कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ई–स्पोर्ट्सको पुरस्कार घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — दोस्रो राष्ट्रिय ई–स्पोटर्स च्याम्पियनसिप भदौ २० र २१ मा आयोजना हुने भएको छ । पाँच विधाका खेल समावेश गरी आयोजना हुने च्याम्पियनसिप तथा एक्स्पो भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रमा हुनेछ ।

नेपाल ई–स्पोर्ट्स संघ (नेसा) ले बुधबार पत्रकार सम्मेलन गरी नेपाल ओलम्पिक कमिटीसँगको सहकार्यमा आयोजना गर्न लागिएको प्रतियोगितामा डोटा–२, काउन्टर स्ट्राइक ग्लोबल अफेन्सिभ (सीएस–गो), फिफा १९, कस्प्ले र क्लासरुम रकर्स विधामा प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिप र एक्स्पोको व्यवस्थापन भने माइसले गर्नेछ ।


नेसाका अनुसार डोटा–२ र सीएस–गो खेलमा हरेक टिममा ५ खेलाडी हुनेछन् । यसपल्ट डोटा–२ को च्याम्पियन टोलीले विश्व च्याम्पियनसिपमा छनोट हुनेछ । ११ औं विश्व च्याम्पियनसिप सन् २०१९ को डिसेम्बर ११ देखि १५ सम्म दक्षिण कोरियाको सोलमा हुँदै छ । यी दुई स्पर्धाका लागि २ हजार ५ सय दर्ता शुल्क निर्धारण गरिएको छ ।


एकल विधाअन्तर्गत फिफाका लागि १ हजार दर्ता शुल्क तोकिएको छ । एनिमेसन र कार्टुन क्यारेक्टरको पहिरनमा सजिनु अर्थात कस्प्ले, च्याम्पियनसिपको अर्को स्पर्धा हो । क्लासरुम रकर्सको रूपमा कलेज तथा स्कुलका संगीत ब्यान्डहरूबीच पनि प्रतिस्पर्धा हुनेछ । सबै विधामा गरी ८ सय खेलाडीले सहभागिता जनाउने नेसाले अनुमान गरेको संघका अध्यक्ष सुरज डंगोलले बताए ।


प्रतियोगिताको कुल पुरस्कार राशि ९ लाख हुनेछ, डोटा–२ र सीएस–गोका विजेता र उपविजेताले क्रमशः ५० हजार र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सेमिफाइनलमा पुग्ने २ टोलीले १०–१० हजार पाउनेछन् । फिफा विजेताले १० हजार, उपविजेताले ४ हजार र सेमिफाइनलमा पुग्ने २ जनाले २–२ हजार पाउनेछन् । कस्प्लेको शीर्ष ५ भित्र पर्नेले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । क्लासरुमको विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार दिइनेछ ।


अघिल्लो वर्ष सीएस–गोका विजेताले ताइवानमा भएको १० औं विश्व च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । नेपाली टिमका कप्तान अरुण मिश्रले अन्य फिजिकल खेलभन्दा ई–स्पोर्टसको सम्भावना राम्रो भएको दाबी गरे ।


‘क्रिकेटबाहेक अन्य फिजिकल स्पोर्टसले नेपालमा राम्रो गर्न नसकिरहेको अवस्थामा नेपालमा इ–स्पोर्टसलाई प्रवर्द्धन गर्न सके धेरै उत्कृष्ट नतिजा आउने सम्भावना रहन्छ । अन्तर्राष्ट्रिय रूपमा यसको क्षेत्र धेरै फराकिलो भइसकेको छ,’ मिश्रले भने । गत वर्ष इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा ई–स्पोर्टसलाई प्रदर्शनी खेलका रूपमा समावेश गरिएको थियो ।

प्रकाशित : श्रावण २३, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?