नेपाल कतारसँग ४ विकेटले पराजित

ट्वान्टी–२० एसिया छनोट

काठमाडौँ — निकै अप्रत्यारिलो हार बेहोरेपछि नेपालका लागि ट्वान्टी–२० को एसिया छनोट यात्रा कठिन बनेको छ । ट्वान्टी–२० विश्वकप खेलिसकेको नेपाली टोली सिंगापुरमा मंगलबार कतारसँग ४ विकेटले स्तब्ध भयो । असन्तुलित टोली, कमजोर ब्याटिङ र फिल्डिङपछि नेपालले पहिलो खेलमै नसोचेको हार बेहोर्नुपरेको हो ।

नेपाल कतारसँग ४ विकेटले पराजित

टस जितेको नेपाली टोली इन्डियन एसोसिएसन मैदानमा निर्धारित २० ओभर खेलेर १ सय २२ रनमै अलआउट भयो । कप्तान पारस खड्काबाहेक पनि पाँच विशेषज्ञ बलर खेलाउने निर्णय नेपालका लागि ठूलो घात बन्यो । ढाडको चोटका कारण पारस दोस्रो इनिङ्समा मैदान थिएनन् । उनको अनुपस्थितिमा ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी गरे । प्रमुख बलर सोमपाल कामीले १ ओभर मात्र बलिङ गरेको खेलमा कतारले ४ बलअगाडि लक्ष्य पूरा गर्‍यो ।


नोउमान सरवारले ललितनारायण राजवंशीलाई विजयी चौका प्रहार गरे । कतारले अन्तिम ७ ओभरमा प्रहार गरेको त्यो केबल दोस्रो चौका थियो । नेपालले निकै सामान्य लक्ष्य तेर्स्याउँदा त्यही पनि कतारका लागि त्यो जित दिलाउन पर्याप्त भयो । कतारले १२ वर्षपछि नेपालसँग ट्वान्टी–२० मा पहिलो जित हात पारेको हो । २००७ को एसीसी ट्वान्टी–२० मा कतारले पछिल्लो पटक नेपाललाई कुवेतमा पराजित गरेको थियो । तर त्यसयता नेपाल र कतारबीच ठूलो भिन्नता रहेको छ ।


नेपाल यो प्रतियोगिता जित्दै लगातार चौथोपल्ट विश्व ट्वान्टी–२० को ग्लोबल छनोटमा पुग्ने दाउमा थियो । पहिलो खेलमा सिंगापुरसँग हार बेहोरेको कतारलाई नेपालसँगको यस ऐतिहासिक जितले ग्लोबल छनोटमा पुग्ने आशा पुनः ब्युँत्याएको छ । कतार अहिलेसम्म ग्लोबल छनोटमा पुग्न सकेको छैन । मंगलबारकै सिंगापुर र कुवेतबीचको अर्को खेल वर्षाले रद्द पारेको थियो । अंकविहीन नेपाल ५ राष्ट्र सहभागी प्रतियोगिताको अंकतालिकाको पुछारमा छ । सिंगापुर ४ अंकसहित शीर्ष स्थानमा छ ।


बाँकी तीनै खेल जिते नेपाल विजेता बनेर ग्लोबल छनोटमा पुग्न सक्नेछ । नेपालले बुधबार मलेसिया, शनिबार कुवेत र आइतबार सिंगापुरसँग खेल्दै छ । कतार अघिल्लो दिन सिंगापुरसँग ३३ रनले पराजित भएको थियो । मलेसियाले सोमबारै भएको खेलमा कुवेतलाई ४२ रनले पराजित गरेको थियो ।


पारससँगै ज्ञानेन्द्र ओपनिङमा आएका थिए । उनीहरूले ६ ओभरभित्र ४९ रन जोडेर नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको पहिलो विकेटमा यो सबैभन्दा राम्रो सुरुआत हो । सन् २०१४ मा सुवास खकुरेल र सागर पुनले हङकङसँग यसअघि पहिलो विकेटमा ३६ रन जोडेका थिए । पावर प्लेको अन्तिम बलमा पारस १७ बलमा २८ रन बनाई आउट भए । उनले ४ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्रले २४ बलमा २३ रन बनाउनेक्रममा २ चौका र १ छक्का प्रहार गरे ।




त्यसपछिको १४ ओभरमा भने नेपालले केवल ३ चौका र १ छक्कामात्र प्रहार गर्न सक्यो । शरद भेषावकर ७ रनमा आउट भए । चोटका कारण मलेसियासँगको दुई ट्वान्टी–२० खेलको शृंखला गुमाएका दीपेन्द्रसिंह ऐरीले ३५ बलमा ३४ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे ।


सोमपाल ११, विनोद भण्डारी ३ र करण केसी ४ रनमा आउट भए । आफूले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका सन्दीप लामिछानेले ५ बलमा ९ रन बनाए । उनीसहित वसन्त रेग्मी र अविनाश बोहरा इनिङ्सको अन्तिम ३ बलमा आउट भए । कतारका इकवाल हुसैनले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । कप्तान तमुर सजाद र सरवारले २–२ तथा इनाम उल–हकले १ विकेट लिए ।


सोमपालले पहिलो ओभरमै ११ रन खर्चे पनि उनीसँगैं नयाँ बल लिएर आएका सन्दीपले अर्को ओभरमा फैजल जावेदलाई १ रनमा आउट गरे । कामरन खानले १५ बलमा २ चौका र २ छक्कासहित २२ रन बनाए । ओपनर हकले ३२ बलमा ६ चौका प्रहार गरी ४१ रन बनाई कतारलाई विजय नजिक पुर्‍याए ।


सन्दीपले मोहम्मद तानविरलाई ११, जाहिर इब्राहिमलाई १२ रनमा आउट गरे । हकले सजादसँग मिलेर कतारलाई १३ ओभरमा ९६–४ को राम्रो स्थितिमा उभ्याए । सजाद र हक लगातार ओभरमा रनआउट भए ।


वसन्त, अविनाश, करणले निकै किफायती बलिङ गरी कतारलाई दबाब राख्न खोजे पनि सरवार र मोहम्मद रिजलानले अविजित इनिङ्स खेल्दै विजयी दिलाए । सरवारले १५ र रिजलानले ९ रन बनाए । दुवैले १५ बल खेलेका थिए ।

प्रकाशित : श्रावण ७, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?