धर्मसेनाले माने आफ्नाे भूल

एएफपी

कोलम्बो — विश्वकप क्रिकेटको फाइनलमा इंग्ल्यान्डलाई न्युजिल्यान्डको ओभर–थ्रोमा छ रन दिएका अम्पायर कुमार धर्मसेनाले त्यसमा आफ्नो भूल स्विकारेका छन् । अन्तिम ओभरको त्यस स्थितिमा इंग्ल्यान्डलाई एक रन कम दिनुपर्ने पनि उनले आइतबार मानेका छन् ।

थ्रो रनआउटबाट बच्न ‘डाइभ’ गरेका बेन स्टोक्सको ब्याटमा लागेर बाउन्ड्रीतर्फ गएको थियो । त्यति बेला उनी दोस्रो रन पूरा गर्ने प्रयासमा थिए र अम्पायर धर्मसेनाले छ रनको संकेत गरे ।


त्यसका तीन बलपछि इंग्ल्यान्ड ५० ओभरमा २ सय ४१ रन बनाएर अलआउट भयो र खेल ‘टाई’ भयो । त्यसअगाडि न्युजिल्यान्डले आठ विकेटमा २ सय ४१ रन बनाएको थियो । ‘टाई’ को स्थितिमा फाइनल सुपर ओभरमा गएको थियो र त्यसमा पनि स्कोर बराबर भएपछि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेको आधारमा विश्वकप जितेको थियो । पूर्वअम्पायर साइमन टफेल र अरू केहीले यसअघि नै इंग्ल्यान्डलाई पाँच रन मात्र दिनुपर्ने जिकिर गरिसकेका छन् ।


बल थ्रो गर्दाको स्थितिमा ब्याट्सम्यानले दोस्रो रन पूरा गरिनसकेको स्थितिमा पाँच रन मात्र दिनुपर्ने नियम थियो । पूर्वश्रीलंकाली टेस्ट खेलाडीले सन्डे टाइम्सलाई दिएको अन्तर्वार्तामा आफूलाई टेलिभिजन रिप्लेको अवसर प्राप्त नभएको र आफूले ब्याट्सम्यानले दोस्रो रन पूरा गरेको अथवा नगरेको भन्न सकिने स्थिति नरहेको बताए । उनले त्यस स्थितिमा आफूले पाँच रन मात्र दिनुपर्ने पनि स्विकारे । उनले भने, ‘मेरो निर्णय गलत थियो, टेलिभिजनमा रिप्ले हेरेपछि त्यसतै देखिन्छ ।’


फाइनलमा उनीसँगै दक्षिण अफ्रिकाका मारिस इरामुस अम्पायर रहेका थिए । धर्मसेनाले भनेका न्, ‘मैदानमा टेलिभिजन रिप्लेको सुविधा हुन्न । त्यसैले मलाई आफ्नो निर्णयमा कुनै प्रकारको गुनासो भने छैन ।’ उनले छ रन दिने क्रममा मैदानमा रहेका अर्का अम्पायरसँग पनि सल्लाह गरेको बताए । ‘मैले लेग अम्पायर इरामसुसँग उपलब्ध सञ्चार व्यवस्थाको मद्दतबाट कुरा गरेको थिएँ र त्यो सबै अरू अम्पायर र म्याच रेफ्रीले पनि सुनेका थिए,’ उनले भने ।


उनले थपे, ‘उनीहरूसँग पनि टेलिभिजन रिप्लेको सुविधा थिएन । त्यसैले उनीहरूले पनि ब्याट्सम्यानले दोस्रो रन पूरा गरेको नै माने । त्यसपछि मात्र मैले आफ्नो निर्णय सुनाएको हुँ ।’ यसअघि फक्स स्पोर्टससँग कुराकानी गर्दै टफलले फाइनलमा अम्पायरले स्पष्ट भूल गरेको दाबी गरेका थिए । उनले पनि मैदानमा रहेका अम्पायरको समर्थन गर्दै त्यसै एक निर्णयले खेलको नतिजा नै प्रभावित भएको भने मान्न नसकिने बताएका थिए ।

प्रकाशित : श्रावण ६, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?