२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

विश्वकप २०२२ छनोट : बलियो अस्ट्रेलिया र नेपालको आशा

राजु घिसिङ

काठमाडौँ — कतारमा हुने विश्वकप २०२२ र चीनमा सन् २०२३ मा हुने एसियन कपको दोस्रो चरणको छनोटमा पाँचौं ‘पट’ मा परेको थियो, नेपाल । त्यो पटमा आठ टिम थिए र त्यसको सिधा अर्थ हो, सबैभन्दा कमजोर टिम नेपाल पनि ।

विश्वकप २०२२ छनोट : बलियो अस्ट्रेलिया र नेपालको आशा

त्यसैले अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई, कुवेत र नेपाल रहेको छनोटको समूह ‘बी’ मा नेपाल सबैभन्दा कमजोर भएको कतै छिपेको छैन ।

फिफा वरीयतामा फुटबलको स्तर मापन गर्ने सर्वमान्य माध्यम होइन । तर, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले चार वर्षयता राष्ट्रिय टिमले हात पारेको नतिजाको आधारमा मासिक रूपमा सार्वजनिक गर्ने वरीयताले पनि ठूलै महत्त्व राख्छ । त्यही वरीयतामा अघिल्लो महिना एसियाको शीर्ष ३४ स्थानभित्र रहेपछि नेपालले सिधै छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।

वरीयतामा नेपाल १६५ औं स्थानमा छ । चार वर्षअघिको एसियन च्याम्पियन अस्ट्रेलिया समूहको सबैभन्दा बलियो टिम हो । ४३ औं स्थानको यो टिमविरुद्ध नेपालले पहिलोपल्ट खेल्न लागेको हो । पछिल्ला समय खस्किएको जोर्डन ९८, चाइनिज ताइपेई १२५ र फिफाको प्रतिबन्धबाट हालै फुकुवा पाएको कुवेत १५६ औं स्थानमा छन् ।

दुई महिनाअघि भएका मैत्रीपूर्ण खेलमा नेपालले कुवेत र ताइपेईविरुद्ध बराबरी नतिजा हात पारेको थियो । विश्वकप छनोटमै ८ वर्षअघि जोर्डनविरुद्ध बिदेशी भूमिमा ९–० ले हारेको नेपालले दशरथ रंगशालामा १–१ मा रोकेको थियो । त्यसलाई लिएर नेपाली टिम छनोटमा उत्साही बनेको छ ।

दशरथ रंगशालाको सबलीकरणले पनि छनोटमा नेपालको घरेलु खेललाई प्रभाव पार्नेछ । ‘होम एन्ड अवे’ का आधारमा सेप्टेम्बर २०१९ देखि जुन २०२० सम्म हुने दोस्रो चरणको छनोटबाट आठ समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट चार टिममात्र अन्तिम चरणमा प्रवेश गर्ने भएकाले नेपाललाई महत्त्वाकांक्षी बन्ने अवसर छैन । अन्तिम छनोटमा पुग्ने १२ टिम एसियन कप २०२३ को फाइनल चरणमा पनि प्रवेश गर्नेछन् ।

महादेशीय च्याम्पियनसिपका बाँकी १२ टिम दोस्रो चरणमा रोकिएका देशहरूबीच हुने अर्को प्रतिस्पर्धाबाट छनोट हुनेछन् । त्यसैले विश्वकप छनोटमा नेपालको एसियन कपतर्फ सोझिनु सकारात्मक हुनसक्छ ।

गत मार्चदेखि नेपाली टिम सम्हालिरहेका योहान कालिनले ३० खेलाडी छनोट गर्दै विश्वकप छनोटका लागि तयारी थालेको तीन साता भइसक्यो । छनोटमा नेपालका प्रतिद्वन्द्वीलाई लिएर स्विडिस प्रशिक्षक कालिन र तीन खेलाडीसँग गरिएको छोटो कुराकानी उनीहरूकै शब्दमा :



सकारात्मक आस

योहान कालिन, मुख्य प्रशिक्षक

स्तरीय टिमविरुद्ध खेल्दा उत्साही हुनुपर्छ । युरोपमा खेल्ने खेलाडीले भरिएको अस्ट्रेलियालाई लिएर उत्साही छौं । अस्ट्रेलियाविरुद्ध खेल्नु कठिन हुन्छ तर यो हाम्रो लागि नयाँ चुनौती हुनेछ । समूहमा हामी सबैभन्दा तल्लो वरीयताको टिम हो । त्यसका आधारमा अस्ट्रेलियाबाहेक अरु टिम पनि बलिया छन् ।

हामीले प्रदर्शन सुधार गर्नेमा ध्यान दिनुपर्छ । त्यसले सकारात्मक नतिजा दिनसक्छ । अर्को चरणका लागि छनोट हुने लक्ष्य लिएर दबाबमा खेल्नु हुन्न । मैले टिम सम्हालेयता कुवेतविरुद्ध दुई र चाइनिज ताइपेईविरुद्ध एक खेल खेलेका छौं । दुवै टिमविरुद्ध उनीहरूकै मैदानमा एक–एक खेल बराबरी गरेका थियौं । दुई प्रतिद्वन्द्वीसँग खेल्दा एक–अर्काको खेल बुझ्ने अवसर पायौं, जुन हाम्रा लागि राम्रो हो । हाम्रो रणनीति प्रतिद्वन्द्वीले बुझ्ने अवसर पनि पायो, जुन हाम्रो लागि घाटा हो । विश्वकप कप छनोटमा घरेलु मैदान र समर्थकको साथले पनि ठूलै प्रभाव पार्छ । हामी दीर्घकालीन योजना लिएर तयारी गरिरहेका छौं । त्यसैले सकारात्मक आशा गर्नुपर्छ ।



