रंगशाला निर्माण अलपत्र

मनोज पौडेल

कपिलवस्तु — सदरमुकामस्थित बुद्ध पद्म माविपरिसरमा निर्माण हुन लागेको रंगशालाको काम अलपत्र बनेको छ । ५ हजार दर्शक क्षमताको रंगशालाको काम रोकिएको हो । निर्माणका विषयमा विद्यालय र कपिलवस्तु नगरपालिकाबीच सहमति हुन नसकेपछि काम अलपत्र परेको छ ।

रंगशाला निर्माण अलपत्र

सुरुमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आवश्यक परेकाले टेण्डर आहान गरियो । माइलस्टोन कन्सल्टेन्सी काठमाडौंले डीपीआरको ठेक्का लिएको थियो । डीपीआर बनाउने क्रममा माटो परीक्षण गर्नुपर्ने भयो । त्यसपछि विश्वा कन्ट्रक्सनलाई अर्को ठेक्का दिइयो । माटो परीक्षणबाट सकारात्मक प्रतिवेदन आयो ।


डीपीआर तयार भएर रंगशालाको स्वरुप, डिजाइन र लागत इस्टमेट पनि भइसकेको थियो । यस अवधिमा करिब २० लाख रुपैयाँ खर्च भएको जनाइएको छ । रंगशाला निर्माणका लागि सुरुआत नगरपालिकाले ठेक्का आहान गर्‍यो । मैदान सम्याउन र पर्खाल उठाउन ठेकेदारले निर्माण सामग्री खसाउन थालेपछि विद्यालयले अवरोध गर्‍यो । ‘ठेकेदारले मैदानमा माटो खसालेको थियो,’ नगरपालिका इन्जिनियर सुनील केसीले भने, ‘सिमेन्ट र सरिया पनि खसालेको थियो ।’ काम सुरु नभएपछि सिमेन्ट र सरिया फर्काएर लगेको उनले सुनाए ।


विद्यालय र नगरपालिकाबीच सहमति हुन नसकेपछि काम रोकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यले बताए । ‘विद्यालयसँग मौखिक सहमतिपछि काम अघि बढाइएको थियो,’ उनले भने, ‘लिखित सहमति नगर्दा समस्या भयो ।’ एकाएक विद्यालयबाट अनेक सर्त राखिएको उनले बताए । ‘जुन हामी पूरा गर्न सक्दैनथ्यौं,’ आचार्यले भने, ‘विद्यालयले आवश्यक जग्गा दिन मानेन ।’


आफूहरूले काममा कुनै अवरोध नगरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आजाद अहमद दर्जीले बताए । ‘रंगशालाको आम्दानीको हिस्सेदार विद्यालयलाई पनि बनाउनुपर्छ भन्यौं,’ उनले भने, ‘हाम्रो मागमा उहाँहरूलाई चित्त बुझेन होला त्यही भएर काम रोक्नुभयो ।’ ढेड महिनाअघि विद्यालय व्यवस्थापन समितिले नगरपालिकालाई पत्र पठायो । त्यसमा रंगशालाको नाम बुद्ध पद्यम हुनुपर्ने, रंगशालाको आम्दानी विद्यालयले पाउनुपर्ने र त्यहाँ निर्माण हुने व्यावसायिक सटर भाडाको ६० प्रतिशत आम्दानी विद्यालयले पाउनुपर्ने माग गरिएको थियो ।


नगरप्रमुख किरण सिंहले सुरुमा मौखिक सहमति गरेर काम अघि बढाइएको बताए । ‘विद्यालयले आर्थिक वर्ष सकिनुभन्दा डेढ महिनाअघि पूरै गर्न नसकिने माग राख्यो,’ उनले भने, ‘आम्दानीको प्रतिशत पनि दिन तयार थियौं तर रंगशाला बनाउन नदिने मागहरू आए ।’


निर्माण ठेक्का पाएको सप्तऋषि निर्माण सेवाका प्रदीप बर्मार्ले नगरपालिकाको आदेशअनुसार काम सुरु गरेको बताए । ‘विद्यालयसँग सम्झौता भए/नभएको विषय आफूलाई जानकारी हुने कुरा भएन,’ उनले भने, ‘तर बीचमै काम रोकियो ।’ माटो परीक्षण, स्ट्रक्चर डिजाइन, नक्सांकन र लागत स्टमेट पूरा गरी निर्माण अघि बढाइएको थियो ।


फुटबल, क्रिकेट, जुडो, बक्सिङ, ब्याडमिन्टन र टेनिसलगायतका खेल सञ्चालन गर्न मिल्ने गरी रंगशाला निर्माण हुँदै थियो । शौचालय, क्यान्टिन र पार्किङ सुविधा थियो । व्यावसायिक प्रयोजनका लागि सटर बनाइँदै थियो । पश्चिम र दक्षिणतिर प्यारापिट बनाउने डिजाइन थियो । ‘जिल्लामा अझै सम्म कहीं पनि व्यवस्थित रंगशाला बन्न सकेको छैन,’ स्थानीय सुरेश शर्माले भने, ‘सदरमुकाममा बन्नु जिल्लाकै लागि गौरव हुन्थ्यो ।’


नगरपालिका र विद्यालयको आपसी विवादले निर्माण रोकिनु राम्रो नभएको खेलाडी हरि अर्यालको तर्क थियो । नगरपालिकाले ५ करोडभन्दा बढी लगानीमा काम अघि बढाएको थियो । प्रदेश सरकारले गत वर्ष सशर्त अनुदान ७५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

प्रकाशित : श्रावण ७, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?