१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लिभरपुलको अभियान के कमजोर हुनेछ ?

बीबीसी

लन्डन — गत सिजन म्यानचेस्टर सिटी र लिभरपुलले इंग्लिस प्रिमियर लिग इतिहासमै सबैभन्दा बढी अंक बटुले । त्यसको कारण दुवै टिमका आक्रामक खेलाडी नै थिए । सबैखाले प्रतियोगितामा सिटीले १ सय ६९ गोल गरेको थियो ।

लिभरपुलको अभियान के कमजोर हुनेछ ?

त्यसमध्ये सात खेलाडीको गोल संख्याले दोहोरो अंक छोयो । लिभरपुलले गोलमा प्रदर्शन पनि कम्तीमा थिएन तर उसका तीन खेलाडीले मात्र सातभन्दा बढी गोल गरे ।

सन् २०१९–२० को नयाँ सिजन केही दिन मात्र टाढा । अगस्ट ४ मा यिनै दुई टिमबीच हुने कम्युनिटी सिल्डसँगै नयाँ सिजन सुरु हुनेछ र अपेक्षा गरिएको छ, यसपल्टको लिगमा पनि यिनै दुई टिमको बाहुल्य हुनेछ । सिटीसँग अरू कोहीसँग तुलना गर्न नसकिने आक्रामक खेलाडीको गहिराइ छ । लिभरपुल भने गत सिजन तीन खेलाडीमै मात्र निर्भर थियो, मोहम्मद सलाह, साडियो माने र रोबर्टो फिरमिनो । यी तीनै खेलाडी लिभरपुलको अमेरिकामा चल्ने प्रि–सिजन टुरमा अनुपस्थित छन् ।

आफ्नो राष्ट्रिय टिमका लागि खेल्नुपरेको हुनाले उनीहरू अमेरिका जान नसकेका हुन् । अब प्रश्न उठ्नेछ, यी तीन खेलाडीको अनुपस्थिति र कम आराम गर्न पाउनुले लिरभपुलको अभियानमा धक्का पुग्नेछ त ? अथवा यसबाट मुक्त हुन के लिभरपुलसँग योजना ‘बी’ पनि छ त ? सिजन सुरु हुन केही दिनअगाडि मात्र उनीहरू टिममा फर्कनेछन् र प्रशिक्षक योर्गन क्लोपले पनि मानेका छन्, त्यसै स्थितिमा टिमको व्यवस्थापन गर्नुपर्नेछ ।

यो पक्कै पनि लिभरपुलका लागि चिन्ताको विषय हुनेछ, किनभने लिभरपुलले पछिल्लो सिजन एकै खेल मात्र गुमाएको थियो, लिगमा । तर पनि टिमले लिग उपाधि भने जित्न सकेन । मानेको सिजन त शुक्रबार मात्र सकियो, जति बेला उनको टिम सेनेगल अफ्रिकी कप अफ नेसन्सको फाइनलमा अल्जेरियाको हातबाट १–० ले पराजित भयो । सन् २०१८–१९ को सिजनको अभ्यासलाई जोड्ने हो भने उनका लागि यो समय ३ सय ६३ दिन लामो रह्यो ।

अहिले कम्युनिटी सिल्डका लागि दुई साता बाँकी छ र युरोपेली च्याम्पियनले त्यससँगै नौ दिनमा तीन खेल खेल्नुपर्नेछ । ती लिगमा नरविचविरुद्ध र यूईएफएकपमा युरोपा लिग विजेता चेल्सीविरुद्ध हुनेछन् । हुन सक्छ, यी सबै खेलमा माने अनुपस्थित हुनेछन् । सलाह त्यही अफ्रिकी कप अफ नेसन्समा इजिप्टका लागि व्यस्त रहे भने फिरमिनोले ब्राजिलका लागि कोपा अमेरिका खेले । त्यसो त गत सिजन तीन उपाधि जितेको सिटीका प्रमुख केही खेलाडी पनि उत्तिकै व्यस्त रहे ।

जस्तो ग्याब्रियल जेसससँगै सर्जियो एगुइरो कोपा अमेरिका खेल्न व्यस्त थिए भने रियाद महरेजले अल्जेरियाका लागि अफ्रिकी कप अफ नेसन्स नै जिते । यसले सिटीलाई लिभरपुलको जस्तो समस्या भने हुने छैन, किनभने उससँगै रहिम स्टर्लिङ, बर्नार्डो सिल्भा र लेरोय सेनजस्ता खेलाडी छन् । त्यसैले क्लोपले पनि भनेका छन्, ‘म कुनै ठूलो गुनासो गर्न चाहन्नँ, तर मानेको सिजन १३ महिना जत्तिकै लामो भयो । कसैले सुनेको छ र एकै वर्षमा १३ महिना ?’

उनले थपेका छन्, ‘यी तीन खेलाडीलाई लिएर कसरी स्थितिको सामना गर्ने हो, त्यसबारे हामीले गहिरिएर सोच्नैपर्छ । फिरमिनोका लागि सिजन निकै राम्रो रह्यो, उनले दुई उपाधि जिते । सलाहको घटना भने अलि फरक छ, म उनीसँग लगातार सम्पर्कमा छु । मेरो विचारमा तीनै खेलाडी राम्रो स्थितिमा छन् । अबका केही दिनमै महत्त्वपूर्ण खेल आउँदै छन् र हामी उनीहरूको उपलब्धताबारे प्रस्ट हुनैपर्छ । विश्वास गरौं, सबै राम्रो नै हुनेछ र हाम्रो तयारी सोचेजस्तै हुनेछ ।’

इमा सान्डर्स

प्रकाशित : श्रावण ६, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?