रक्षात्मक रणनीति

विशाल राई, मिडफिल्डर

छनोटको दोस्रो चरण भएर पनि होला प्रतिद्वन्द्वीहरू राम्रा छन् । जोर्डन र अस्ट्रेलिया धेरै राम्रा टिम हुन् । दुई राम्रा टिमलाई रोक्ने प्रयास गर्नुपर्छ । हामी कुवेत र ताइपेईविरुद्ध प्रतिस्पर्धा गर्न सक्छौं, चुनौती दिन सक्छौं । हामी उनीहरूलाई सजिलो हुने छैन, हामीलाई पनि सजिलो हुँदैन ।

हाम्रो खेल्ने शैली पनि रोक्ने नै हो । प्रशिक्षकले रक्षात्मक खेलमा जोड दिइरहेका छन् । विपक्षीलाई गोल गर्न नदिने र आफूले पाएको अवसरमा गोल गर्ने रणनीति हो । यस्तोमा हामीले रक्षात्मक रूपमा आ–आफ्नो स्थानमा रहेर राम्रो खेलिरहेका छौं । पछिल्ला खेलहरूमा हामीले खाने गोल पनि कम भएको छ ।

प्रशिक्षकले फिटनेसमा ध्यान दिएका छन्, जसले टिमलाई फाइदा गरेको छ । पहिला पहिलो हाफ राम्रो हुने दोस्रो हाफमा थाक्दै जाने हुन्थ्यो । अहिले त्यसमा सुधार आएको छ । प्रशिक्षकले जो फिट छ, त्यही खेलाडीलाई खेलाउन थालेका छन् । त्यसले खेलाडीमा मिहिनेत गर्ने बानी बढेको छ । ए डिभिजन लिग भएकोले नयाँ खेलाडी आइरहेका छन् । खेलाडी छनोटमा प्रतिस्पर्धा छ, थुप्रै विकल्प छन् । त्यसैले सबैले मिहिनेत गरिरहेका छन् ।



जित्नकै लागि खेल्ने

नवयुग श्रेष्ठ, फरवार्ड

हामीले मिहिनत गर्‍यौं भने कुवेत र चाइनिज ताइपेईलाई पराजित गर्न सक्छौं । यी दुई टिमविरुद्ध हामी दबाबमा खेल्ने छैनौं । अस्ट्रेलिया र जोर्डन हामीभन्दा माथिल्लो स्तरका टिम हुन् । उनीहरूविरुद्ध खेल्न गाह्रै हुन्छ तर रोक्ने प्रयास गरेर खेल्नेछौं । हामीले जित्नकै लागि प्रयास गरेर खेल्नुपर्छ ।

हाम्रो तयारी पनि राम्रो छ । सबै कुरा राम्रो राम्रो भइरहेको छ । पहिलाभन्दा ट्रेनिङ फरक छ, राम्रो पनि । पहिलाभन्दा खेलाडीको गति बढेको छ । सबै खेलाडी राम्रो लयमा छन् । हामीले ठूला टिमविरुद्ध दबाबमा परेपनि पाएका अवसर उपयोग गर्ने गरी खेल्नुपर्छ ।



स्तर बुझ्ने अवसर

किरण चेम्जोङ, गोलकिपर

विश्वकप छनोटमा हाम्रो समूहलाई लिएर उत्साही छु । अस्ट्रेलियाको सामना गर्दा इंग्लिस प्रिमियर लिग खेल्ने खेलाडीको टिमविरुद्ध खेल्ने अवसर पाइरहेका छौं ।

हामीले उनीहरूको स्तर नजिकबाट नियाल्ने, बुझ्ने अवसर पाउँदैछौं । अस्ट्रेलियाका उच्च स्तरका खेलाडीसँग खेल्न पाउँदा खुसी छौं । उत्साही पनि । अस्ट्रेलिया एकदमै राम्रो हो तर घरेलु दर्शकको साथमा हामी राम्रो खेल्न सक्छौं ।

कुवेत बलियो टिम हो । तर उसलाई हामीले रोक्न नसक्ने भन्ने छैन । चाइनिज ताइपेई पनि रोक्न नसकिने होइन । दुवै टिमलाई मैत्रीपूर्ण खेलमा उनीहरूकै मैदानमा बराबरी गरिसकेका छौं । दशरथ रंगशालामा पहिला जोर्डनलाई रोकेकै हो । हामीले घरेलु भूमिमा खेल्न पाउँदैछौं । हामी आफ्नो ठाउँबाट अहिलेदेखि नै तयार हनुपर्छ । हाम्रो ट्रेनिङ राम्रै चलिरहेको छ ।


प्रतिद्वन्द्वीविरुद्ध नेपालको इतिहास

अस्ट्रेलिया : पहिलोपल्ट खेल्न लागेको

जोर्डन : २ खेल (१ हार, १ बराबरी)

चाइनिज ताइपेई : १ खेल (बराबरी)

कुवेत : ६ खेल (५ हार, १ बराबरी)

प्रकाशित : श्रावण ४, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?