१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चाहना सुपर लिग

राजु घिसिङ

काठमाडौँ — नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङ फेरि आई लिग क्लब मिनर्वा पन्जाबमा आबद्ध भएका छन् । ‘हामी किरण चेम्जोङलाई मिनर्वा परिवारमा फर्किएको घोषणा गर्न पाउँदा खुसी छौं,’ मिनर्वाले टीट गरेको छ ।

चाहना सुपर लिग

‘मिनर्वासँग मौखिक सहमति भइसक्यो,’ हाल राष्ट्रिय टिमको तयारीमा व्यस्त रहेका २९ वर्षीय किरणले बिहीबार कान्तिपुरसँग भने, ‘पूरा सिजनको लागि क्लबसँग सहमति भएको हो ।’ चण्डीगढको क्लब मिनर्वाले आई लिगअघि सुपर कप खेल्दै छ, जहाँ आई लिग र इन्डियन सुपर लिग (आईएसएल) का टिमहरूले प्रतिस्पर्धा गर्नेछन् । ‘सुपर कपका लागि जाने (चण्डीगढ) जाने कुरा भएको छ । त्यो अगस्ट अन्त्यतिर हुन्छ होला,’ उनले भने । सुपर कपअघि अगस्टमै हुने १२९ औं डुरान्ड कपमा भने मिनर्वा सहभागी छैन, जहाँ आई लिगका ६ र आईएसएलका ५ सहित १६ क्लब खेल्दैछन् ।

भारतमा हाल दुई लिग चलिरहेको छ, आई लिग र आईएसएल । विश्वकै चर्चित खेलाडीलाई आबद्ध गर्दै आईएसएलले ठूलै चर्चा पाए पनि भारतीय फुटबलमा यी दुईमध्ये औपचारिक र ठूलो लिग कुन हो भन्ने लडाइँ आफ्नै ठाउँमा चलिरहेको छ । आई लिग क्लबको सिजन ६–७ महिनाको हुने गर्छ । सन् २०१९–२० को पूरा सिजनका लागि मिनर्वा पन्जाबसँग सहमति गरिएको किरणले बताए ।

किरणको लागि यो मिनर्वासँगको दोस्रो यात्रा हुनेछ । उनले सन् २०१८ को आई लिगको ‘दोस्रो हाफ’ पनि मिनर्वाबाट खेलेका थिए । त्यसमा ८ खेलमा गोलपोस्ट सम्हाल्दै उनले मिनर्वालाई ऐतिहासिक रूपमा आई लिग च्याम्पियन बनाउन सहयोग गरेका थिए । जम्सेदपुर एफसीविरुद्ध सुपर कपमा टाइब्रेकरमा दुई पेनाल्टी रोके पनि अफ्नै प्रहार चुकेपछि किरणको टिम मिनर्वा पहिलो चरणबाटै बाहिरिएको थियो ।

‘पन्जाबले गत बर्ष पनि बोलाएको थियो तर उसको प्रस्तावमा अलि चित्त बुझेन, त्यसैले गइनँ,’ किरणले भने । उनले माल्दिभ्सको टीसी स्पोर्ट्सबाट दुई सिजन धिवेही प्रिमियर लिग खेले । पहिलो सिजन २०१७ मा टीसी लिग, प्रेसिडेन्ट कप र एफए कपमा उपविजेता हुँदा उनी विदेशी खेलाडी अवार्डमा ५ खेलाडीको मनोनयनमा परेका थिए । त्यसअघि उनको टिमले बंगलादेशमा शेख कमल कपको उपाधि जितेको थियो, जुन विदेशी भूमिमा माल्दिभ्सको क्लबको पहिलो सफलता थियो ।

टीसी स्पोर्ट्स धिवेही प्रिमियर लिग २०१८ मा च्याम्पियन हुँदा किरणको प्रदर्शन उत्कृष्ट रह्यो । उनी लिगको उत्कृष्ट गोलकिपर नै बने । टीसी स्पोर्ट्स प्रेसिडेन्ट कप र एफए कपमा भने उपवजेतामै रोकिएको थियो । माल्दिभ्सबाट लिग च्याम्पियन भएर स्वदेश फर्केलगत्तै उनी सन् २०१८ मा मिनर्वा पन्जाब पुगेका थिए, जहाँ उनी तीन देश (नेपाल, माल्दिभ्स र भारत) को लिग च्याम्पियन हुने पहिलो नेपाली फुटबलर भए । मछिन्द्रबाट २०६२ सालमा क्लब करिअर सुरु गरेका उनले थ्रीस्टारबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगको उपाधि जितेका थिए । उनले एक सिजन बंगलादेशको चित्तागोङ अबहानीबाट पनि खेलेका थिए ।

उत्कृष्ट प्रदर्शनको वाचा

६ फिट २ इन्च अग्ला किरणले दुई महिनाअघि फेरि एक सिजन टीसी स्पोर्ट्सबाटै खेल्ने सहमति गरेका थिए तर अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई प्राथमिकता दिँदा उनको मौखिक सम्झौता क्लबले रद्द गरिदियो । त्यसैले उनी क्लबविहीन थिए ।

‘व्यावसायिक फुटबलका लागि दक्षिण एसियामा भारत राम्रो छ,’ किरणले भने, ‘टिम कस्तो बनाउने, आउने सिजनको लक्ष्य त्यसैमा भर पर्छ ।’ राष्ट्रिय टिमबाट ११ वर्षयता खेल्ने क्रममा एएफसी सोलिडारिटी कप २०१६ जितेका उनले थपे, ‘त्यहाँ उत्कृष्ट प्रदर्शन गर्दै म अझ राम्रो क्लबमा आबद्ध हुन चाहन्छ । मेरो चाहना आईएसएल खेल्ने हो । त्यसैका लागि उत्कृष्ट प्रदर्शन गर्न मिहिनेत गर्नेछु । मेरो ध्यान पहिलो रोजाइको गोलकिपर रहेर क्लबलाई उत्कृष्ट प्रदर्शन गर्दै खेल जिताउनेमा केन्द्रित हुनेछ ।’

मिनर्वाले टीटमार्फत गोलकिपर अर्शदीप सिंहलाई चार सिजनपछि बिदाइ गरेको जनाएको छ । अरु दुई गोलकिपर भास्कर रोय र निधिन लाल क्लबमै आबद्ध छन् । डिफेन्डिङ च्याम्पियन भएर पनि मिनर्वा आई लिग २०१९ मा ११ क्लबमध्ये नवौं स्थानमा रहेको थियो । एएफसी कपमा पनि समूह चरणबाटै बाहिरियो ।

गत सिजन टिम सम्हालेका सचिन बाधवेलाई बिदाइ गरेपछि मिनर्वामा एएफसी ‘ए’ लाइसेन्स हात पार्ने सबैभन्दा कम उमेरका भारतीय प्रशिक्षक यान ल गत साता नियुक्त भएका थिए । त्यसैले बजाज परिवारको स्वामित्व रहेको क्लबले अर्को सिजनलाई राम्रो टिम बनाउने योजनामा किरणलाई बोलाएको हुनसक्छ ।

प्रकाशित : श्रावण ३, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?