कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मागपत्र होइन, बसेर कुरा गरौं : सदस्य–सचिव

खेलाडीको १३ बुँदे पत्र

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले खेलाडीको स्वागत ग्रहण गर्दै १३ औं सागलाई पहिलो चुनौतीका रूपमा लिएको बताएका छन् ।

मागपत्र होइन, बसेर कुरा गरौं : सदस्य–सचिव

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा बिहीबार सदस्य–सचिव सिलवालको सम्मानमा आयोजित स्वागत कार्यक्रम उनले आफ्नो पहिलो चुनौती नेपालमा आयोजना हुने १३ औं साग रहेको प्रस्ट पारे । उनले भने, ‘मेरो कार्यकालको पहिलो चुनौती साग खेलकुद हो । त्यसमा पनि पूर्वाधार छ । निर्माण कार्यमा संलग्न प्रत्येकलाई मैले समयमा काम सम्पन्न गर्न लिखित प्रतिबद्धता पत्र मागेको छु ।’


सदस्य–सचिव सिलवालले अभिभावकलाई मागपत्र बुझाउने नभई भेटेर कुरा गर्न सुझाए । ‘तपाईहरूलाई केही चाहियो भने बुवा/आमालाई पक्कै पनि मागपत्र दिनुहुन्न होला । कुरा गर्नु हुन्छ होला । म पनि खेलकुदको अभिभावक हुँ । केही समस्या छन् भने भेट्न आउनुस्, बसेर कुरा गरौंला र समाधन निकाल्न सकिएला । माग पत्र दिइरहनुपर्दैन,’ माग र ज्ञापनपत्र दिने प्रचलनप्रति उनले व्यंग्य कसे ।


खेलाडी संघका अध्यक्ष श्रेष्ठले सदस्य–सचिवलाई सुझावसहितको १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए । पत्रमा बृहत राष्ट्रिय खेलकुदका स्वर्ण विजेतालाई मात्र नगद पुरस्कार दिँदै आएकोमा रजत र कांस्यलाई पनि पुरस्कार व्यवस्था गर्नुपर्ने, सागको तयारीलाई तीव्र पार्नुपर्ने, सागको छनोट आधार स्पष्ट हुनुपर्ने, पदक विजेता खेलाडीको वर्गीकरण गरी सामाजिक सुरक्षा व्यवस्था गर्नुपर्ने, नयाँ पुस्ताका खेलाडीलाई आकर्षित गर्न सरकारले नीति ल्याउनुपर्ने, स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरका खेलाडीको पहिचान खुल्ने गरी परिचयपत्र व्यवस्था गर्न र त्यसैका आधारमा सरकारले निश्चित सहुलियतमा पहल गर्नुपर्ने र खेलाडीलाई पलायन हुनबाट जोगाउन नीतिगत पहल गर्नुपर्नेलगायत छन् ।


त्यस्तै सागका स्वर्णधारी, एसियाडका पदकधारी र ओलम्पियनलाई दिइँदै आएको आजीवन भत्तालाई निरन्तरता दिँदै सागका रजत र कांस्य विजेतालाई पनि भत्ताको व्यवस्था गर्नुपर्ने, देशका लागि दिएका खेलाडीको मापन गरी प्रतियोगितापछि पनि खेलाडीको बिमा हुनुपर्ने, सागमा ३ वा सो भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई सरकारले नगद पुरस्कारबाट सम्मान गरिसकेकोमा ३ भन्दा कम स्वर्ण जित्ने खेलाडीलाई पनि नगद पुरस्कार व्यवस्था हुनुपर्ने, राजनीतिक आस्थाका आधारमा खेलाडीमाथि हुने विभेदको अन्त्य हुनुपर्ने र राष्ट्रिय खेलाडी कल्याण कोषमा केही वर्षदेखि रकम थप गर्ने कार्य रोकिएको हुँदा हरेक वर्ष २० लाखका दरले कोषमा रकम थप गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित : श्रावण ३, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?