कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युभेन्ट्स कति बलियो ?

द गार्डियन

टुरिन — ‘फुटबलमा दबाब सामान्य हो, मलाई यो समस्या लाग्दैन,’ यी शब्द हुन् म्याथिज डी लिग्टको । उनी हुन् युभेन्ट्सको यस सिजनका नवौं अनुबन्धका खेलाडी, सबैभन्दा महत्त्वपूर्ण पनि ।

युभेन्ट्स कति बलियो ?

यी १९ वर्षीय अयाक्स कप्तानलाई अनुबन्ध गर्ने होडमा युभेन्ट्सले पीएसजीलाई उछिनेको थियो । उनी आएयता युभेन्ट्सको टिममा उत्साह छाएको हुनुपर्छ नयाँ सिजनलाई लिएर । ठीक यही बेला युभेन्ट्सले दबाब पनि महसुस गरेको हुनुपर्छ, त्यही नयाँ सिजनलाई लिएर ।

अहिले विश्वास के बलियो हुन थालेको छ भने युभेन्ट्सको टिम सन् १९९६ यता पहिलोपल्ट यति बलियो भएको छ कि यसले अब युरोपेली च्याम्पियन्स लिग जित्न सक्छ । पछिल्लो ५ वर्षमा युभेन्ट्सले दुई अवसरमा फाइनलसम्म यात्रा तय गरेको थियो, तर बार्सिलोना र रियल म्याड्रिडसँग पराजित रह्यो । गत सिजन युभेन्ट्स च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणमा रोकियो । त्यो पनि अयाक्सको हातबाट । सिजनको अन्त्य पुग्दा प्रशिक्षक म्याक्स एलेग्रीले राजीनामा पनि दिए ।

पाँच सिजन र पाँच बुन्डेसलिगा उपाधिपछि एलेग्रीले छोड्नु नै ठीक माने । उनको स्थानमा प्रशिक्षकको जिम्मेवारी पाएका छन् माउरिसियो सारीले । क्लबमा उनको नियुक्तिलाई लिएर सबै सन्तुष्ट भने छैनन् । किनभने यी ६० वर्षीय प्रशिक्षक गैर युभेन्ट्स पाराका छन् । थ्री पिस र टाइमा सजिनुभन्दा उनलाई ट्र्याकसुटमै रहनु ठीक लाग्छ । विश्वास के पनि छ भने युभेन्ट्स कति धेरै बलियो छ भने उनी पनि यहाँ सफल प्रशिक्षक नै साबित हुनेछन् ।

धेरैको अपेक्षा सारीले त्यसरी नै फुटबल खेलाउने छन्, जसरी उनी छँदा नेपोलीले आक्रामक फुटबल खेलेको थियो । उनले भनेका छन्, ‘युभेन्ट्सले पछिल्लो पाँच वर्ष कति धेरै जितेको छ भने अबको पाँच वर्ष त्यत्तिकै गर्न गाह्रो हुनेछ । अहिले जुन टिम उपलब्ध छ, त्यसको मदतले त्यो भन्दा बढी सफलता प्राप्त हुने विश्वास भने गर्न सकिन्छ ।’

युभेन्ट्सले डी लिग्ट मात्र होइन, एडरिने राबोट, आरोन राम्से, वेस्ली र जियानलुइजी बुफोनलाई पनि अनुबन्ध गरिसकेको छ ।

त्यस्तै लुका पेलेग्रेनी, क्रिस्टियानो रोमेरो, मरिह डमराल र जुका जानिमाचिया पनि टिममा भित्र्याइसकेको छ । यी सबै खेलाडीको आगमनले सारीको टिम वास्तवमै बलियो भएको छ ।

त्यसैले सारीलाई गोन्जालो हिगुइनलाई बेच्दाको स्थितिमा पनि केही समस्या हुने छैन । चेल्सीमा छँदा सारीले हिगुइनलाई ल्याउन खुबै मिहिनेत गरेका थिए । जेहोस् युभेन्ट्सको अहिलेको सम्भावित सुरुआती ११ खुबै बलियो छ । त्यति मात्र होइन, उनको रिजर्भ ११ पनि उत्तिकै बलियो देखिन्छ ।

सारीको सुरुआती ११ मा राम्सेले महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ । सारी यी पूर्व आर्सनल मिडफिल्डरका खुबै ठूला प्रशंसक हुन् । राम्से यस्ता खेलाडी हुन्, जसले रक्षात्मक र आक्रामक भएर खेल्न सक्छन् अनि गोल गर्न त्यत्तिकै माहिर छन् । सारीको रणनीतिमा क्रिस्टियानो रोनाल्डो त हुने नै छन् । युभेन्ट्सको प्रशिक्षक भएयता उनले गरेको पहिलो काम नै रोनाल्डोलाई भेटेर टिमबारे कुराकानी गर्नुभएको थियो । त्यति बेला रोनाल्डो ग्रिसमा बिदा मनाइरहेका थिए ।

सारीले भनेका छन्, ‘हामीसँग जति राम्रा खेलाडी छन्, सबैले सुरुदेखि खेल्न पाउने छन् ।’ अहिले युभेन्ट्स टिममा खुसी देख्न पाइन्छ । यो खुसीले आत्मविश्वास बढाउने गर्छ । इटालीको घरेलु फुटबलमा राम्रो प्रदर्शनका लागि युभेन्ट्सले सायद नै संघर्ष गर्नेछ । युभेन्ट्सका लागि सिजनको वास्तविक सुरुआत फेब्रुअरीमा मात्र हुनेछ, जति बेला च्याम्पियन्स लिगमा नकआउट चरण सुरु हुनेछ । त्यसै बेला देखिने छ, युभेन्ट्स वास्तवमै कति बलियो छ भनेर ।

– फाब्रिजो रोमानो

प्रकाशित : श्रावण ७, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?