टिम च्याम्पियनमा नेपाल दोस्रो

कान्तिपुर संवाददाता

काठमाडौँ — १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको अन्तिम दिन शनिबार नेपालले थप २ स्वर्ण जितेको छ । च्याम्पियनसिपअन्तर्गतको पुरुष एथ्लेटिक फिजिकमा १ सय ६७ सेमिमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्यले स्वर्ण जितेका हुन् ।

पुरुष एथ्लेटिक फिजिकमा भारतका नकुल कौशलले रजत र माल्दिभ्सका फतुल्लाह मोहम्मदले कांस्य जिते। महिलाको मोडल फिजिकमा नेपालकै पूजा श्रेष्ठले रजत र भारतकी निश्रिन पारिखले कांस्य जिते।

च्याम्पियनसिपको सिनियर पुरुष बडीबिल्डिङको ७५ केजीमा अफगानिस्तानका सेफातुल्लाह हफिजी पहिलो, भारतका धर्मेन्द्र कुमार दोस्रो र नेपालका अशोक महर्जन तेस्रो भए। पुरुषकै ८० केजीमा भारतका रवीन्द्रकुमार मल्लिकले स्वर्ण, अफगानिस्तानका मोहम्मद सखीले रजत र नेपालका मिलन सिजापतिले कांस्य जिते।

पुरुषकै ९० केजी तौल समूहमा अफगानिस्तानका गुलाजन ओमर, पाकिस्तानका मोहम्मद सैयद र फहिम अब्बासले क्रमशः स्वर्ण, रजत र कांस्य जिते। यस्तै ९० केजीमाथिको स्पर्धामा अफगानिस्तानका अहमद मोहम्मदी पहिलो, भारतका विनय कुमार दोस्रो र पाकिस्तानका सैयद फजल तेस्रो भए।

जुनियर पुरुषतर्फ माल्दिभ्सका अहमद सैयदले स्वर्ण, भारतका ऋषि अथरेयाले रजत र नेपालका कृष्ण महर्जनले कांस्य जिते।पुरुष एथ्लेटिक फिजिकको १६७ सेमिसम्ममा अफगानिस्तानका अहमद सिकन्दर जादाले स्वर्ण जित्दा नेपालका निशान्तमान प्रधानले रजत र माल्दिभ्सका अहमद फजिलले कांस्य पदकमा चित्त बुझाए। यस्तै पुरुषकै स्पोर्ट्स फिजिकमा माल्दिभ्सका अजनिन रसद पहिलो, नेपालका प्रमोद राई दोस्रो र अफगानिस्तानका ममिदुल्लाह खुर्सिदले तेस्रो स्थान हात पारे। यस्तै पुरुषकै स्पोर्ट्स फिजिकको १७० सेमिमा पाकिस्तानका उस्मान उमर, भारतका सिनु चोभा र भुटानका टासी छोस्केले क्रमशः स्वर्ण, रजत र कांस्य पदक जिते।

च्याम्पियनसिपको ओभरलतर्फ भने भारतका रवीन्द्रकुमार मल्लिकले उपाधि जिते। ८० केजी तौल समूहको स्वर्ण विजेता मल्लिकले मिस्टर साउथ एसियाको उपाधिसमेत पाएका छन्। टिमतर्फ अफगानिस्तान पहिलो, नेपाल दोस्रो र भारतले तेस्रो स्थान हात पार्‍यो।

यसअघि शुक्रबार नेपालले एक स्वर्ण जितेको थियो। पुरुष ६५ केजी तौल समूहमा समीरले स्वर्ण जितेका थिए। नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा सम्पन्न प्रतियोगितामा अफगानिस्तानसमेत गरी दक्षिण एसियाका ८ टोलीका १ सय ३० खेलाडी सहभागी थिए। प्रतियोगितामा नेपालले ३ स्वर्ण, ७ रजत र ६ कांस्य जितेको हो। नेपालबाट १८ पुरुष र ५ महिला गरी २३ खेलाडीले विभिन्न स्पर्धामा सहभागिता जनाएका थिए।

प्रकाशित : श्रावण ४, २०७६ २१:४८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

'लालटिनको उज्यालोमा' पुस्तक एमाजोनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — चर्चित पुस्तक 'लालटिनको उज्यालोमा' अब अन्तर्राष्ट्रिय सपिङ्ग साईट एमाजोनमा उपलब्ध भएको छ । सरस्वती ज्ञवालीद्वारा लिखित उक्त पुस्तक शनिबारदेखि एमाजोनमा राखिएको हो । एमाजोन डटकममा लालटिनको उज्यालो सर्च गर्दा पुस्तक भेटिन्छ । 

हाललाई अमेरिकामा तत्काल डेलिभरी गर्न मिल्ने गरी राखिएको पुस्तकको मूल्य १६ डलर छ । लेखक ज्ञवालीले अमेरिका लगायत संसारका धेरै देशका पाठक तथा शुभचिन्तकहरुको सल्लाहअनुसार पुस्तक एमाजोनमा राखेको बताइन् ।

नारीको संघर्ष र राजनीतिक चेतना लगायत विषयमा पुस्तक केन्द्रित छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नीसमेत रहेकी लेखक ज्ञवालीको गत सालको चर्चित पुस्तक हो ।

प्रकाशित : श्रावण ४, २०७६ २१:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT