खेलाडीलाई महानगरको सम्मान : ए डिभिजन महिला लिग हुने

विनोद भण्डारी

विराटनगर — अखिल नेपाल फुटबल संघ (एन्फा) र विराटनगर महानगरपालिकाको सहकार्यमा नेपाली महिला फुटबलको इतिहासमा पहिलोपल्ट ‘ए’ डिभिजन महिला लिग हुने भएको छ । यसका लागि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महानगर प्रमुख भीम पराजुलीले सोमबार विराटनगरमा प्रतिबद्धता जनाएका छन् ।

खेलाडीलाई महानगरको सम्मान : ए डिभिजन महिला लिग हुने

चार महिनाअघि सहिद मैदानमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोलीका खेलाडी र व्यवस्थापक टिमलाई महानगरले सोमबार गरेको सम्मान र पुरस्कार वितरण कार्यक्रममा एन्फा अध्यक्ष शेर्पा र महानगर प्रमुख पराजुलीले फागुनमा विराटनगरबाट नेपाली महिला फुटबलको इतिहासमा पहिलोपल्ट ‘ए’ डिभिजन महिला फुटबल लिग सुरु गर्ने खेलाडीसमक्ष प्रतिवद्धता जनाएका छन् ।


उनीहरूले विराटनगरमै महिला फुटबल खेलाडी उत्पादनका लागि एन्फा र महानगरको संयुक्त लगानीमा महिला फुटबल टेक्निकल सेन्टरको पनि स्थापना गर्ने घोषणा गरेका छन् । विद्यालयस्तरबाट महिला खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको छ ।


सम्मान कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले विराटनगर महानगरपालिका फुटबलको उर्वरभूमि भएको उल्लेख गर्दै महानगरले सहकार्य गरेर मुलुककै इतिहासमा पहिलोपल्ट ‘ए’ डिभिजन महिला लिग फुटबल विराटनगरबाट सुरु गर्न र महिला फुटबल खेलाडी उत्पादनका लागि यही महिला टेक्निकल सेन्टर स्थापना गर्न एन्फा तयार रहेको प्रस्ताव महानगर प्रमुख पराजुलीसमक्ष राखेका थिए ।


लगत्तै पराजुलीले सँगै रहेकी उपप्रमुख इन्दिरा कार्की र वडाध्यक्षहरूको रायमा शेर्पाको प्रस्ताव स्विकार्दै विराटनगरमा महिला फुटबल विकासका लागि एन्फा सहकार्य गर्न तयार भए महानगर कहिल्यै पनि पछि नहटने प्रतिबद्धता जनाए । विराटनगरले जुनसुकै क्षेत्रमा पनि नयाँपन दिएर अगुवाइ गर्दै आएको भन्दै पराजुलीले महिला फुटबल लिग पनि यसैको नयाँ उदाहरण भएको बताए ।


फागुन २८ देखि चैत ८ सम्म विराटनगरको सहिद मैदानमा भएको पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टिम उपविजेता भएको थियो । नेपाली टिम भारतसँग ३–१ गोलले पराजित हुँदा भारत पाँचौंपल्ट च्याम्पियन भएको थियो । प्रतियोगिताको फाइनल संस्करण सकिएलगत्तै महानगरले टिमका हरेक खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेअनुसार सोमबार उक्त पुरस्कार प्रदान गरिएको हो ।


उपविजेता नेपाली टोलीका खेलाडी र अफिसियललाई प्रदेश १ सरकारले पनि जनही १ लाख पुरस्कार दिने घोषणा गरेको थियो । उक्त पुरस्कार मंगलबार प्रदान गरिने जनाइएको छ । प्रमुख प्रशिक्षक हरि खड्का र टिम कप्तान निरु थापाले सबै खेलाडी र अफिसियलले हस्ताक्षर गरेको बल महानगर प्रमुखलाई हस्तान्तरण गर्दै निकट भविष्यमा हुने दक्षिण एसियाली च्याम्पियनसिपमा उत्कृष्ट नतिजा निकाल्ने प्रतिवद्धता जनाए ।

प्रकाशित : श्रावण ७, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?