कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरि स्वर्णकै लक्ष्य

राजु घिसिङ

काठमाडौँ — नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक हरि खड्का महिला फुटबल प्रमुखमा पनि नियुक्ति पाएपछि दोहोरो जिम्मेवारीमा छन् । अबको चार महिना भने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मै केन्द्रित हुने उनी बताउँछन् ।

फेरि स्वर्णकै लक्ष्य

‘दोहोरो जिम्मेवारीले मलाई प्रभाव पार्दैन,’ प्रशिक्षक खड्काले भने, ‘अहिले पूर्णतः सागमा केन्द्रित छु ।’ एसियाली फुटबल महासंघ (एएफसी) को निर्देशनअनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले दरखास्त खोलेको थियो र त्यसमा अन्तर्वार्ता दिने एक्लो आवेदनकर्ता उनी नै थिए । त्यसपछि मंगलबार महिला फुटबल प्रमुखमा नियुक्ति पाएका उनले भने, ‘एएफसीको प्रावधानमा महिला फुटबल प्रमुखले कोचिङ गर्न नपाउने भन्ने छैन । दोहोरो भूमिकालाई व्यवस्थापन गर्नेछु ।’


नेपाली पुरुष टिमका पूर्वकप्तान खड्का एन्फाको नेतृत्व परिवर्तनसँगै गत वर्ष जेठमा महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । महिला फुटबलमै अर्को जिम्मेवारी थपिएपछि उनले भने, ‘महिला फुटबल प्रमुखका रूपमा मेरो काम योजना बनाउने हो, त्यसलाई एन्फाले कार्यान्वयन गर्ने हो । महिला खेलाडी उत्पादन हुने सम्भावित जिल्लाहरूमा ग्रासरुट कार्यक्रम, स्कुल–कलेजमा महिला फुटबलका कार्यक्रम चलाउने, लिगको संरचना राम्रो बनाउने, युवा स्तरका प्रतियोगितामा ध्यान दिने र अन्तर्राष्ट्रिय सहभागितालाई बढाउने काम गर्न चाहन्छु ।’


फिटनेसमा मिहिनेत

उनले ४२ खेलाडीको सूची निकाल्दै १२ साउनदेखि १३ औं सागलाई लक्षित गरी एन्फा कम्प्लेक्समा प्रशिक्षण दिइरहेका छन् । ‘१३ औं साग हाम्रो घरेलु मैदानमा हुँदै छ । हाम्रो लक्ष्य पक्कै पनि स्वर्ण पदक नै हो,’ उनले भने, ‘पाँचौं साफको फाइनलमा भारतविरुद्ध दोस्रो हाफमा गरेको कमी–कमजोरीबारे प्रतिवेदन एन्फालाई बुझाइसकेको छु । अब ती कमजोरीलाई सुधार गर्नेमा केन्द्रित छु ।’


नेपालले महिला साफमा पहिलोपल्ट च्याम्पियन बन्ने लक्ष्य बनाएको थियो । चैतमा विराटनगरस्थित सहिद मैदानमा भएको फाइनल ३–१ ले कब्जा गर्दै भारत लगातार पाँचौंपल्ट च्याम्पियन भयो । उनले सम्हालेयता नेपाली टिमले १४ खेल खेलेको छ, जसमा ६ जित, ३ बराबर र ५ हारको नतिजा निस्किएको थियो । नेपाली महिला टिम अन्तर्राष्ट्रिय फुटबलमा सबभन्दा व्यस्त रहेको यही अवधि हो ।


चिनियाँ सुपर लिगको टिम बेइजिङ बीजी फोनिक्ससहितको टिमविरुद्ध तीन मैत्रीपूर्ण खेलसँगै बेइजिङमा दस दिनको तयारी गरेपछि खड्काले सम्हालेको टिम पहिलोपल्ट प्रतिस्पर्धामा उत्रिएको थियो । त्यो म्यान्मार यात्राको प्रतियोगिता थियो– ओलम्पिक छनोटको पहिलो चरण ।


पहिलोपल्ट सहभागी हुँदै ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्यो र यो नेपाली महिला फुटबलमा ठूलै उपलब्धि मानिन्छ । साफलगत्तै चैतमै म्यान्मारको मन्डलयमा ओलम्पिक २०२० छनोटको दोस्रो चरण भएको थियो । त्यसयता नेपाली टिम मैदानमा ओर्लिएको छैन ।


