३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पोग्बाको प्रेरणामा युनाइटेड विजयी

एएफपी

पर्थ — पाउल पोग्बाको सानदार प्रदर्शनमा पुरानो प्रतिद्वन्द्वी लिड्स युनाइटेडलाई ४–० ले पराजित गरी दबाबमा रहेको म्यानचेस्टर युनाइटेडले प्रि–सिजन टुरमा बुधबार उत्कृष्ट सुरुआत गरेको छ ।

पोग्बाको प्रेरणामा युनाइटेड विजयी

गत साता अन्त्यमा स्थानीय टोली पर्थ ग्लोरीविरुद्धको २–० को जितका बाबजुद युनाइटेडको खेलशैली आलोचित बनेको थियो । तर सन् २००४ पछि पहिलोपल्ट प्रिमियर लिगमा बढुवा नजिक रहेको लिड्सविरुद्धको सानदार जितपछि टिमले सही समयमा पुनरागमन गरेको छ ।


युभेन्ट्स र रियल मड्रिडमा अनुबन्धको चर्चामा रहेका पोग्बाले पहिलो हाफमा सानदार प्रदर्शन गरे । सातौं मिनेटमै १७ वर्षीय मेसन ग्रिनउडको पहिलो सिनियर टिमबाट गोलका लागि बनेको चेन पासमा उनको भूमिका लोभलाग्दो थियो । त्यसको केही समयपछि नै विश्व विजेता फ्रान्सेली मिडफिल्डरको सशक्त प्रहार गोलरक्षक किको क्यासिलाले उत्कृष्ट बचाउ गरेका थिए ।


२७ औं मिनेटमा मार्कस रसफोर्डले टिमलाई पहिलो हाफमा दोहोरो अग्रता दिलाए । खुट्टाको नियन्त्रणसाथ आकर्षक ड्रिब्लिङमार्फत उनले क्यासिलालाई छक्याउन सफल रहे । प्रशिक्षक ओले गनर सोल्सायरले शनिबार पर्थसँगको खेलमा जस्तै यस खेलमा पनि दोस्रो हाफमा पूरै टिम परिवर्तन गरेका थिए । तर युनाइटेडको दबाब दोस्रो हाफमा पनि उस्तै रह्यो । ५१ औं मिनेटमा कर्नर प्रहार सदुपयोग गरी फिल जोन्सले उत्कृष्ट हेडर गोल गरेपछि युनाइटेडले ३–० को अग्रता बनाएको थियो ।


६८ औं मिनेटमा एन्थोनी मार्सलले पेनाल्टीमा गोल गरे । ताथिथ चोङलाई बक्सभित्र फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो । एक समयको चिरप्रतिद्वन्द्वीबीच ८ वर्षपछि पहिलो भेट भएको थियो । ५५ हजार दर्शक क्षमताको पर्थ रंगशालामा उपस्थित भीडले उनीहरूको प्रतिद्वन्द्विता रेखांकन गरेको थियो ।


रोमेलु लुकाकु पुनः एकपल्ट युनाइटेडको प्लेइङ–११ मा देखिएनन् । समाचारमा जनाइएअनुसार उनी इन्टर मिलानसँग अनुबन्धको अन्तिम चरणमा छन् । युनाइटेडले प्रशिक्षणका क्रममा अस्वस्थ भएकाले टिममा नभएको बताएको छ ।

अस्वस्थताका कारण डेविड डी जिया पनि अनुपस्थित रहे ।


उनी युनाइटेडसँग पाँचवर्षे नयाँ सम्झौताको अन्तिम तयारीमा रहेको बताइन्छ । युनाइटेडले प्रि–सिजन टुरअन्तर्गत जुलाई २० मा इन्टर मिलानसँग सिंगापुर र जुलाई २५ मा टोटेनहमसँग चीनको सांघाईमा प्रतिस्पर्धा गर्दै छ । लिड्सले भने आइतबार पश्चिम सिड्नी ओन्डरर्ससँग खेल्दै छ ।

प्रकाशित : श्रावण २, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?