कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बीबीसी च्याम्पियन टिमको दाउ

राजु घिसिङ

काठमाडौँ — घरेलु फुटबलमा अनिल गुरुङको नाम डेढ दशकअघि खुबै चम्किएको थियो । तीनै खेलाडी पोखरा क्षेत्रका थिए । त्यसमध्ये अनिल ‘सी’ आफ्नो पुस्ताका स्टार खेलाडी नै बने । इंग्ल्यान्डमा ट्रायल दिए । भारतमा आई लिग खेले ।

बीबीसी च्याम्पियन टिमको दाउ

सबभन्दा बढी कमाउने नेपाली फुटबलरको कीर्तिमान बनाए । राष्ट्रिय टिमको कप्तानसमेत बनेका उनको करिअर ठीक १५ वर्षअघि ब्रिगेड ब्वाइज क्लबबाट सुरु भएको थियो ।


मानभवनको क्लब ब्रिगेड ब्वाइजले राजधानीको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा डेब्यू गरेकै वर्ष अनिल चम्किएका थिए । त्यहाँ अनिल एक सिजन मात्रै टिके । तेस्रो सिजन (२०६३ साल) ब्रिगेड ब्वाइज रेलिगेसनमा पर्‍यो । ए डिभिजनमा फर्किएको पहिलो वर्ष (२०६८) पनि घटुवा भयो । त्यसपछि रेलिगेसन नहुने लिग (२०७५) मा माथिल्लो श्रेणीमा फर्कियो, जहाँ १४ क्लबमध्ये १२ औं स्थानमा रह्यो ।


सिनियर फुटबलको माथिल्लो लिगमा घटुवा–बढुवालाई आलोपालो गरिरहेको यो क्लब जुनियर फुटबलमा भने लगातार च्याम्पियन भएको छ । उसले पुलिसलाई १–० ले पन्छाउँदै आइतबार ललित स्मृति यू–१८ फुटबलको उपाधि रक्षा गर्‍यो ।


गत वर्ष ब्रिगेड ब्वाइज लगातार दुईपल्टको च्याम्पियन आर्मीलाई १–० ले यू–१८ च्याम्पियन भएको थियो । उसले यसपालि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अर्को विभागीय टिम पुलिसलाई त्यही अन्तरमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । यो उपाधि जोगाउने अभियानमा ब्रिगेड ब्वाइजलाई गत वर्ष स्वर्णपदक थापेका पाँच खेलाडीको साथ रह्यो ।


अहिलेको विजेता टिमका १८ मध्ये दर्जन खेलाडी एन्फा एकेडेमीद्वारा उत्पादित हुन् । त्यसमध्ये सात खेलाडीले पछिल्लो सिजन ब्रिगेड ब्वाइजबाटै ए डिभिजन लिग खेलेका थिए । त्यो टिममा पुलिसको अग्रपंक्ति सम्हालिसकेका फरवार्ड रेजिन सुब्बा थपिए ।


समूह चरणको अन्तिम खेलबाट ब्रिगेड ब्वाइजको जर्सी लगाएका रेजिनले चार खेलमा चार गोल गरे । उनी बृजेश चौधरीको सहकर्मी बन्न आइपुगेका थिए । त्यसअघि बृजेश र रोशन रानामगरले अग्रपंक्ति सम्हालेका थिए । सबै खेलमा गोल गर्ने क्रममा बृजेशले प्रतियोगिताकै सर्वाधिक आठ गोल गरे भने रोशनको खातामा ६ गोल रह्यो । दुवैले खेलाडीले प्रतियोगिताको पहिलो खेलमा ह्याट्रिक गरेका थिए, जहाँ ब्रिगेड ब्वाइजले सरस्वतीलाई ११–१ ले निरीह तुल्याएको थियो ।


फाइनलको एक मात्र गोल पनि बृजेशकै नाममा रह्यो । प्रतियोगितको उत्कृष्ट फरवार्डको अवार्ड जितेका उनले रिबाउन्डमा गोल गरेका थिए । रेजिनको पासमा पृथ्वी चौधरीले प्रहार गरेको बललाई पुलिसका गोलकिपर निशान्त खडकाले फितलो रूपमा रोकेपछि त्यसलाई बृजेशले पोस्टको दिशा दिएका थिए ।


घुँडाको शल्यक्रिया गरेर दुई वर्षपछि पुनरागमन गर्दै लयमा फर्किएकामा उनी दंग छन् । समूह चरणको भेटमा ब्रिगेड ब्वाइजले पुलिसविरुद्ध ३–० को सफलता हात पारेको थियो । प्रशिक्षकको रूपमा भोला सिलवालले सम्हालेको पुलिसभन्दा बलियो देखिए पनि ब्रिगेड ब्वाइजले गोल थप्न सकेन ।


‘हामीले समूह चरणमा जस्तै तीन गोलले जित्ने सोचेका थियौं तर फाइनलमा पुलिस राम्रो रह्यो,’ ब्रिगेड ब्वाइज यू–१८ का प्रशिक्षक सुबित कार्कीले भने, ‘पुलिसले रक्षात्मक खेल्दा हामीलाई गाह्रो भयो । उपाधि जित्न भने त्यति गाह्रो परेन । उपाधि रक्षा गर्नु नै उपलब्धि रह्यो ।’ प्लेमेकर जय गुरुङ (कप्तान), फरवार्ड रेजिन, सेन्टरब्याक रन्दीप पौडेल र विंगर शिशिर लेखीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । राष्ट्रिय यू–१८ टिमका चार खेलाडी समावेश टिमले प्रत्येक खेलमा सुधारिएको प्रदर्शन गरेको प्रशिक्षक कार्कीले बताए ।


ललितपुरस्थित बुद्धि विकास मैदानमा दुई महिनाको तयारीपछि एन्फा कम्प्लेक्समा ट्रफी उचालेको टिमलाई आउने ए डिभिजन लिगको आधारको रूपमा लिइने ब्रिगेड ब्वाइज क्लबका कार्यसमिति सदस्य लालकुमार पुनले बताए । बत्तीस वर्षअघि स्थापित क्लबको योजनाबारे उनले भने, ‘आयस्रोतको अभावमा हामी महँगा खेलाडी लिन सक्दैनौं । यही टिमलाई ए डिभिजन लिगका लागि अहिलेबाटै तयारी गर्ने लक्ष्य हो । पछिल्लो लिगमा पनि जुनियरलाई अवसर दिएका थियौं । यो टिममा आवश्यकताअनुसार ५–६ सिनियर खेलाडी थपेर ए डिभिजन लिग खेल्नेछौं ।’


उत्कृष्टहरू

गोलकिपरविशाल सुनारआर्मी

डिफेन्सविशाल बस्नेतपुलिस

मिडफिल्डशिशिर लेखीब्रिगेड ब्वाइज

फरवार्डबृजेश चौधरीबिग्रेड ब्वाइज

प्रशिक्षकसुबित कार्कीब्रिगेड ब्वाइज

प्रकाशित : श्रावण ६, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?