१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पूर्वाधारमै चुनौती

दशरथ रंगशाला, पोखरा रंगशाला र सातदोबाटोस्थित पौडीपोखरी निर्माण प्रक्रिया अहिलेको मुख्य चुनौती हो । त्यसका लागि चरणबद्ध निर्माण प्रक्रिया अपनाएको सदस्यसचिव रमेश सिलवालको भनाइ छ । ढिलोमा कात्तिक १५ सम्म १३ औं सागको सबै पूर्वाधार र तयारीले पूर्णता पाउने दाबी उनको छ ।
कुशल तिमल्सिना

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व असार २३ मा सम्हालेलगत्तै रमेशकुमार सिलवालले भनेका थिए, ‘चुनौति स्वीकादै राखेपको जिम्मेवारीमा आएको हुँ ।’ त्यति बेला उनले देखेका चुनौतीमध्ये मुख्य थियो, १३ औं दक्षिण एसियाली खेलकुद (साग) । मंसिरमा १५ देखि २४ सम्म नेपालमा हुने साग आयोजनाको अन्योलताबीच सदस्यसचिवको जिम्मेवारीमा आएका सिलवालले खेल संघका पदाधिकारी, खेलाडी, कर्मचारी र प्रशिक्षकमा तोकिएकै मितिमा १३ औं साग आयोजना हुनेमा विश्वस्त पारेको दाबी गरेका छन् ।

पूर्वाधारमै चुनौती

सिलवालले जिम्मेवारी पाएको एक महिना छुनै लाग्यो । केही दिनअघिको एउटा अन्तरक्रियामा उनले साग तयारीमा यसअघिका नेतृत्वको उदासीनताबारे अभिव्यक्ति दिएका थिए ।


नेपालमा गर्ने भनेर झण्डा बोकेर आउने, मिति तय गर्ने अनि प्रस्तावित मितिमा प्रतियोगिता आयोजनाको तयारी नगरेकोमा उनको असन्तुष्टि थियो । ‘ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि न्यूनतम पूर्वाधार ३ महिनाअघि नै सम्पन्न हुनुपर्छ । तर त्यसका लागि योजनाबद्ध काम नै भएको रहेनछ,’ उनले भने ।


सागका लागि ४ महिना बाँकी छ । मुख्य भौतिक पूर्वाधारको काम अधुरो छ, राष्ट्रिय टोलीको तयारीले हालै मात्र तीव्रता पाएको छ । अन्य आवश्यक खेल सामानको खरिद प्रक्रिया सुरु नै भएको छैन । सदस्य–सचिवले सबै काम प्रक्रियागत ढंगबाट सम्पन्न गर्दै जाने र प्रतियोगिताको एक महिनाअघिसम्म सम्पूर्ण तयारी पूरा गर्ने लक्ष्य राखेका छन् । लक्ष्य पूरा गर्ने बाटोमा आफ्नो आगमनपछि धेरै सुधार भइसकेको दाबी सदस्यसचिव सिलवालको छ ।


‘अझै पनि चुनौती पूर्वाधारकै हो । मुख्य खेलस्थललगायत केही पूर्वाधारको निर्माण सम्पन्न भइसकेको छैन । पूर्वाधार तयार नभएकै कारण मान्छेहरूले अझै पनि साग समयमै हुन्छ त भन्नेमा शंका गरिरहेका छन्,’ सदस्यसचिवले भने, ‘तर हामीले चरणबद्ध रूपमा काम गरिरहेका छौं । सातदोबाटो पौडीपोखरी, दशरथ रंगशाला र पोखरा रंगशालाको निर्माण/पुनर्निर्माण सम्पन्न गर्नु नै अहिलेको मेरो अर्जुनदृष्टि हो ।’


उनले दरशथ रंगशालामा भीआईपी प्यारापिटको छानोबाहेक अन्य सबै काम एकदेखि डेढ महिनासम्म सम्पन्न हुने सुनाए । साधारण र भीआईपी प्यारापिटमा कुर्ची, रंगरोगन, मिडिया सेन्टर, चेन्जिङ रुम, बाथरुप, ओलम्पिक टर्च स्थापना लगायत सबैको काम यो अवधिमा सुरु हुन्छ । ‘भीआईपी प्यारापिटको फलामे पोलको आयात प्रक्रियाबारे बुझ्न राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना यसै साता भारत जाँदै हुनुहुन्छ । त्यसपछि अर्को साता म चीन गएर छानो आयात प्रक्रियाबारे कम्पनीसँग कुरा गर्नेछु,’ सदस्यसचिवले भने ।


सातदोबाटोमा निर्माणधीन वातानुकूलित पौडी पोखरी निर्माणमा देखिएको अन्योलता समाप्त भएको उनले जानकारी दिए । उनले भने, ‘हिजो (बिहीबार) मात्रै हामीले पोखरीका लागि नयाँ प्रक्रिया सुरु गरेका छौं । यसअघि सम्झौता भएको जर्मन कम्पनी कारबाहीमा परेपछि हिटिङ प्रणालीको आयात हुन सकेन । अब अर्को प्रक्रियाबाट हिटिङ प्रणाली जडान गरेपछि अन्य सिभिल वर्कका कामका लागि धेरै समय चाहिँदैन ।’


