१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

निर्माण चरणमा तीन रंगशाला

सन्जु पौडेल

(रूपन्देही) — प्रदेश ५ सरकारले तीनवटा सुविधासम्पन्न रंगशाला निर्माण गर्न लागेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा रंगशालाका लागि ५–५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३, दाङको घोराही उपमहानगरपालिका र राप्ती गाउँपालिकाको वसन्तपुरमा रंगशाला निर्माण गर्न लागिएको हो । स्थानीय तहसँगै प्रदेश सरकारले खेल पूर्वाधारमा लगानी बढाउन थालेको छ । 

निर्माण चरणमा तीन रंगशाला

रंगशाला निर्माणका लागि तयारी भइरहेको सामाजिक विकास मन्त्रालयअन्तर्गत खेलकुद महाशाखा प्रमुख सूर्यप्रसाद भुसालले बताए । ‘डीपीआर तयार भएको छ, भौतिक मन्त्रालयबाट अब निर्माण कार्य थालनी हुन्छ,’ उनले भने, ‘राप्तीबाहेक दुईटाको डीपीआर तयार भइसकेको छ ।’ राप्ती गाउँपालिकाको रंगशालामा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सकिने बनाउन लागिएकाले सम्भाव्यता अध्ययन भइरहेको उनले बताए । उनका अनुसार मन्त्रालयमा प्राविधिक जनशक्तिको अभावले सम्बन्धित उपमहानगर र गाउँपालिकालाई डीपीआर तयार गर्ने जिम्मेवारी दिएको छ ।


बुटवल उपमहानगरले साढे दुई महिना लगाएर डीपीआर तयार पारेको छ । २.४ हेक्टरमा रंगशाला निर्माण हुने उपमहानगरका योजना शाखा इन्जिनियर रुक्मांगत बस्यालले बताए । ‘रंगशालामा आउटडोरमा फुटबल मैदान, एथलेटिक्स ट्र्याक र पौडी पोखरी रहनेछ,’ उनले भने, ‘इन्डोरका लागि एउटा कभर्डहल निर्माण हुनेछ ।’


इन्डोरमा टेबलटेनिस, बास्केटबल, ब्याडमिन्टन कोर्ट रहने छ । साथै १२ हजार दर्शक क्षमताको प्यारापिट निर्माण हुनेछ । यसका लागि अनुमानित ३७ करोड रुपैयाँ लगानी हुने बस्यालले बताए । उनका अनुसार बहुवर्षीय योजनामा भएकाले क्रमश: बजेट विनियोजनसँगै तीन वर्षमा काम सम्पन्न हुनेछ ।


घोराहीमा निर्माण हुने रंगशालाका लागि उपमहानगरले १४ करोड २५ लाख २६ हजार ५ सय रुपैयाँका लागत स्टमेट तयार गरेको छ । रंगशालाको पूरा क्षेत्रफल १९ विघा रहनेछ । रंगशालामा फुटबल मैदान, एथलेटिक्स ट्र्याक, पौडी पोखरीलगायत प्रदेश र राष्ट्रिय स्तरका प्रतियोगिता गराउन सकिने घोराही उपमहानगरका योजना शाखा प्रमुख युवराज पौडेलले बताए । ८ हजार दर्शक क्षमताको प्यारापिट निर्माणको तयारी डीपीआरमा छ । उनले भने, ‘क्रिकेटका लागि भने छुट्टै मैदान बन्दैछ ।’ उनले रंगशालाले उपमहानगरको विकास र खेलाडी उत्पादनमा सहयोग गर्ने बताए ।


राप्ती गाउँपालिकामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरू गर्न मिल्ने गरी प्रस्तावित १ सय ७१ विघा जग्गामा डीपीआर निर्माणका लागि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । यीबाहेक संघीय सरकारको ससर्त बजेटको रूपमा प्रदेशले ६ वटा मैदान निर्माणका लागि २५ लाख रुपैयाँका दरले बजेट प्राप्त भएको छ । बुटवल उपमहानगरको कालिका मानव ज्ञान मावि र सिद्धेश्वर माविमा मैदान बन्ने प्रमुख भुसालले बताए । कपिलवस्तुमा मायादेवी खेलमैदान, राप्तीमा पाखापानी क्रिकेट मैदान, प्यूठान खेल मैदान र गुल्मीमा भन्भने खेल मैदान निर्माण हुने उनले जनाए । यी मैदान गाउँपालीका र विद्यालयसँगको समन्वयमा बनाइने छ ।


प्रकाशित : श्रावण १९, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?