‘साफमा केटीहरू जुन स्तरमा थिए, त्यसमा अहिले उनीहरूको अवस्था ३० प्रतिशत मात्रै छ । त्यसैलाई सुधार गर्न मिहिनेत गरिरहेको छु,’ ४५ वर्षीय खड्काले भने, ‘पहिला चार महिना ट्रेनिङ गराउने अवसर पाएको थिएँ । त्यस बेला खेलाडीहरूको स्तर, टेक्निक, इन्डुरेन्सलगायत सबै पक्ष राम्रो थियो । ओलम्पिक छनोटको दोस्रो चरणपछि खेलाडीहरू आ–आफ्नो क्लबमा फर्किएका थिए । अहिले सबैमा कमी देखेको छु । सुरुमा फिटनेसमै मिहिनेत गरिरहेको छु । स्ट्रेन्थ र इन्डुरेन्ससहित खेलाडीलाई पुरानै लयमा फर्काउन डेढ महिनासम्म लाग्छ । त्यसपछि ट्याक्टिसमा ध्यान दिनेछौं ।’


सागको प्रारम्भिक छनोटमा बोलाइएका ४२ खेलाडीमा आठ सदस्य नयाँ हुन् । प्रिती राईलगायत नयाँ खेलाडी प्राविधिक रूपमा राम्रो रहेको पनि खड्काले बताए । ‘यू–१५ र यू–१९ स्तरमा राम्रो प्रदर्शन गरेका चेलीहरू छन् । अभ्यासमा उनीहरूको स्तर कस्तो हुन्छ भन्ने हेर्नेछु र त्यसमा सुधार गरेर लानेछौं,’ उनले भने । दोस्रो चरणमा ३० खेलाडीलाई छनोट गर्ने उनको योजना छ ।


मैत्रीपूर्ण खेलको माग

खड्काले १३ औं सागमा स्वर्ण पदक जित्ने अभियानलाई सफल बनाउन एन्फासँग तीन मैत्रीपूर्ण खेलको व्यवस्था गर्न माग गरेका छन् । ‘भारत वा त्योभन्दा राम्रो स्तरको टिमविरुद्ध खेल्न चाहन्छौं,’ उनले भने, ‘पहिला बेइजिङका तीन खेलले ठूलो प्रभाव पारेको थियो । यसपालि यही देश भनेर हामीले भनेका छैनौं । दस दिनमात्र होइन, एक महिना (भ्रमण) भयो भने धेरै राम्रो हुनेछ ।’


ओलम्पिक छनोटमा जानुअघि खडकाको टिमले बेइजिङ फोनिक्सविरुद्ध दुई र बेइजिङ स्पोर्ट युनिभर्सिटीविरुद्ध एक खेल खेलेको थियो । चिनियाँ सुपरलिग क्लब फोनिक्सविरुद्ध नेपालले दुवै खेल हारेको थियो । त्यसमा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको उल्लेख गर्दै उनले भने, ‘त्यसैमा देखिएको कमजोरी सच्याएर हामी ओलम्पिक छनोटमा पुगेका थियौं । त्यही बेइजिङ यात्राले टिमलाई बलियो बनाएको थियो ।’


नेपालले भारत र म्यान्मारजस्ता माथिल्लो स्तरका टिमविरुद्ध बराबरी गरेको थियो । कमजोर मानिएको बंगलादेशविरुद्ध अन्तिम खेलमा बराबरीमा अड्काएर पनि नेपाल समूहमा तेस्रो हुनेहरूमध्ये उत्कृष्ट दुईमा रहेर ओलम्पिक छनोटको अर्को चरणमा पुगेको थियो ।


ढाकामा सन् २०१० मा भएको ११ औं संस्करणदेखि सागमा महिला फुटबललाई समावेश गरिएको हो । पछिल्ला दुवै संस्करणमा नेपालले रजत पदक हात पारेको थियो । यसमा पनि साफ च्याम्पियनसिपमा जस्तै स्वर्ण पदकको दुवै खेलमा नेपाललाई भारतले सिकार बनाएको थियो ।


दक्षिण एसियाली खेलकुदको कुम्भमा नेपाली टिमलाई पहिलो स्वर्ण जिताउने प्रयासमा मुख्य प्रशिक्षक खड्कासँगै प्रशिक्षक अरुणा गुरुङ र गोलकिपिङ प्रशिक्षक अस्मिता खवासले खेलाडीहरूलाई तयार गरिरहेका छन् । १३ औं सागमा महिला फुटबल पोखरा रंगशालामा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

प्रकाशित : श्रावण १७, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?