१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नेपाललाई जम्ने मौका

विनोद पाण्डे

काठमाडौँ — विगत हेर्दा कतारसँग नेपाल निकै सजग हुनुपर्ने अवस्था छ । वर्तमान हेर्ने हो भने नेपाललाई खासै गाह्रो नहुन सक्छ । यही अवस्थामा नेपालले विश्व ट्वान्टी–२० को एसिया छनोटको यात्रा प्रारम्भ गर्दै छ । प्रतियोगिता सोमबारदेखि सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा हुनेछ । नेपालले कतारसँग मंगलबार खेल्नेछ । 

नेपाललाई जम्ने मौका

कतारले सोमबार सिंगापुरसँग खेलेर प्रतियोगिताको प्रारम्भ गर्नेछ । नेपाल, कतार, सिंगापुरसहित मलेसिया र कुवेतले प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् । एक सातासम्म चल्ने छनोट प्रतियोगिताको विजेता विश्व ट्वान्टी–२० ग्लोबल छनोटमा पुग्नेछ । नेपाल अहिले जुन स्थितिमा छ, त्यो हेर्दा सजिलै प्रतियोगिता जित्ने अनुमान गर्न सकिन्छ । तर नेपाललाई कसैले चुनौती दिन सक्छ भने त्यो कतार नै हुन सक्छ ।


ट्वान्टी–२० अन्तर्राष्ट्रियको वरीयतामा नेपाल ११ औं स्थानमा छ, जुन स्कटल्यान्ड, आयरल्यान्ड र जिम्बावेको भन्दा माथि हो । सिंगापुर आउनुअघि नेपालले मलेसियामा १० दिन अभ्यासमा बिताएको थियो र मलेसियासँगको दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–० ले ‘क्लिन स्विप’ गरेको थियो । जनवरी यता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दुई देशबीच खेलिने ट्वान्टी–२० लाई अन्तर्राष्ट्रिय मान्यता दिन थालेको छ । वर्तमान स्थितिमा कतार २१ औं स्थानमा छ ।


सिंगापुरमा सहभागी टोलीमा नेपालपछि वरीयतामा कतार सबैभन्दा माथि छ । गत वर्षको अप्रिलमै भएको वेस्टर्न रिजनमा कतार दोस्रो भएको थियो र उपाधि भिडन्तमा टोली यूएईसँग ९ विकेटले पराजित भएको थियो । यही प्रदर्शनले कतारलाई वरीयतामा माथि ल्याएको छ । त्यही यूएईलाई राउन्ड रोबिनको खेलमा कठिन चुनौती तेर्स्याएको कतारले त्यसपछि कुवेतलाई २६ रनले, माल्दिभ्सलाई ४४ रनले, साउदी अरेबियालाई ४ विकेटले र बहराइनलाई ५ विकेटले पराजित गरेको थियो ।


कतारले यूएईसँगको पहिलो खेलमै १ सय ४३ रन बनाएको थियो, जसलाई पन्छाउन यूएईले १९ औं ओभरसम्म कुर्न परेको थियो । कुवेतसँग टोलीले १ सय ६७ रन बनाएको थियो । दुई साताअघि मात्र कतारले कुवेतलाई तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि निम्त्याएको थियो । शृंखला २–१ ले जित्ने क्रममा कतारले तेस्रो खेलमा कुवेतले छाडेको २ सय ३ रनको लक्ष्यलाई २ सय ६ रन बनाउँदै पार गरेको थियो ।


इस्टर्न क्षेत्रमा खेलेको नेपालले खासै चुनौतीको सामना गर्नुपरेको थिएन । नेपालले मलेसिया र सिंगापुरसहित अति कमजोर राष्ट्र म्यानमार, थाइल्यान्ड, भुटान, चीनलाई सजिलै पन्छाएको थियो । त्यसयता नेपालले दुबईमा गएर यूएईसँगको तीन खेलको शृंखलामा २–१ को ऐतिहासिक जित निकालेको थियो । विश्व ट्वान्टी–२० छनोटको आयोजक राष्ट्र भएकाले यूएई वेस्टर्न रिजनको विजेता भए पनि एसिया क्षेत्रमा नखेल्ने भएकाले सिंगापुरको प्रतियोगिताबाट विजेता मात्र छानिनेछन् ।


नेपालसँग कतारको खासै तुलना हुँदैन । नेपालले तीन पटक विश्व ट्वान्टी–२० छनोटमा सहभागिता जनाइसकेको छ । २०१३ को छनोटबाट नेपालले विश्व ट्वान्टी–२० नै खेलेको थियो । गत वर्ष यही समयमा नेपालले इंग्ल्यान्डको लर्डसमा नेदरल्यान्ड्ससँग

ट्वान्टी–२० खेलेको थियो । आईसीसीबाट नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको अवस्थामा नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा गतिलो एक्सपोजर पाएको छैन । नेपाललाई पहिलो खेलमै स्तब्ध पार्दै कतार पहिलो पटक विश्व ट्वान्टी–२० छनोटमा पुग्ने दाउमा छ ।


कतारसँगको यसअघिका दुई भेटमा नेपालसँग मिश्रित अनुभव रहेको छ । २००७ मा कुवेतमा भएको एसीसी ट्वान्टी–२० मा नेपाललाई कतारले ३ विकेटले पराजित गरेको थियो । यो त्यही प्रतियोगिता हो जुन नेपालले अन्तर्राष्ट्रियमा खेलेको पहिलो ट्वान्टी–२० थियो । दुई वर्षपछि यूएईमा नेपालले ६ विकेटको विजय निकाली कतारसँग बदला लियो । त्यसका बाबजुद धेरैले मानेका थिए, त्यति खेरसम्म नेपाल ट्वान्टी–२० क्रिकेटमा भिजिसकेको थिएन । नेपाललाई ट्वान्टी–२० मा अझै जम्न नसकेको टोलीको रूपमा लिइन्छ ।कम्तीमा सिंगापुरको एसिया छनोट नेपाललाई खुलेर खेल्ने राम्रो अवसरको रूपमा आएको छ, त्यसका लागि कतारसँग पहिलो खेल जुरेको छ ।

प्रकाशित : श्रावण ६, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?