कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अर्कै नियम भए हुन्थ्यो : स्टिड

(एएफपी)

वेलिङटन — न्युजिल्यान्डका प्रशिक्षक गेरी स्टिडले विश्वकप क्रिकेटको नियममा परिवर्तन गर्नुपर्ने माग राख्दै फाइनल नतिजा साह्रै नमज्जाको भएको बताएका छन् ।

अर्कै नियम भए हुन्थ्यो : स्टिड

विश्वकप उपाधिका लागि इंग्ल्यान्ड न्युजिल्यान्डको तुलनामा प्राविधिक कारणले मात्र योग्य भएको थियो । नियमित र सुपर ओभर शुटआउटको खेलपछि पनि दुवै टिमबीच कुनै अन्तर नभएपछि इंग्ल्यान्डलाई बढी बाउन्ड्री प्रहार गरेको आधारमा विजेता घोषणा गरिएको हो ।


‘सय ओभरको खेलपछि पनि समान अंकमा रन बनायौं, तर हामी पराजित जस्तै रह्यौं । यो निर्णय धेरै प्राविधिक भयो । यसले कसैलाई पनि चित्त बुझेको छैन होला,’ स्टिडले मंगलबार न्युजिल्यान्ड क्रिकेट बोर्डका लागि बताएका छन् । उनले फाइनल निकै रोमाञ्चक रहेको र एकदिवसीय क्रिकेट इतिहासमै यत्तिको सनसनीपूर्ण खेल नहुने पनि बताए । उनको तर्क थियो, ‘यो खेलको नतिजा सायद अर्कै केही उपायबाट निकालेको भए राम्रो हुन्थ्यो ।’


उनले भने, ‘पूरा प्रतियोगिता आयोजना गर्ने बेला धेरै पक्षमा दृष्टिकोण दिइएको हुनुपर्छ । विश्वकप फाइनलमा यस्तो स्थिति पनि आउने छ भनेर कसैले पनि सोच्न सकेनन् । मलाई के विश्वास छ भने यो नियमलाई लिएर पक्कै पनि पुनर्विचार हुनेछ । बढी चौका–छक्का प्रहार गरेको नियमभन्दा अरू नै कुनै राम्रो विकल्प हुनसक्थ्यो ।’ प्रशिक्षक स्टिडले ओभर थ्रोमा इंग्ल्यान्डलाई बढी रन दिइएको घटनालाई भने धेरै महत्त्व दिन चाहेनन् ।


रनआउट हुन जोगिने प्रयासमा रहेका बेन स्टोक्सको ब्याटमा लागेर बलले बाउन्ड्री यात्रा गरेको थियो । नियमित खेलको अन्तिम ओभरमा भएको त्यस घटनापछि इंग्ल्यान्डले ६ रन पाएको थियो । तर पूर्व अम्पायर सिमोन टफेलले त्यसमा इंग्ल्यान्डले ५ रन मात्र पाउनुपर्ने जिकिर गरेका थिए । उनका अनुसार बल थ्रो गरिँदा क्रिसमा रहेका ब्याट्सम्यानले दोस्रो रनका लागि प्रयास गरेका थिएनन् । स्टिडले यो निमयबारे आफूलाई राम्रोसँग थाहा नभएको बताए ।


‘नियम लागू गर्ने काम अम्पायरकै हो । तर उनीहरू पनि आम मानिस नै हुन्, जसरी खेलाडी पनि आम मानिस । अम्पायरले पनि कहिलेकाहीं भूल गर्छन् र यो नै खेलकुदमा मानवीय पक्ष हो,’ उनले भने । यस्तै न्युजिल्यान्ड कप्तान केन विलियम्सनले आफ्नो टिम फाइनलमा पराजित नभएको बताउँदै टिम अनौठो नियमको मात्र सिकार भएको बताए । पूरा घटना नमज्जाको भएपछि प्रतियोगिता अगाडि न्युजिल्यान्डले पनि यो नियममा सहमति गरेको पनि उनले स्विकारे ।


‘कुनै संकोच छैन’

लन्डन – इंग्ल्यान्डका क्रिकेट निर्देशक एस्ली जायल्सले आफ्नो टिमले विश्वकप जितेकोमा गर्व गर्नुमा कुनै संकोच मान्नु नपर्ने मंगलबार दाबी गरेका छन् । पूर्व अम्पायर साइमन टफेलले लर्डसमा भएको निकै तनावपूर्ण फाइनलमा इंग्ल्यान्डलाई गलत ढंगले एक रन बढी दिइएको दाबी गरेपछि जायल्सको यो प्रतिक्रया आएको हो । दुर्लभ घटनाका क्रममा थ्रो गरिएको बल बेन स्टोक्सको ब्याटमा लागेर बाउन्ड्रीतर्फ गएको थियो ।


फक्स स्पोर्टससँगको कुराकानीमा टफेलले अम्पायरले स्पष्ट भूल गर्दै बढी रन दिएको दाबी गरेका थिए । उनले ६ को सट्टा ५ रन दिनुपर्ने जिकिर गरेका थिए । त्यसमा प्रतिक्रिया दिँदै जायल्सले भने, ‘यो सत्य होइन ।’ पूर्व इंग्लिस स्पिनरले थपेका छन्, ‘ट्रेन्ट बोल्टले फालेको बलमा स्टोक्स २ रनमात्र बनाउन चाहन्थे । ६ रनकै चाहना भएको भए, स्टोक्सले लामो प्रहार पनि गर्न सक्थे । हामी विश्व च्याम्पियन हौं, हामीले ट्रफी हात पारेका छौं र यसलाई गर्वले आफूमा राख्न पनि चाहन्छौं ।’


प्रकाशित : श्रावण १, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?