३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

धुर्मुस -सुन्तली फाउण्डेशन रंगशाला निर्माणको काममा फर्कियो

रमेशकुमार पौडेल

चितवन — धुर्मुस-सुन्तली फाउण्डेशनले प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यमा फर्किएको छ । स्थानीयले डोजर लगाएर रंगशाला निर्माण क्षेत्रको जस्ताको अस्थायी बार भत्काएपछि  निर्माण कार्य स्थगित भएको थियो । 

धुर्मुस -सुन्तली फाउण्डेशन रंगशाला निर्माणको काममा फर्कियो

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले सोमबार भरतपुरमा भएको पत्रकार भेटघाटमा आफूहरू काममा फर्किएको जानकारी गराए । ‘अब भोलि मंगलबार बिहानबाटै फिल्ड कार्यालय फेरि खुल्ने छ । वर्षात्‌को समय छ फिल्डमा गर्न मिल्ने जे जति काम हुन्छन् सबै भोलिबाटै सुरु हुन्छन्’ कट्टेलले भने ।


त्यसअघि कट्टेलले रंगशाला निर्माण मूल सहयोग समितिका पदाधिकारीहरूसँग छलफल गरेका थिए । चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको संयोजकत्वमा ५००१ सदस्यीय सहयोग समिति बनेको छ ।


‘रंगशाला निर्माणका लागि जिल्लामा राम्रो माहोल बनाउने, स्रोत संकलन अभियानलाई योजना बनाएरै अगाडी बढाउने, कार्य सूचीसहित सबै स्थानीय तहसम्म जाने सहमति भएको छ । अभियान पनि अगाडी बढ्छ । रंगशालाको काम पनि हुन्छ’ कट्टेलले भने । जेठ १५ गते बिहान सबेरै रंगशाला निर्माण क्षेत्रको अस्थायी बार स्थानीयले भत्काएका थिए । त्यसपछि फाउण्डेशनले काम स्थगित गरेको थियो ।


कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा रहेको २० बिघा जमिनमा फाउण्डेशनले जनस्तरमा ३ अर्ब रुपैयाँ सहयोग जुटाएर क्रिकेट रंगशाला बनाउँदै छ । भरतपुर महानगरले रंगशाला निर्माणका लागि फाउण्डेशनलाई जग्गा उपलब्ध गराएको छ ।


माघ १६ मा काठमाडौँमा प्रधानमन्त्रीसमेत उपस्थित बृहत् कार्याक्रममा रंगशाला बनाउने विषयमा महानगर र फाउण्डेशनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । लगत्तै डीपीआर र ईआईए निर्माणका काम सुरु भए ।


फाउण्डेशनले निर्माण क्षेत्र बारेर क्रिकेट मैदानको कामसमेत सुरु गरेको थियो । तर बाटो विस्तारको विषयमा विवाद सुरु भएर रंगशाला निर्माण क्षेत्रको पश्चिमतर्फको बार स्थानीयले भत्काएका थिए ।


ठुलो आर्थिक स्रोत जुटाएर गर्नुपर्ने रंगशाला निर्माणमा भने जसरी नगद सहयोग आउन सकेको थिएन । यस्तो बेलामा स्थानीयले नै बार भत्काएपछि नकारात्मक सन्देश गएर थप सहयोग जुट्ने सम्भावना रोकिएको थियो । चितवनका राजनीतिक दल, जिल्ला समन्वय समिति र भरतपुर महानगरले पटक–पटक बैठक छलफल राखेर फाउण्डेशनलाई काममा फर्कन अनुरोध गर्दै वातावरण बनाउने काम गरेको थियो ।


महानगर मेयर रेणु दाहाल र जिल्ला समन्वय समिति प्रमुख तथा सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले असार ४ मा संयुक्त विज्ञप्ति जारी गरेर फाउण्डेशनलाई काममा फर्कन अपिल गरेका थिए । लगत्तै फाउण्डेशनले पनि विज्ञप्ति मार्फत नै काममा फर्कने बताएको थियो । ‘अब हामी आइसक्यौँ । जिल्लामा माहोल बनेको छ । चितवन तात्ने छ र रंगशाला बनाएर मात्रै हामी फर्कने छौँ’ कट्टेलले भने ।

प्रकाशित : श्रावण ६, २०७६ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?