लन्डनमा नेप्लिज कर्पोरेट क्रिकेट हुने

नवीन पोखरेल

लन्डन — नेपाली युवाहरू लन्डनमा यतिखेर एउटा क्रिकेट प्रतियोगिताको तयारीमा जुटेका छन् । बेलायतमा पहिलोपल्ट हुन लागेको ‘ब्रिटिस नेप्लिज प्रिमियर लिग सुपर ८ कर्पोरेट क्रिकेट प्रतियोगितालाई आयोजक र खेलाडी दुवैको व्यस्तता बढेको हो । 

लन्डनमा नेप्लिज कर्पोरेट क्रिकेट हुने

लन्डनस्थित केटीएम ट्राभल एन्ड टुर्सको आयोजनामा अगस्ट ११ मा साउथहल लन्डन टाइगर्स स्पोर्टस कम्प्लेक्समा प्रतियोगिता हुने तयारी छ । बेलायतमा रहेका ६ टिमबीच एकै दिन ८ ओभरको खेल हुने प्रतियोगिता निर्देशक विनोदविकास सिम्खडाले बताए । उनले खेलाडीको जर्सी र ट्रफी अनावरण गर्दै आइसीसी मापदण्डअनुरुप नै खेल खेलाइने जनाए । बेलायतमा हुने नेपाली इभेन्टमध्ये यो प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको हुने उनको दाबी छ ।


इभेन्ट निर्देशक सुनील थापाले बेलायतमा रहेका नेपाली युवा खेलाडीलाई प्रोत्साहन र उनीहरूको खेल विकास साथै युवाबीच अन्तरघुलन गराउने उद्देश्यले ट्राभलले प्रतियोगिता परिकल्पना गरेको बताए । ‘पहिलोपल्ट हामीले यो प्रतियोगिता आँटेकाले चुनौतीपूर्ण पनि छ’, थापाले भने, ‘तर यसले बेलायतको नेपाली समुदायमा पृथक रचनात्मक क्रियाकलापको शुभारम्भ हुने हाम्रो विश्वास छ ।’


सम्पूर्ण खेल र पुरस्कार वितरण एकै दिन भ्याउने आयोजकको लक्ष्य छ । प्रतियोगिताको कुल बजेट कम्तीमा १० हजार पाउण्ड हुने अनुमान छ । दर्शकलाई निःशुल्क प्रवेश व्यवस्था हुने र १५ देखि २५ सय सम्म दर्शक सहभागी हुने अपेक्षा गरिएको थापाले बताए । टिम निर्देशक विक्रम गुरुङले अहिले खेलाडी अभ्यासमा व्यस्त रहेको जनाए । अप्रेसन निर्देशक अभिषेक भट्टराईले व्यवस्थापन र आर्थिक पक्षबारे प्रस्ट्याउँदै खाना स्टल, डिजे, बाउन्सी क्यासल, सुरक्षा प्रबन्ध आदि समावेश हुने बताए ।


प्रतियोगितामा ब्रिगेड अफ गोर्खाज, टेन क्यूओजीएलआर, गोर्खाज कन्सट्रक्सन ह्यारो , डाँफे क्रिकेट क्लब ग्रिनफोर्ड, हिमालयन क्रिकेट क्लब र नवयुवा क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।


बेलायतको नेपाली समुदायमा अचेल खेल गतिविधिले पनि तीव्रता पाएको छ । गोर्खा कप यहाँ हुने सबैभन्दा बृहत फुटबल प्रतियोगिता मानिन्छ । इंग्ल्यान्ड फुटबल एसोसिएसनले आउँदो मे ३०, २०२० का दिन इंग्ल्यान्ड सी टिम र नेपाली राष्ट्रिय फुटबल टिमबीच अल्डरसट टाउन फुटबल क्लबमा खेल हुने घोषणा गरिसकेको छ । सन् २०२१ मा इंग्लिस फुटबल टोली नेपाल गएर खेल्ने छ ।

प्रकाशित : श्रावण २३, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?