प्रतिनिधिले सागमा पदक जित्नका लागि वैदेशिक प्रशिक्षण वा वैदेशिक प्रशिक्षकको माग गरेका छन् । केही खेल संघले भने आफूहरूले विदेशी प्रशिक्षकको व्यवस्था गरिसकेको र त्यसका लागि राखेपले सहयोग गर्नुपर्ने बताए । पौडीका अध्यक्ष अशोक वज्राचार्यले भने, ‘अघिल्लो सागमा पनि हाम्रो उत्कृष्ट प्रदर्शन भएको थियो । १६ पुरुष र १२ महिला खेलाडीले अहिले प्रशिक्षण गरिरहेका छन्, वैदेशिक प्रशिक्षकको व्यवस्था भएमा यसपल्ट अझै राम्रो नतिजा ल्याउने छौं ।’


‘हाम्रो खेलमा टिम इभेन्टको सम्भावना धेरै भएकाले त्यसैमा केन्द्रित गरेका छौं । हामीले उत्तर कोरिया वा भारतमा प्रशिक्षण तयारी गरेका छौं,’ टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले भने । क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाले भने सागमा समावेश हुने टोलीको उमेरसमूह टुंगो नलागेका कारण तयारीमा अन्योल भएको बताए । भलिबलका महासचिव चन्दले पनि बिच भलिबल समावेश भए नभएकोबारे जानकारी नपाएको बताए ।


जवाफमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले क्रिकेटको हकमा टेस्ट राष्ट्रको यू–२३ टिम र एसोसिएट राष्ट्रको सिनियर टिम समावेश गर्नेबारे छलफल भएको तर टुंगोमा नपुगेको बताए । बिच भलिबलको भने सहभागिता निश्चित भइसकेकाले त्यसैअनुसार तयारी गर्न सुझाए ।


भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्तका अनुसार वैज्ञानिक प्रशिक्षण विधिको अभावका कारण सोचेअनुरुप नतिजा आउन नसकेको हो । ‘डाइट, प्रोत्साहन, अभ्यास र आराम यी चार तत्वलाई सन्तुलन मिलाउन सक्ने हो भने मात्रै यो समयमै खेलाडीबाट सफलता निस्कन्छ । हाम्रा खेलाडीले यी चारै कुरा पर्याप्त पाउन सकेका छैनन्,’ उनले भने ।


युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले संघलाई जिम्मेवारीबोधसहित सक्रिय बनाउन सके मात्रै खेलकुदको विकास हुने बताए । ‘१३ औं साग सरकारले होइन, तपाईहरूले आयोजना गर्ने हो,’ प्राय सबै संघका नेतृत्वको उपस्थितिमा मन्त्रीले भने, ‘सरकारले बजेट व्यवस्था गर्छ, पूर्वाधार बनाउँछ र सुरुक्षाको ग्यारेन्टी गर्छ, बाँकी आयोजना र प्रतिस्पर्धा तपाईहरूले नै गर्ने/गराउने हो । पूर्वाधारको तयारी र प्रशिक्षण तयारीलाई प्रभावकारी बनाउन तपाईहरूले सरकारलाई झकझक्याउनुपर्‍यो ।’


साग खेलकुद जस्तोसुकै व्यवधान झेलेर भए पनि तोकिएकै मितिमा आयोजना गर्नुपर्ने भएकाले मन्त्री विश्वकर्माले सबैको सहयोगको अपील पनि गरेका छन् । ‘पूर्वाधार राम्रो नभएरै यसअघि यो प्रतियोगिता सर्दै आएको हो । हामीले नै परिकल्पना गरेको प्रतियोगिता अब फेरि सर्दा त्यसले राम्रो सन्देश जाँदैन । मुलुककै इज्जत राख्न पनि डिसेम्बर १ देखि १० सम्म साग आयोजना हुनैपर्छ,’ मन्त्रीले भने, ‘पूर्वाधारको समस्या समाधान भइसक्यो, १८ औं एसियाली खेलकुददेखि नै हाम्रा खेलाडीलाई सागलक्षित तयारी सुरु गरिएको हो, त्यसैले प्रदर्शन पनि राम्रो हुने अपेक्षा गरेका छौं ।’


सदस्य–सचिव सिलवालले साग खेलकुदको सफल आयोजनाका लागि सबै सरोकारवालाबीच अन्तरक्रिया गरिएको भन्दै सबै खेलको प्रशिक्षण सुरु गर्न निर्देशन दिए । ‘कार्यविधि, टीओआर पर्खेर खेलाडीको भविष्य अन्धकार नबनाउनुस्, प्रशिक्षण सुरु गर्नुस्, राखेपले के सहयोग गर्नुपर्छ मलाई भन्नुस्,’ सदस्यसचिवले भने, ‘मेरो नेतृत्वमा रहेको एउटा कमिटीले प्रशिक्षणसहित खेलाडीको समस्याबारे छड्के जाँच गर्नेछ । पूर्वाधारकै कारणले साग सर्दैन, निर्धारित मितिमै आयोजना हुने भएपछि हरेक संघ त्यहीअनुसार तयार हुनुपर्छ ।’


कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ एकमात्र वक्ता थिए जसले साग खेलकुदको आयोजना समयमै हुनेमा शंका व्यक्त गरे । उनले भने, ‘हामीले यो भन्दा अगाडि नेपालले आयोजना गरेको प्रतियोगिताको तयारी देखेका थियौं । त्यस आधारमा भन्दा यसपल्ट पनि तोकिएको मितिमा हुन्छ भनेर विश्वास गर्ने आधार छैन । सरकारी प्रतिबद्धता त आएको छ । तर कामको गतिले विश्वस्त हुने स्थिति छैन ।’


सन् १९९९ मा नेपालमै भएको आठौं सागमा कराँतेबाट स्वर्ण जितेका श्रेष्ठले यसपल्ट घरमै आयोजना हुन लागेको दक्षिण एसियाली प्रतियोगितामा नेपालको लक्ष्य के हो भनेर प्रश्न गरेका थिए । ‘सागमा समावेश गरिएका कतिपय खेलमा कोटाभन्दा निकै कम खेलाडी प्रशिक्षणमा रहेको कुरा भर्खरै सबैले सुन्नुभयो ।


यति ठूलो प्रतियोगिताका लागि अन्तिम छनोट सम्पन्न गरी पदकलक्षित तयारीमा जुटिसक्नुपर्ने थियो । हामी धेरै ढिला भएका छौं,’ उनले थपे, ‘बजेटका कारण बन्द प्रशिक्षण सुरु हुन नसकेको भन्ने सुनेको छु । रकमान्तर गरेर खेलाडीलाई पुरस्कार दिनसक्ने राखेपले अर्को शीर्षकबाट रकमान्तर गरेर स्तरीय प्रशिक्षणको व्यवस्था किन गर्न सक्दैन ?’


१३ औं सागमा २७ खेल समावेश भएकोमा ७ खेलको अहिलेसम्म प्रशिक्षण सुरु हुन सकेको छैन । २० खेलको प्रशिक्षण सुरु भए पनि स्तरीय प्रशिक्षण नपाएको खेलाडीको गुनासो छ । साइक्लिङ, भलिबल, फुटबल, ह्यान्डबल, क्रिकेट, बास्केटबल, खोखो र कबड्डीको राष्ट्रिय टिम प्रशिक्षण सुरु भएको छैन । भलिबलको भने महिला टिमको तयारी सोमबार सुरु गरिएको महासचिव चन्दले जानकारी गराए ।

प्रकाशित : असार ३१, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?