वैकल्पिक मैदान तयार पारिँदै

कान्तिपुर संवाददाता

पोखरा — १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने महिला फुटबलका लागि अभ्यास मैदान तयारी क्रममा रहेको छ । पोखरा रंगशाला फुटबल मैदानको काम सुस्त गतिमा भएकाले ‘वार्मअप’ खेलका लागि वैकल्पिक मैदान तयार गरिएको हो । 

वैकल्पिक मैदान तयार पारिँदै

पोखरा–१९ लामाचौरमा रहेको गोस्तेघाट र पोखरा–२५ हेमजामा रहेको गौरीशंकर खेलमैदान निर्माणको अन्तिम चरणमा छ । गोस्तेघाट मैदानको काम असोज मसान्तसम्म सकिने उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रमानसिंह भण्डारी बताउँछन् । गत आर्थिक वर्षसम्म विभिन्न चरणमा गरी युवा तथा खेलकुद मन्त्रालयले छुट्याएको १ करोड ८२ लाख रुपैयाँको काम सम्पन्न भएको जानकारी उनले दिए ।


गोस्तेघाटको निर्माण कार्य सक्न यस आर्थिक वर्षमा परिषद्ले १ करोड र पोखरा महानगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘हामीले अब मैदानलाई सम्याउने र चेन्जिङ रुम बनाउने तयारी थालेका छौं,’ उनले भने, ‘असोज मसान्तसम्म काम सक्ने लक्ष्य छ ।’ मैदानवरपर वृक्षरोपण गरी सौर्न्दयकरण गर्ने उपभोक्ता समितिको योजना छ ।


हेमजामा रहेको गौरीशंकर खेल मैदानमा समेत यति बेला धमाधम घाँस रोप्ने काम भइरहेको छ । गत आवमा राष्ट्रिय खेलकुद परिषद्को ५० लाख रुपैयाँ मैदानलाई विनियोजन गरेको थियो । उक्त रकमबाट मैदान सम्याउने र नाली बनाउने काम सम्पन्न भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिश ताम्राकारले बताए । यस आर्थिक वर्षमा उक्त मैदानका लागि थप १ करोड रुपैयाँ विनियोजन भएको छ । उक्त रकमबाट प्यारापिट र चेन्जिङ रुम निर्माण कार्य सुरु गरिने जानकारी उनले दिए ।


साग तयारीका लागि राखेप बोर्ड सदस्य राजेश गुरुङको नेतृत्वमा मंगलबार दुवै मैदानको निरीक्षण गरिएको छ । ‘मैदानको काम चाँडै सक्नुपर्ने निर्देशन छ,’ गुरुङले भने, ‘अब यी दुवै खेल मैदान समयमा नै निर्माण हुनेछन् ।’ सागका पूर्वाधार निर्माणका लागि आवश्यक बजेट प्राप्त भइसकेकाले पोखरा तयार रहेको उनी बताउँछन् । ‘आम पोखरावासी १३ औं सागको पर्खाइमा छन्,’ उनले भने, ‘आवश्यक तयारी भइरहेकाले साग हुनेमा द्विविधा छैन ।’ पोखरामा हुने साग अन्तर्गतका ७ खेलको विभिन्न पूर्वाधार निर्माणमा परिषद्ले विशेष चासो दिएको उनले बताए ।


गौरीशंकर र गोस्तेघाट मैदानबाहेक पोखरा विजयपुर ब्यारेकको मैदानसमेत प्रयोग गर्ने राखेपको योजना छ । निर्माण कार्य भइरहेको मैदानको राखेप सदस्य गुरुङको नेतृत्वमा पश्चिमाञ्चल क्षेखेविस निर्देशक विद्या मर्सानी, जिल्ला खेलकुदका निवर्तमान अध्यक्ष यामबहादुर गुरुङ, क्षेत्रीय उपनिर्देशक कृष्ण तिमिल्सिनालगायतको टोलीले निरीक्षण गरेका थिए । सागकै तयारीस्वरुप पोखरा रंगशालाभित्र हाल सरसफाइ, वृक्षरोपणलगायतका काम भइरहेको छ ।

प्रकाशित : श्रावण २२, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?