सैनिक युथलाई मुख्यमन्त्री कपको उपाधि

प्रदीप मेन्याङ्बो

सुनसरी — मुख्यमन्त्री कप प्रदेश लिगको उपाधि झापाको सैनिक युथ क्लबले उचालेको छ । धरानमा रंगशालामा मङ्गलवार सम्पन्न मोरङको बेलबारी फुटबल क्लब विरुद्ध २–१ गोल गर्दै सैनिक युथ प्रदेश लिग च्याम्पियन बनेको हो । उपाधिसँगै सैनिकले नगद ५ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्‍यो । लिग उपविजेतामा चित्त बुझाएको बेलबारीले नगद ३ लाख रुपैयाँ हात पार्‍यो । 

सैनिक युथलाई प्रदेश लिग च्याम्पियन बनाउन खेल सुरु भएको पहिलो मिनेटमा रेजिन माझी र खेलको ८७ औँ मिनेटमा विकेस सुब्बाले गोल गरेका थिए । बेलबारीका सौरभ कार्कीले खेलको ५२ औँ मिनेटमा पाएको कर्नर प्रहारलाई सान्त्वना गोल गरेका थिए ।

लिगको फाइनल चरणमा सैनिक युथले खोटाङलाई ६–३ गोल र उपाधिको दाबेदार मानिएको धरान फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो । उता समूह एबाट विजेता बनेर फाइनलमा पुगेको बेलबारीले धनकुटाको बौद्धिक विकास समितिलाई ६–१ गोल र धरान फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा बेलबारीका भूषण सुब्बा सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १ लाख रुपैयाँ प्राप्त गरे । खेलका म्यान अफ द म्याच बेलबारीका शौरभ कार्की भए । उनले नगद १० हजार हात पारे ।

सैनिकका मनोज प्रधान र विमन प्रसाद राई क्रमशः उत्कृष्ट गोलकिपर र उत्कृष्ट डिफेन्स घोषित भए । धरान फुटबल क्लबका उमेश राई उत्कृष्ट मिडफिल्डर,सैनिकका विकेश लिम्बू उत्कृष्ट स्ट्राइकर, सैनिक युथका प्रवेश कट्वाल उत्कृष्ट कोच घोषित भए । उनीहरूले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रकाशित : असार ३१, २०७६ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्

बीपी प्रतिष्ठानका सामग्री खरिदमा भ्रष्टाचार, १० जनाविरुद्ध मुद्दा

प्रदीप मेन्याङ्बो

सुनसरी — मेडिकल उपकरण, सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सात जना निलम्बनमा परेका छन् ।  


उपकुलपति प्रा.डा. राजकुमार रौनियार र भतिज डा. रामहरि रौनियार ८ लाख घूससहित पक्राउ परेपछि उक्त प्रकरणमा अन्य व्यक्तिको पनि संलग्नता खुलेको हो। मुद्दा दायर गरिएकामा पूर्वपदाधिकारी, बहालवाला कर्मचारी र मेडिकल सामान उपलब्ध गराउने दुई व्यवसायी गरी १० जना छन्।

मुद्दा किनारा नलागुन्जेल उनीहरू स्वतः निलम्बनमा पर्ने अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। ‘कुनै पनि व्यक्तिका विरुद्ध मुद्दा दायर भएपछि सार्वजनिक पद स्वतः निलम्बन हुन्छ। स्वास्थ्य मन्त्रालयमार्फत आयोगबाट पत्र गइसकेको छ,’ उनले भने। अख्तियारले प्रतिष्ठानमा भ्रष्टाचार गर्ने अरू पनि तानिने सम्भावना रहेको जनाएको छ।

पूर्वउपकुलपति तथा बहालवाला फर्माकोलोजिस्ट प्राडा. बलभद्रप्रसाद दास, पूर्वअस्पताल निर्देशकसमेत रहेका प्याथोलोजी विभागमा कार्यरत प्राडा. अरविन्द सिन्हा, रजिस्ट्रार तुलबहादुर श्रेष्ठ, प्रतिष्ठानको लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी म्यानेजर अमित श्रीवास्तव स्वतः निलम्बनमा परेका हुन्। सोही प्रकरणमा पूर्वरजिस्ट्रार नन्दकुमार थापा, व्यवसायीहरू प्रोसिजन मेडिकल प्रालि तथा बायोमेड इन्टरनेसनल प्रालिका प्रोपराइटर चेतन अग्रवाल र सर्जिकेम डिस्ट्रिब्युटर्सका प्रोपराइटर उमेश अग्रवालविरुद्ध पनि मुद्दा दर्ता भइसकेको छ। अग्रवालद्वय दाजुभाइ हुन्।

