२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सोमपालको बिर्सनलायक ‘डेब्यु’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय टोलीका तीव्र बलर सोमपाल कामीले अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा बिर्सनलायक डेब्यु गरेका छन् । क्यानडामा जारी ग्लोबल ट्वान्टी–२० लिग टिम विन्नीपेग हक्सका लागि पहिलो खेलमा उनको प्रदर्शन बिर्सनलायक रह्यो ।

सोमपालको बिर्सनलायक ‘डेब्यु’

बलिङ र ब्याटिङ दुवैमा असफल देखिएका उनी पहिलो खेलको दबाबबाट मुक्त हुन सकेनन् । उनी ३ हजार डलरमा अनुबन्ध भएका थिए ।


आइतबार बिहान सोमपाल आबद्ध टिम हक्सले एडमोन्टन रोएल्ससँग ८ विकेटको पराजय बेहोरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको विन्नीपेगले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९५ रनको योगफल खडा गरेको थियो । ओपनर साइमन अनवारले ३५ बलमा ६२ र क्रिश लिनले १९ बलमा ३३ रन प्रहार गरेपछि विन्नीपेगले सानदार सुरुआत गरेको थियो । यी दुईले पहिलो विकेटका लागि एक सय रनको साझेदारी गरेका थिए ।


विन्नीपेगका कप्तान जेपी डुमिनीले पनि ३१ बलमा ४८ रन जोडे । आठौं नम्बरमा ब्याटिङमा आएका सोमपालले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । उनले ५ बल खेलेर १ रन मात्र बनाउन सके । १८ औं ओभरको अन्तिम बलमा कालिम साना आउट भएपछि आएका सोमपालले आफ्नो प्रदर्शनमा भन्दा सेट ब्याट्सम्यान डुमिनीलाई स्ट्राइक दिने चक्करमा लागे ।


हङकङ राष्ट्रिय टोलीका ओपनर अंशुमन रथले ५० बलमा ९ चौका र ४ छक्कासहित नटआउट ८७ रनको विस्फोटक इनिङ्स खेलेपछि एडमोन्टनले १७.४ ओभरमै लक्ष्य भेट्टायो । एडमोन्टनका कप्तान मोहम्मद हफिजले ३० बलमा ५५ रनको अर्धशतकीय योगदान गरे । जिम्मी निसम ११ बलमा २८ रन बनाउँदै नटआउट रहे ।


बलिङतर्फ सोमपालले २ ओभर मात्र अवसर पाए । तर उनले ३३ रन खर्चिए । इनिङ्सको दसौं ओभरमा बलिङमा आएका सोमपाललाई मोहम्मद अफिजले दोस्रो बलमै छक्का प्रहार गरे । पहिलो ओभरमा १५ रन खर्चने क्रममा उनले ३ वाइड बल फालेका थिए ।


१६औं ओभरमा बलिङमा फर्किएका सोमपालका लागि यो ओभर झनै महँगो पर्‍यो । यस ओभरमा उनले २ छक्का र १ चौकासहित १८ रन खर्चिए । ओभरको दोस्रो बलमा जिम्मी निसमले छक्का प्रहार गरे । चौथो र पाँचौं बलमा अंशुमन रथले क्रमसः चौका र छक्का प्रहार गरी सोमपालको डेब्यु बिर्सनलायक बनाइदिए ।


सन्दीप फेरि खर्चालु

युवा लेग स्पिनर सन्दीप लामिछानेले पनि शनिबार नै प्रतियोगितामा पहिलो खेल खेले । अघिल्लो सिजनमै डेब्यु गरेका सन्दीपका लागि यो सिजनको पहिलो खेल महँगो पर्‍यो । ६० हजार डलर मूल्यमा टोरन्टोमा आबद्ध सन्दीपले ४ ओभरको स्पेलमा ४४ रन खर्चिएर १ विकेट लिए । त्यसमध्ये आफ्नो पहिलो ओभरमै उनले २४ रन खर्चिएका थिए ।


सन्दीप आबद्ध टोली टोरन्टो नेसनल्सले लिगको शीर्ष स्थानमा रहेको ब्राम्प्टन वोल्भ्ससँग ११ रनले पराजित भएको हो । टोरन्टोका लागि प्रतियोगिताको चौथो खेलमा तेस्रो हार हो । ब्राम्प्टनले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको टोरन्टोले २ सय ११ रन मात्र बनाउन सक्यो ।


टस हारेर पहिले ब्याटिङ गरेको ब्राम्प्टनले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो । स्कटल्यान्डका ओपनर जर्ज मुन्सीले ३६ बलमा ६६ रनको विस्फोटक इनिङ्स खेलेका थिए । पाँचौं ओभरमा बलिङमा आएका सन्दीपलाई सो ओभरमा मुन्सीले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।


आठौं ओभरमा उनले उत्कृष्ट पुनरागमन गरे । यस ओभरमा ३ रन खर्चेका उनले १ विकेट पनि लिए । ७.४ ओभरमा उनले १६ बलमा २८ रन बनाएर खेलिरहेका न्युजिल्यान्डका कोलिन मुनरोलाई मिचेल म्याक्लाङ्घानको हातबाट क्याच आउट गराए । मुनरो इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दीपसँगैं दिल्ली क्यापिटल्सबाट खेल्छन् ।


दसौं ओभरमा सन्दीपले १ चौकासहित ७ रन खर्चिए । चौथो तथा अन्तिम ओभरमा उनले ११ रन खर्चिए । १४औं ओभरमा सन्दीपको बलमा नीतीशकुमार र सहिद अफ्रिदीले १–१ चौका प्रहार गरे । ब्राम्प्टनका लागि हङकङका कप्तान बाबर हायतले विस्फोटक ब्याटिङसहित ठूलो स्कोरको योगफलका लागि सहयोग गरे । उनले १८ बलमा ५ छक्का र २ चौकासहित नटआउट ४८ रन जोडे । बाबरले १९ औं ओभरमा जेरेमी गोर्डोनको बलमा लगातार ४ छक्का प्रहार गरे ।


विशाल लक्ष्य पछ्याएको टोरन्टोले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ११ रनमात्र जोड्न सक्यो । कप्तान युवराज सिंहले २२ बलमा ३ चौका र ५ छक्कासहित ५१ रनको सानदार इनिङ्स खेले पनि टिमलाई जिताउन सकेनन् । ब्रेन्डन म्याकुलमले ३६, हेनरिच क्लासेनले ३५ र रोड्रिगो थोमसले टोरन्टोबाट २८ रन जोडे । ब्राम्प्टनका नवाब सिंहले २ विकेट लिए ।

प्रकाशित : श्रावण २०, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?