३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सागअघि पोखरा रंगशाला नसकिने

दीपक परियार

पोखरा — मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि पोखरा रंगशाला पुनर्निर्माण पुरै नसकिने भएको छ । निर्माण कम्पनीले कात्तिकसम्म आंशिक रूपमा निर्माण सम्पन्न गर्ने युवा तथा खेलकुद मन्त्रालयलाई जानकारी गराएको हो । 

सागअघि पोखरा रंगशाला नसकिने

सागअन्तर्गत महिला फुटबल पोखरा रंगशालामा हुँदै छ । मन्त्रालयमा शुक्रबार भएको बैठकमा कम्पनीका प्रतिनिधिले साग नरोकिने गरी निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।


बैठकका निर्णयबारे जानकारी दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी सदस्य राजेश गुरुङले सागका खेल नरोक्न सबै सरोकारवाला सकारात्मक भएको बताए । उनले भने, ‘कात्तिकसम्म खेल खेलाउन मिल्ने गरी जति सकिन्छ त्यति गर्ने, बाँकी खेल सकिएपछि गर्ने सहमति भएको छ ।’ उनका अनुसार निर्माण कम्पनीले कात्तिकभित्र खेल सञ्चालन गर्न मिल्ने गरी स्टेडियम निर्माण गर्ने निर्णय भएको छ । मैदान र केही भाग प्यारापिट बन्ने उनले जनाए ।


बैठकले फुटबल मैदान प्राकृतिक नै बनाउने निर्णय गरेको छ । यसअघि निर्माणको जिम्मा पाएको भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा (जीएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चरले कृत्रिम घाँसेमैदान (एस्ट्रो टर्फ) सहितको डिजाइन तयार गरेको थियो । डिजाइन राखेपबाट स्वीकृत नहुँदै कम्पनीले मैदानमा गिट्टी बिछ्याइसकेको थियो । एक हप्ताभित्र प्राकृतिक घाँसे मैदानसहितको ड्रइङ पेश गर्न बैठकले कम्पनीलाई निर्देशन दिएको छ ।

गत साता पोखरा आएका राखेपका नवनियुक्त सदस्यसचिव रमेश सिलवालले निर्माणाधीन रंगशालाको अवलोकन गरे । गिट्टी बिछ्याएको देखेपछि उनले एस्ट्रो टर्फ उपयुक्त नहुने बताएका थिए । उनले कुनै पनि हालतमा पोखरामा प्राकृतिक घाँसे मैदान नै राख्नुपर्ने अडान लिएका थिए ।


युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बुधबार सरोकारवाला डाकेर निर्माणाधीन रंगशालाबारे छलफल चलाएका थिए । उनले कुनै पनि हालतमा प्राकृतिक घाँसे मैदान नै बनाउनुपर्ने बताएका थिए । उनले निर्माण कम्पनीलाई काम गर्न लाग्ने समयको विवरण पेश गर्न निर्देशन दिए पनि शुक्रबारको बैठकमा कम्पनीले पेश गरेन ।


मैदान प्राकृतिक बन्ने भएपछि बिछ्याइएको गिट्टी उठाउनुपर्ने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले पर्यटकीय सहरमा प्राकृतिक घाँसे मैदान नै उपयुक्त हुने बताए । निर्माण कम्पनीले हाल नाला, प्यारापिटको फाउन्डेसन निर्माणलगायत काम गरिरहेको छ ।


स्टेडियम बनाउन असारसम्म समयसीमा थियो । गत पुस १३ मा स्टेडियम बनाउन सम्झौता गरेको थियो । सम्झौताअनुसार १ अर्ब २८ करोड रुपैयाँको लागतमा स्टेडियम बन्नेछ । सम्झौता ६ महिनाभित्र निर्माण कार्य सक्ने उल्लेख भए पनि दुई महिना ढिलो गरी काम सुरु भएको थियो ।


पोखराका बन्न लागेको स्टेडियम १६ हजार ५ सय ३० सिट क्षमताको हुनेछ । चारैतिर प्यारापिट हुने स्टेडियमको दर्शक क्षमता २० हजारसम्म विस्तार गर्न मिल्ने कम्पनीले जनाएको छ । ‘ग्रान्डस्ट्यान्ड’ प्रविधिमा बन्ने स्टेडियममा फिफा मापदण्डअनुसार १ सय २ मिटर लम्बाइ र ६४ मिटर चौडाइको फुटबल मैदान रहने छ । एथलेटिक्सका लागि सिन्थेटिक ट्र्याक बन्नेछ । ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्र्याक हुनुपर्ने सम्झौतामा उल्लेख छ ।


स्टिल मोडुलर प्रविधिको स्टेडियम नेपालमै पहिलो भएको दाबी कम्पनीले गरेको छ । सिन्थेटिक ट्र्याक जर्मनी र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट आउने छ । अन्तर्राष्ट्रिय मापदण्डको स्टेडियममा ट्र्याक एन्ड फिल्ड, शौचालय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फेरेन्स कक्ष लगायत रहनेछन् । स्टेडियममा आधुनिक फ्लड लाइटसहित स्कोर बोर्ड, डिस्प्ले बोर्ड समेत हुनेछन् । स्टेडियममा टेलिभिजनका ठूला स्क्रिनसमेत जडान गरिने छन् ।

प्रकाशित : श्रावण ४, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?