२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

इंग्ल्यान्डलाई विशाल लक्ष्य

स्मिथको दुवै इनिङ्समा शतक
एएफपी

बर्मिङघम — अस्ट्रेलियाले एसेज शृंखलाको पहिलो टेस्टमा इंग्ल्यान्डलाई ३ सय ९८ रनको असम्भव झैं लाग्ने लक्ष्य दिएको छ । अस्ट्रेलियाले आइतबार एज्बास्टनमा चौथो दिनको खेलमा दोस्रो इनिङ्स ४८७–७ को स्कोरमा घोषणा गर्दै एकदिवसीय विश्वकप च्याम्पियन इंग्ल्यान्डलाई कठिन चुनौती तेर्स्याएको हो । 

इंग्ल्यान्डलाई विशाल लक्ष्य

जबाफमा दिनको खेल समाप्तिमा ७ ओभर खेलेको इंग्ल्यान्डले बिनाक्षति १३ रन बनाएको छ । रोरी बर्न्स ७ र जेसन रोय ६ रन बनाई क्रिजमा छन् । बर्न्सको १ सय ३३ रनमा इंग्ल्यान्डले पहिलो इनिङ्समा ३ सय ७४ रन बनाएको थियो ।


इंग्ल्यान्डले सफलता हात पारे आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो विजय लक्ष्य पछ्याउने छ, । अन्तिम दिनको मात्र खेल बाँकी रहेकाले जुन सम्भावना निकै कम देखिएको छ । यसअघि सन् १९२८–२९ मा अस्ट्रेलियासँगै मेलबर्नमा टोलीले खेलको चौथो इनिङ्समा ३३२–७ को स्कोर बनाउँदै खेल जितेको थियो ।


स्टिभ स्मिथले १ सय ४२ रन बनाएपछि अस्ट्रेलियाले पहिलो इनिङ्सका आधारमा पछाडि परे पनि उत्कृष्ट पुनरागमन गरेको हो । दक्षिण दक्षिण अफ्रिकामा बल टेम्परिङ काण्डमा परी १२ महिनाको प्रतिबन्धपछि पहिलो टेस्ट खेलिरहेका स्मिथले दुबै इनिङ्समा शतक बनाए । उनले पहिलो इनिङ्समा पनि १ सय ४४ रन बनाउँदा अस्ट्रेलियाले २ सय ८४ रन बनाएको थियो ।


कुल २ सय ७ बल खेलेका स्मिथले १४ चौका प्रहार गरे । स्मिथले ट्राभिस हेडसँग चौथो विकेटमा १ सय ३० र वेडसँग पाँचौं विकेटमा २ सय २ रनको साझेदारी गरे । कप्तान टिम पेन ३४ रनमा आउट भए । म्याथ्यु वेडले पनि १ सय १० रन बनाउँदै जेम्स एन्डरसनबिनाको इंग्लिस बलिङ आक्रमणविरूद्ध अस्ट्रेलियालाई हावि बनाए । पहिलो दिनको खेलमा ४ ओभर बलिङ गरेका एन्डरसनले पिडौंला फर्किएपछि फेरि बलिङ गरेका छैनन् । वेडको टेस्ट क्रिकेटमा यो उच्च स्कोर हो । उनले १ सय ४३ बलको इनिङ्समा १७ चौका प्रहार गरे ।


जेम्स प्याटिन्सन ४७ रनमा अविजित रहे । टेस्टमा यो उनको उच्च स्कोर हो । ४८ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे । अर्का अविजित ब्याट्सम्यान प्याट कुमिन्सले ३३ बलमा २ चौका प्रहार गरी २६ रन बनाए । अस्ट्रेलियाले २००१ यता इंग्लिस भुमिमा आएर एसेज शृंखला जित्न सकेको छैन । इंग्ल्यान्डको बेन स्टोक्सले ३, मोइन अलीले २ तथा स्टुवार्ट ब्रोड र क्रिस वोक्सले १–१ विकेट लिए ।

प्रकाशित : श्रावण २०, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?