पोखरा रंगशालाकामा कृत्रिम मैदान र प्राकृतिक मैदानको दुईथरी सम्झौताका लागि समय लम्बिएको सदस्यसचिवले स्वीकार गरे । ‘पहिलो कृत्रिम बनाउने भनियो, अहिले प्राकृतिक भन्ने निर्णय भयो । त्यसैले समय बढेको हो,’ उनले भने ।


‘काठमाडौं र ललितपुरमा रहेका चीनले बनाइरहेका संरचनाका लागि भएको सम्झौताले हामीलाई तयारीमा अप्ठेरो परेको छ । पूर्ण सम्पन्न नभएसम्म नेपाली पक्षले प्रयोग गर्न नपाउने भएका कारण सुटिङ, पौडी खेलको तयारीमा समस्या भएको छ । हामीले यसबारे चिनियाँ पक्षलाई लिखित अनुरोध गरेका छौं’ सदस्यसचिवले थपे, ‘अगस्ट १० सम्ममा उनीहरूको प्रतिनिधिले नेपाल भ्रमण गर्नेछन् र निर्माण सम्पन्न भएका संरचना प्रयोग गर्न दिनेबारे निर्णय हुनेछ । सम्पूर्ण हस्तान्तरण नभएसम्म सुरक्षा जिम्मा हामीले लिने भएका छौं ।’


खेल सामग्री चीनसँग मागिने

१३ औं सागका लागि ७ देशका ४ हजारभन्दा बढी खेलाडी, प्रशिक्षक र खेल अधिकारीहरू नेपालमा भेला हुनेछन् । उनीहरूको व्यवस्थापन पनि राखेपका लागि अर्को चुनौती हुनेछ । सदस्य–सचिव सिलवालले बन्दोबस्तीको सामान सरकारी प्रक्रियामार्फत चीनसँग सहयोग मागिएको जानकारी दिए ।


‘परराष्ट्र मन्त्रालयमार्फत सागका लागि आवश्यक लजिस्टिक सहयोग मागिएको छ । त्यसबारे चिनियाँ पक्षबाट दिने/नदिने कुनै जानकारी आएको छैन,’ उनले भने, ‘हामी जवाफ कुरिरहेका छौं । यदि चीनबाट सामान नआउने भयो भने तत्कालै राखेप आफैंले खरिद प्रक्रिया सुरु गर्नेछ ।’


सागका लागि चाहिने खेल सामग्री, जर्सी तथा अन्य आवश्यक सामानका लागि चीनसँग सहयोगको प्रस्ताव गरिएको हो । त्यसबाहेक खेलाडी सुरक्षा, वासस्थान, ट्राफिक व्यवस्थापन लगायतका तयारी पनि चरणबद्ध रुपमा सुरु हुने सदस्यसचिवले जानकारी गराएका छन् ।


युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिले सागका लागि ५ अर्ब २५ करोडको बजेट अनुमान गरेको थियो । सदस्यसचिवले दीर्घकालीन संरचना बनाउने प्रयास भएकाले बजेट थप हुनसक्ने संकेत गरिसके । ‘बजेटका लागि मन्त्रिपरिषद् र प्रधानमन्त्रीले नै समस्या नहुने भन्दै अगाडि बढ्न निर्देश गरिसक्नुभएको छ, निर्धारित मितिमा प्रतियोगिता सम्पन्न गर्न बजेट समस्या हुनेछैन,’ उनले भने ।


पछिल्लोपल्ट सन् १९९९ मा नेपालमै भएको आठौं सागका लागि करिब १ वर्षको तयारी थियो । ६ महिनाको बन्द प्रशिक्षणपछि नेपाली खेलाडीले उल्लेख्य सफलता हासिल गरेका थिए । नेपाल समग्रमा पदक तालिकामा दोस्रो भएको थियो । यसपल्ट भने बन्द प्रशिक्षणको अवधि मुस्किलले ३ महिना हुने भएको छ । अधिकांस खेलको बन्द प्रशिक्षण साउन १६ देखि सुरु भएको छ । ३ महिनाको अवधिमा अधिकतम नतिजामुखी तयारी गरिने राखेपले प्रस्ट पारेको छ ।


‘सबैलाई थाहा छ तयारीका लागि यो निकै नै थोरै समय हो । हामीले यो समयलाई अधिक परिणाममुखी बनाउन सम्बन्धित खेल संघका पदाधिकारी र प्रशिक्षकसँग छलफल गरेका छौं,’ सिलवालले भने, ‘त्यहीअनुसार केही खेलको विदेशमा प्रशिक्षण व्यवस्था भएको छ भने केही खेलका लागि विदेशबाट दक्ष प्रशिक्षक झिकाइएको छ ।’

प्रकाशित : श्रावण १८, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?