१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

विश्वकप विजेता बेलिस सनराइजर्समा

एएफपी

दिल्ली — इंग्ल्यान्डका विश्वकप विजेता प्रशिक्षक ट्रेभर बेलिसले अर्को वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई प्रशिक्षण दिने भएको छ । सनराइजर्सले बिहीबार यसको पुष्टि गरेको हो ।

विश्वकप विजेता बेलिस सनराइजर्समा

अर्को सिजनको आईपीएल मार्चमा हुँदै छ । केन विलियम्सनको कप्तानीमा रहेको सनराइजर्सको प्रशिक्षक हुन लागेका हुन् ५६ वर्षे अस्ट्रेलियाका बेलिस ।


विलियम्सनले न्युजिल्यान्डलाई फाइनलसम्म पुर्‍याएका थिए । आइतबार सम्पन्न फाइनलमा बेलिसको इंग्ल्यान्डले न्युजिल्यान्डलाई पराजित गरी पहिलोपल्ट विश्वकप उपाधि जितेको थियो । अगस्टमा अस्ट्रेलियासँग हुने एसेस शृंखलापछि इंग्ल्यान्डको प्रशिक्षक पद त्याग्न लागेका बेलिसले पैसाले भरिएको टान्टी–२० लिगमा आफ्नै देशका टम मुडीलाई स्थानान्तरण गर्न लागेका हुन् ।


‘निकै गम्भीर भएर अध्ययन गर्दा सनराइजर्सले प्रमुख प्रशिक्षकको भूमिकालाई नयाँ ढंगले लैजाने निर्णय गरेको हो र हामी यससँगै टम मुडीबाट सहकार्य तोड्दै छौं,’ सनराइजर्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसअघि बेलिस सन् २०१२ देखि २०१५ सम्म आईपीएलको अर्को टोली कोलकाता नाइट राइडर्समा थिए । त्यति बेला कोलकाताले २०१२ र २०१४ को उपाधि पनि जितेका थिए । उनले सिड्नी सिक्सर्सबाट २०१०–११ बाट बिग–बास र च्याम्पियन्स लिगको उपाधि पनि जितेका छन् ।


‘उनले आफूलाई विजेताका रूपमा प्रमाणित गरिसकेका छन् । उनको जुन विजयी लय छ त्यसले सनराइजर्स हैदराबादलाई पनि एउटा गन्तव्यमा पुर्‍याउँछ भने हाम्रो अपेक्षा छ,’ सनराईजर्सको विज्ञप्तिमा भनिएको छ । बेलिसलाई कोलकाता र राजस्थान रोयल्सले पनि प्रस्ताव गरेको बुझिएको छ ।


बेलिस २०१५ मा इंग्ल्यान्डको प्रशिक्षक बनेका थिए । इंग्ल्यान्डले त्यही वर्ष एसेस ३–२ ले जितेको थियो । अर्को वर्ष विश्व टान्टी–२० को फाइनल पुगेको इंग्ल्यान्ड एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष टोली पनि बनेको थियो । उनले यसअघि २०११ मा श्रीलंकालाई विश्वकपको फाइनलसम्म डोर्‍याएका थिए, जहाँ टोली उपाधि भिडन्तमा आयोजक भारतसँग पराजित भएको थियो ।


मुडीको प्रशिक्षणमा सनराइजर्सले २०१६ मा आईपीएल जितेको थियो । २०१८ मा फाइनलमा पराजित सनराइजर्स यस वर्ष प्लेअफमा पुगे पनि चौथोमै समेटिएको थियो । मुडीले सात सिजन बिताउनेक्रममा सनराइजर्सलाई पाँचपल्ट प्लेअफमा पुर्‍याए ।

सनराइजर्सले बेलिसलाई ल्याएपछि प्रशिक्षण टोलीका अन्यलाई के गर्नेबारे निर्णय गरिसकेको छैन ।


टोलीले भीभीएस लक्ष्मणलाई मेन्टर र मुथैया मुरलिथरनलाई परामर्शदाताका रूपमा राखिरहने छ । सनराइजर्समा विलियम्सनको अलावा विश्वकप विजेता इंग्ल्यान्डका स्टार जोनी बेरिस्टो पनि छन् ।

प्रकाशित : श्रावण ३, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?