अख्तियारको विज्ञप्तिअनुसार पूर्वउपकुलपति डा. दासले ४ करोड ८ लाख ९८ हजार १९ र पूर्वअस्पताल निर्देशक डा. सिन्हाले ३ करोड ७५ लाख ३० हजार ६ सय ११ रुपैयाँ भ्रष्टाचार गरेका छन्। यसैगरी पूर्वरजिस्ट्रार थापाले १ करोड ९६ लाख ९ हजार ८ सय ८० र बहालवाला रजिस्ट्रार श्रेष्ठले ५६ लाख ७७ हजार ४ सय ५ रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख छ। लेखा प्रमुख दाहालले २ करोड ३४ लाख ८१ हजार ८ सय १९ रुपैयाँ, डेपुटी म्यानेजर श्रीवास्तवले १ करोड ७४ लाख १६ हजार २ सय रुपैयाँ, व्यवसायी चेतनले १ करोड ४ लाख १६ हजार ७ सय ९७ रुपैयाँ र उमेशले ६० लाख ३६ हजार ३ सय ४३ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको दाबी छ। आरोपित सबैलाई सोहीअनुसार बिगो माग दाबी गर्दै आरोपपत्र दायर गरिएको कोइरालाले बताए।

उपकरण तथा सेवाको खरिदमा बोलपत्रसम्बन्धी कागजमा उल्लिखित प्राविधिक विशेषज्ञता र सोही कागजमा संलग्न खरिद सम्झौताका सर्तअनुसार काम गर्नुपर्नेमा उल्लंघन गरिएको अख्तियारले जनाएको छ। खरिदमा न्यून कबोल गर्ने बोलपत्रदातालाई पन्छाई बढी कबोल गर्नेको बोलपत्र स्वीकृत गरी भुक्तानी दिइएको आरोपपत्रमा उल्लेख छ।

प्रतिष्ठानमा चार वर्षको अवधिमा अख्तियारले दर्जन पटक छापा मारेको थियो। तर हालसम्म कुनै मुद्दाका बारेमा फाइल खोलिएको थिएन। पछिल्लो मुद्दामा कुन–कुन मितिमा आरोपितहरूले सामान खरिदमा भ्रष्टाचार गरेका हुन् भन्ने खुलेको छैन। प्रवक्ता कोइरालाले भने, ‘प्रतिष्ठानमा भएका अरू भ्रष्टाचारका विषयमा पनि अनुसन्धान हुँदैछ। हाल विशेष अदालतमा आरोपपत्र दायर गरिएकाले बयान लिने प्रक्रिया हुँदैछ। अरू विषयबारे अध्ययनपछि अख्तियार एउटा निर्णयमा पुग्नेछ,’ उनले भने।

व्यापारी दाजुभाइ चेतन र उमेशले प्रतिष्ठानका सबैखाले ठेक्कामा कब्जा जमाउँदै आएका थिए। उनीहरूले करिब दुई दशकको अवधिमा प्रतिष्ठानभित्र अर्बौं रुपैयाँको कारोबार गरेका छन्। उनीहरूले प्रतिष्ठानका पदाधिकारीलाई हातमा लिएर ठेक्का हत्याउने गरेको चर्चा हुँदै आएको थियो।

बीपी प्रतिष्ठानमा स्थापनादेखि नै भ्रष्टाचार सुरु भए पनि तत्कालीन उपकुलपति शेखर कोइरालाको पालामा कसैले मुख खोल्ने गरेका थिएनन्। कोइरालापछि प्रतिष्ठानभित्रकै चिकित्सक उपकुलपति बन्न थालेसँगै अनियमितता, बेथिति र भ्रष्टाचार मौलाएको पुराना कर्मचारी बताउँछन्।

पूर्वउपकुलपति दासको अवधि सकिन लाग्दै गर्दा रजिस्ट्रारसँगको मिलेमतोमा अग्रिम भुक्तानीमा करोडौंका उपकरण खरिद गरिएको थियो। ठेकेदार कम्पनीहरूले भेन्टिलेटर, अक्सिजन प्लान्ट, सर्जिकल माइक्रोस्कोप, डेन्टल चियर, सेफालोग्राम एक्सरे मेसिनजस्ता उपकरण जडान नगरी अलपत्र पारेर हिँडेका थिए। बोलपत्रमा ठेक्का पार्न ‘स्पेसिफिकेसन’ मा उल्लेख गर्ने तर सोहीअनुसार उपलब्ध नगराइएकाले कतिपय उपकरण कामै नलाग्ने भएका थिए।

उपकुलपति रौनियारविरुद्ध एमआरआई मेसिन खरिद, भवन निर्माणलगायतमा अनियमितता गरेको आरोप छ। विगतमा ठेकेदार कम्पनीसँग प्रतिष्ठानका सबै पदाधिकारी, खरिद र मूल्यांकन समितिका कर्मचारीलगायत मिलेर अनियमितता गर्ने गरे पनि रजिस्ट्रार श्रेष्ठ, रेक्टर गुरु खनाल र पूर्वउपकुलपति दास रौनियारविरुद्ध लागेपछि लहरो तान्दा पहरो गएको हो।

प्रकाशित : असार ३१, २०७६ १९:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT